कला

वातावरणमा पर्ने नकारात्मक प्रभावलाई नीतिगत रूपमा व्यवस्थित गर्ने प्रयत्न नै हरित चलचित्र अभियानको उद्देश्य हो :  अल्बर्टाे

इकागज |
असोज ७, २०७८ बिहीबार १५:४५ बजे

अल्बर्टाे बाट्टाची,  प्रशिक्षक हरित चलचित्र निर्माण

साइकोलोजीमा स्नातकोत्तर र ह्युमन कम्प्युटर इन्टरेक्सनमा पीएचडी गरेका डा.अल्बर्टाे बाट्टाचीले अन्तिममा भने सिनेमा रोजे । इटलीको ट्रेन्टिनो क्षेत्रको लोकेसन स्काउटको रुपमा काम गर्ने  अल्बर्टोले थुप्रै फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरेका छन् । सन् २०१९ देखि अडियो भिज्युवल प्रडक्सनमा हरित चलचित्र निर्माणको अभियानमा संलग्न  ट्रेन्टिनो फिल्म फन्ड एन्ड कमिसनमा पनि आबद्ध छन् । शुक्रबार नेपाल युरोपियन फिल्म फेस्टिभलमा उनले हरित चलचित्र निर्माणका विधि र फाइदाबारे आफ्नो अनुभव सुनाउँदैछन् । 

१. हरित चलचित्र निर्माण भनेको के हो र आजका चलचित्रकर्मीहरूका लागि यो किन महत्वपूर्ण छ ? 
श्रव्यदृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्ने उद्देश्यले निर्माता तथा चलचित्र उद्योगसँग सम्बन्धित अन्य सार्वजनिक तथा निजी निकायहरूले तयार गरेका नीति तथा व्यवस्थाहरूलाई हरित चलचित्र निर्माण वा दिगो चलचित्र निर्माण भनेर बुझिन्छ । 


हरित चलचित्र निर्माण महत्वपूर्ण छ किनकि चलचित्र निमार्ण गर्ने प्रक्रियाले वातावरणमा नकारात्मक असर पर्छ भन्ने तथ्यले देखाएको छ । चलचित्र निर्माण गर्दा हरेक दिन निर्माण स्थलमा धेरै फोहोर सामग्रीहरू उत्पादन हुन्छन् । धेरै यातायातका साधनहरूको प्रयोग गरिन्छ, धेरै उर्जाको खपत हुन्छ र चलचित्रको लागि सेट तथा अन्य साधनहरूको निर्माणका लागि धेरै सामग्रीहरूको खरिद गरिएको हुन्छ ।

 सबै कार्यहरूलाई नियन्त्रित रूपमा गर्न र प्रक्रियाहरूलाई संसोधन गर्न सकिन्छ ताकि वातावरणमा पर्ने नकारात्मक असरलाई कम गर्न सकियोस् । अन्य औद्योगिक क्षेत्रहरूले जस्तै श्रव्यदृश्य अथवा चलचित्र उद्योगले पनि वातावरणलाई जोगाउनको लागि आफ्नो भूमिका खेल्न सक्छ । यसका अलावा चलचित्र उद्योगसँग अरूलाई कन्भिन्स् गर्ने क्षमता हुन्छः कलाकार तथा निर्देशकहरू वातावरणीय दिगोपनको लागि उदाहरण बन्न सक्छन् र अन्य व्यक्तिहरूलाई पनि आफ्ना बानी बेहोरा परिवर्तन गराउन मद्दत गर्न सक्छन् । 

२. युरोपमा हरित चलचित्र निर्माणलाई कसरी अभ्यास गरिएको छ ? 
खुसीको कुरा, वातावरणीय प्रदूषणको लागि एउटा मुख्य जिम्मेवार क्षेत्र भएको बारेमा श्रव्यदृश्य उद्योग बढी सचेत हुँदै गएको छ । पृथ्वीमा आफूले पार्ने नकारात्मक असरलाई घटाउनका लागि निर्माताहरूले गर्ने निर्णय होस् वा निर्माताहरूलाई हरित व्यवहार अपनाउनको लागि उत्प्रेरित गर्न सार्वजनिक कोषहरुको उपयोग गर्ने सवाल होस् वा निर्माताहरूलाई कम्पनीहरूले हरित सेवा प्रदान गर्ने होस्, परिवर्तनलाई वास्तवमै हासिल गर्न यी सबै पक्षको कुनै न कुनै रूपमा योगदान रहन्छ ।

गतका केही वर्षहरूमा युरोपमा उल्लेखनीय संख्यामा पहलहरू सुरु भएका छन् तर तिनीहरूले अहिलेसम्म पनि हरित चलचित्र निर्माणको सम्बन्धमा एक साझा अवधारणामा सहमति जुटाउन सकेका छैनन् । मेरो बुझाइमा यसमा अगाडि बढ्ने सही तरिका भनेको सार्वजनिक निकायहरूले बलियो नीति निर्माण गर्ने हो र त्यसलाई कार्यान्वयन गर्नको लागि स्वतन्त्र तेस्रो पक्षका परीक्षकहरूद्वारा त्यसको प्रमाणीकरण गर्ने जस्ता साधनहरूको तर्जुमा गर्ने हो ।

मलाई के पनि लाग्दछ भने श्रव्यदृश्य उद्योगलाई वातावरणीय रूपमा बढी दिगो बनाउने उद्देश्य हासिल गर्नको लागि काम गर्दाका असल अभ्यास तथा अन्य संस्थागत पहलहरूलाई सुदृढ बनाउन यस प्रक्रियामा संलग्न मुख्य पेशाकर्मीहरुलाई पर्याप्त तालिम प्रदान गरेर मात्रै सम्भव छ । 

३. तपाईंको मास्टरक्लासबाट सहभागीहरूले के अपेक्षा गर्न सक्छन् ? 
हरित चलचित्र मूल्यांकन प्रणालीका निर्देशिका बमोजिम चलचित्र निर्माण स्थललाई कसरी बढी दिगो बनाउन सक्छन् भन्ने बारेमा निर्माता तथा निर्माणमा संलग्नहरूले व्यवहारिक रूपमा के काम गर्न सक्छन् भन्ने बारेमा यस मास्टरक्लासमा सहभागीहरूले जान्ने मौका पाउनेछन् ।

उनीहरूले श्रव्य दृश्यका कामहरूलाई वातावरणीय दिगोपनको हरित चलचित्र प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियाहरूको बारेमा, त्यसमा संलग्नहरूको बारेमा पनि जान्नेछन् । त्यसका साथै विभिन्न देशहरूमा चलचित्र सह–निर्माण गर्दा पनि प्रमाणीकरण प्रदान गर्नका लागि यो मात्रै एउटा प्रणाली भएको बारेमा पनि उनीहरूले थाहा पाउनेछन् । 


Author

थप समाचार
x