रियालिटी सोको रियालिटी
अपारदर्शी भोट : आयोजकलाई नोटैनोट, प्रतिभालाई चोटैचोट
काठमाडौँ - दुई साताअघि काठमाडौँमा सम्पन्न ‘कमेडी च्याम्पियन २’को फाइनलमा बाँकी दुई प्रतिस्पर्धीलाई हराउँदै भरतमणि पौडेलले उपाधि जिते । उपाधिको छिनोफानो गर्ने मुख्य आधार थियो, दर्शकको भोट । अडिसन हुँदै टप टेनमा नआइपुग्दासम्म निर्णायकले प्रतियोगीलाई छान्ने र उत्कृष्ट १० भित्र परेपछि भने भोटिङका आधारमा अगाडि बढ्दै जाने ‘कमेडी च्याम्पियन’को अभ्यास छ ।
तर, दुई हप्ताअघि विजेता घोषित भएका भरतमणिले कति भोट पाएर बाँकी दुई प्रतिस्पर्धीलाई जिते, कार्यक्रम निर्माताले दर्शकलाई बताउनु जरुरी ठानेनन् । जबकि यो जान्न पाउनु हरेक दर्शकको हक हो । मतदाता त झनै ।
‘कमेडी च्याम्पियन’ मात्र होइन रियालिटी सोको नाममा प्रसारण हुने ‘नेपाल आइडल’देखि ‘भ्वाइस अफ नेपाल’सम्मले प्रतियोगीलाई भोटिङका लागि दर्शकसँग हदैसम्मको हारगुहार गर्छन् तर जब नतिजा प्रकाशन गर्ने बेला हुन्छ चुपचाप घोषणा गर्छन् ।
भरतमणिले ‘कमेडी च्याम्पियन’मा विजेता बन्न प्रतिस्पर्धी विकी अग्रवाल र सन्तोष थापाभन्दा कति भोट बढी पाए, दर्शकले जान्नै पाएनन् । न त ‘नेपाल आइडल ३’ जित्ने सज्जा चौलागाईंले पाएको भोट प्रवीण बेडवालभन्दा कति धेरै भन्नेबारे जानकारी दिनु न कार्यक्रम निर्माता कर्तव्य सम्झन्छन् न त किरण गजमेरले ‘भ्वाइस अफ नेपाल’को सिजन तीन जित्नलाई पाएको भोटमा ।
दुनियाँलाई पारदर्शिताको पाठ सिकाउने र आफूलाई नम्बर वन दाबी गर्ने टेलिभिजनबाटै प्रसारण हुने यी कार्यक्रमले पारदर्शितालाई लोप्पा खुवाइरहेका छन् ।
पैसाको चलखेल, प्रतिभाको मानमर्दन
रामेछापका लोकगायक रामकुमार नेपाली हिजो–आज ट्वीटरतिर घुमिरहेका छन् । घुम्ने कारण हो उनले मीठो स्वरमा गाएको लोकगीत । डेढ वर्षअघि प्रसारण भएको नेपाल लोकस्टारका प्रतिस्पर्धी रामकुमारले सोही स्टेजमा गाएका गीतका टुक्रा अहिले पनि ट्वीटरमा घुमिरहेका छन् । यिनै रामकुमारले शिलापत्र अनलाइनका लागि नवराज कुँवरसँगको कुराकानीमा रियालिटी सोमा हुने भोटिङमा निम्त्याएको विपत्तिबारे मार्मिक कुरा गरेका छन् ।
उनले ‘नेपाल स्टार’को परिणाम घोषणा हुँदा चौथो भएपछि छोरोले ट्रफी उचालेको हेर्न आएका रामकुमारका बुबा ठाउँको ठाउँ बेहोस भएछन् । उनले सो कुराकानीमा भनेका छन्, ‘बुबालाई छोरो फस्ट हुन्छ भन्ने लागेको थियो । अर्कातिर भोटिङका लागि थुप्रो खर्च गर्नुपरेको थियो, त्यो सबै ऋण थियो,’ रामकुमार सम्झिन्छन् । उनका अनुसार ऋण काढेर भोटका लागि दशौँ लाख रुपैयाँ खर्च गर्नुपरेको थियो ।
उनका बुबा गाउँमा लुगा सिलाउँछन् । परिवारमा खान लाउन समस्या नभए पनि भोटिङका लागि लाखौँ रकम जुटाउने काम कम चुनौतीपूर्ण थिएन । ‘लोकस्टार जित्दा ५० लाख त पुरस्कार नै थियो । दोस्रो वा तेस्रो हुँदा पनि केही रकम पाइन्थ्यो । त्यसैले खर्च गरियो । तर, म चौथो भएँ । त्यसैले सायद ऋण सम्झेर बुबा ढल्नुभयो’, रामकुमार भन्छन्, ‘मैले बुबालाई अँगालोले बेरेर भनेँ– बा नरुनोस् । म पहिलो, दोस्रो नभएको हुँ । मेरो हातबाट उपाधि गुमेको हो । म त यहीँ छु । ऋण जाबो कमाएर तिरौँला । म तिर्छु । तपाईंको छोरो जिउँदै छ ।’
भोटिङका कारण ऋण लाग्ने रामकुमार प्रतिनिधि प्रतिभा हुन् । पछिल्लो समय तथाकथित रियालिटी सोमा भाग लिने धेरै प्रतियोगी रामकुमारकै नियति भोग्न बाध्य छन् । तर विजेता बन्ने लोभमा प्रतियोगीले पुरस्कार पाउनेभन्दा ज्यादा रकम भोटिङमा खर्चने गरेका प्रतिस्पर्धी नै बताउँछन् । भर्खरै ‘कमेडी च्याम्पियन’मा विजेता बनेका भरतमणिले उपाधिमा राखिएको पुरस्कारभन्दा भोटिङमा ज्यादा खर्च गरेको चर्चा छ । उनलाई भोट गर्न संघीय सांसद योगेश भट्टराईले मोटो रकम सहयोग गर्नुबाहेक ताप्लेजुङ समाजले ठाउँ–ठाउँबाट पैसा संकलन गरेर उनको भोटिङमा खर्च गरेको थियो ।
भरतमणिबाहेक भोटिङमा विकी अग्रवाल र सन्तोष थापाले पनि राम्रै रकम खर्च गरेको निकटस्थहरू बताउँछन् । विकीलाई सिक्किमका मुख्यमन्त्री पवन गोले नै जिताउन लागेका थिए भने गोरखाका सन्तोष थापाका लागि बाबुराम भट्टराई नै खर्च जुटाउन सक्रिय थिए । पूर्वप्रधानमन्त्री–पूर्वमन्त्रीसमेत पैसाले प्रतिभा छान्ने अपारदर्शी कामको हिस्सा बन्दा यस्ता विकृतिविरुद्धको आवाज दबेको छ ।
रियालिटी सोको यो चलखेललाई नजिकबाट नियालिरहेका एक दर्शक अहिलेको संरचनाले प्रतिभावालाभन्दा पनि पैसावालालाई फाइदा पुर्याइरहेको धारणा राख्छन् । ‘रियालिटी सोको भोटिङको प्रक्रिया पारदर्शी त छैन नै यसले सही प्रतिभालाई अगाडि आउन पनि अवरोध गरिरहेको छ । किनकि रियालिटी सोको अहिलेको संरचनाले प्रतिभाभन्दा पनि पैसालाई महत्व दिन्छ । थाहै नपाई सच्चा प्रतिभा छुटिइरहेका छन्,’ उनले भने ।
उनले उठाएको कुरालाई विगतमा रियालिटी सोको विजेताको अवस्थाले पनि यही संकेत गर्छ । ‘नेपाल आइडल’मा विजेता बनेका बुद्ध लामाभन्दा दोस्रो तेस्रो भएका निशान भट्टराई र प्रताप दास सांगीतिक क्षेत्रमा जमेका छन् भने दोस्रो सिजनका विजेता रवि ओडभन्दा दोस्रो बनेका विक्रम बरालको स्वरको ओज छ । यता महँगो रकम खर्चेर विजेता बन्ने ‘भ्वाइस अफ नेपाल’का तीनै सिजनका विजेता भने सांगीतिक क्षेत्रमा टिक्न संघर्षरत छन् ।
ठगाहा रियालिटी सो
‘इन्डियन आइडल’को नक्कल गर्दै सन् २००५ मा अस्तित्वमा आएको ‘नेपाली तारा’को सफलतापछि यस्ता सोको बाढी नै आयो । तर, यस्ता प्रतियोगिताको बिगबिगी यस्तो थियो किन नेपालका कुनै चर्चित ठाउँ बाँकी थिएनन् जसका नाममा ‘स्टार’को फुँदा जोडेर गायन प्रतियोगिता नभएका हुन् । गायन मात्र होइन अभिनयका विधामा पनि यस्ता सोको आयोजना भए ।
तर, विशुद्ध व्यापारका लागि आयोजना भएका यस्ता प्रतियोगिताले न प्रतिभालाई प्लेटफर्म प्रदान गर्ने सेतुको काम गरे न विजेता बनेवापतको पैसा दिए । कतिसम्म भने अहिले निकै चर्चामा रहेका ‘भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’समेत प्रतियोगीलाई कबोल गरेको पुरस्कार नदिएको भन्दै आलोचित बने ।
‘भ्वाइस अफ नेपाल’का सिडी विजय अधिकारीले ‘भ्वाइस अफ नेपाल’बाट विजेता बनेबापतको पुरस्कार नपाएको तिक्तता फेसबुकमै राखेपछि यसका निर्माता तथा प्रस्तोता सुशील नेपाल र सिडी अधिकारी फेसबुककै भित्तोमै बाझ्न पुगेका थिए ।
उता ‘नेपाल आइडल’को पहिलो सिजनका विजेता बुद्ध लामाले पनि पुरस्कार स्वरूप जितेको कार नपाएपछि मिडियामा मुख खोल्न बाध्य भए । बदनाम हुने डरले नेपाल आइडलले घटना सामसुम पार्ने प्रयत्न गर्यो तर दुवै पक्षको मनमुटाव दोस्रो सिजनमा छताछुल्ल भयो । दोस्रो सिजनको फाइनलमा उपविजेताहरू उपस्थिति हुँदा उपाधि हस्तान्तरण गर्नुपर्ने बुद्ध लामा भने कार्यक्रममा देखिएका थिएनन् ।
नेसनल एक्टिङ कम्पिटिसनकी विजेता अनु थापा पनि पुरस्कार रकम नपाएको भन्दै सञ्चारमाध्यममा गुहार लगाउन आएकी थिइन् । अनुप बराल, दयाहाङ राई र ऋचा शर्मा सम्मिलित जुरीहरूको निर्णयबाट प्रतिस्पर्धामा उत्कृष्ट बनेकी अनुले आयोजकले कबोल गरेअनुसार २ लाख ५० हजार बराबरको रकम नपाएको भन्दै गुनासो गरेकी थिइन् । तर कार्यक्रम गरेर फरार रहेका आयोजक अनुको सम्पर्कमा आएका छैनन् ।
ठग्ने नियतले कार्यक्रम गरेका केही आयोजक भने यही बहानामा प्रहरी चौकी पुग्न बाध्य भएका थिए । तीन वर्षअघि कार्यक्रम गरेर पैसा नदिएपछि विक्रम अछामीलाई महानगरीय अपराध प्रहरी महाशाखाको टोलीले । उनीमाथि ‘डान्स नेपाल डान्स’ नामको रियालिटी सो सञ्चालन गरेको तर विजेतालाई पुरस्कारबापतको पैसा नदिएको आरोप थियो । रियालिटी सोको शृंखला जारी छ । केही दिनमै यसरी नै सारेगमप लिटिल च्याम्स्, भ्वाइस अफ नेपाल किड्स पनि सुरु हुँदै छन् । सानै उमेरदेखि प्रतिभा तिखार्नतिर होइन, भोट, पैसा, भाइरलतिर लैजाने यस्ता सोको अर्थशास्त्र र समाजशास्त्रतिर आँखा चिम्लिनु हुँदैन ।
टेलिकममा पैसा कम, एपमा लुटान
सुरु सुरुमा रियालिटी सो आयोजकले टेलिकम कम्पनीसँगको साझेदारीमा भोटिङ सञ्चालन गर्थे । उसबेला टेलिकमले आयोजकलाई जति पनि पैसा लिन छुट गरेको थियो तर त्यतिबेलाको अवस्थामा आयोजकले ३ देखि ५ रुपैयाँसम्म पैसा लिएर भोटिङ गर्न पाउने व्यवस्था गर्थे ।
तर, भोटिङबाटै कुस्त कमाउने लक्षण पाएर यस्ता कार्यक्रमको संख्या मात्र बढेन पैसा पनि बढ्यो । पछि त आयोजकले भोटिङका लागि मनपरी पैसा लिन थाले । खासगरी टेलिकमले भ्यास कम्पनीलाई यो अधिकार दिएपछि यो विकृति मौलाएको थियो ।
उनीहरूले भोटिङ कोड जेनरेट गरेर भोटिङका लागि सजिलो बनाए तर यसरी भोट गर्दा एउटै मान्छेले अथाह भोट गर्न पाउँथ्यो । यसले विकृति ल्याएको गुनासो चौतर्फी आएपछि टेलिकमले ५ रुपैयाँभन्दा बढी लिन नपाउने नियम लगाए ।
यसबाट धेरै कमाइ नहुने र मानिसको रुचि पनि घट्दै गएको समयमा बैंकिङ एप अस्तित्वमा आएपछि भने रियालिटी सोका आयोजक एपमार्फत ‘अनलिमिटेड’ भोटिङमा सक्रिय हुन थालेका छन् । भोटिङको सीमा अनुगमन गर्ने निकाय नहुनु र जसरी पनि विजेता बन्नैपर्ने प्रतियोगीको महत्वकांक्षाले आयोजक मालामाल भएका छन् । तर यसले धेरैको अवस्था रामकुमार नेपालीको झैँ बनाएको छ । उपाधि त कता हो कता धेरैले उल्टै ऋण बोक्न बाध्य भएका छन् ।
नियमन गर्ने कानुन नै छैन
भुक्तानी सेवा प्रदायक कम्पनीहरूले भोटिङका लागि गर्ने कारोबारमा राष्ट्र बैंकले अहिलेसम्म चासो देखाएको छैन । नेपालमा वालेट सञ्चालन गर्न भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकबाट अनुमति लिनपर्ने व्यवस्था छ ।
भुक्तानीसम्बन्धी कारोबारलाई भुक्तानी तथा फस्र्याैट ऐन, २०७५ ले निर्देशित गर्छ । तर यो ऐनमा समेत भोटिङ प्रणालीलाई नियमन गर्ने कुनै व्यवस्था छैन । त्यस्ता कम्पनीहरूबाट कोही ठगिएको भन्ने हालसम्म गुनासो राष्ट्र बैंकमा नआएको निर्देशक टेकराज भण्डारीले बताए । उनले भने, ‘राष्ट्र बैंकले जारी गरेका निर्देशनकै आधारमा भुक्तानी सेवा प्रदायक कम्पनीले आफ्नो कारोबार गरिहेको देखिन्छ । रियालिटी सो र भुक्तानी सेवा प्रदायकबीच हुने सम्झौताका आधारमा हुने यस्तो कारोबारलाई नियमन गर्ने कानुन पनि छैन ।’
कानुन नभएको विषय देखाएर केन्द्रिय बैंकका अधिकारीहरू पन्छिन खोजे पनि भोटिङका नाममा भइरहने अपारदर्शी कारोबारको नियमन गर्नु उसको दायित्व हो । कानुन नभए पनि कानुन बनाएर अपारदर्शी ढंगले हुने कारोबारलाई निरुत्साहित गर्नुपर्ने जानकारहरू बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया