कला

एउटा कविको मृतोत्थान

लिलाराज खतिवडा |
कात्तिक १८, २०७८ बिहीबार १०:७ बजे

यहाँ 
तिम्रो उजाड बस्तीमा
एउटा कवि 
यति धेरैपटक मर्‍यो 
कि उसलाई मार्दा-मार्दा  
मृत्यु पनि थाक्यो 
अनि त्यो कवि अमर भयो

गहिरा घाउहरुमा खाटा बसे
असीम पीडाबाट उसलाई क्रमशः 
छुटकारा मिलिरहेको थियो 


उजाड वृक्ष 
वसन्त आगमनले 
पुनः हरियालीमा रमाएजस्तै 
कविको बञ्जर छातीमा 
घनघोर वर्षा भएर अहिले 
अचानक पानी बिदो भएको थियो 
अनि बादल फाटेर 
छातीमा उसको
पारिलो घाम लागेको थियो
कविको हृदय 
लामो अन्तरालपछि
सूर्यमुखी झैँ फक्रिएको थियो

आँखामा उसका
अनेक फूलहरु फुलेका थिए 
मयूरहरु नाचेका थिए
रङ्गीबिरङ्गी पुतलीहरुले अमृत बटुलेका थिए

आँखाको नानीमा
सारा जिन्दगी आल्हादले उम्लिएको थियो
अस्तित्वको उर्जाले उब्जिने झङ्कार त्यहाँ 
अनौठो उत्कर्षले भरपूर थियो

एक सम्पूर्ण निर्वाण 
एक घनिभूत जागरण
एक विशुद्ध होश
तरवारको धार झैँ साक्ष उसको
ठिंग उभिएको थियो निधार छेऊ
साथै
विकार र क्लेशहरुबाट 
परम् मुक्तिको आभासले 
अन्तव्याप्त चेतना उसको 
सादगी लिएर पुलकित भएको थियो
हृदय फक्रिएको थियो
मन सुवासित 
आभामण्डल शान्त !

त्यहाँ यस्तो लाग्यो 
टक्क अडिएका समय-काँटाहरु
पुनः चल्न थालेका थिए 
टिकटिक टिकटिक...
समय फेरि एकपटक 
सुदूर भविष्य चुम्दै 
अति रफ्तारमय भएको थियो
कविको आँखाको नानीमा
अथाह उल्लास र उत्सव शुरु भएको थियो 
सनाही बजे
टाढा-टाढा 
दमाहा, नरसिंगा बजे
शंख, घण्ट र मान्छेका हत्केलाहरु समेत बज्‍न थाले

यस्तो लाग्यो-
पर्लय सकियो
र धर्ती अहिले भर्खरै 
बिल्कूलै शान्त भयो 
सन्तान जन्मिएपछि शान्त भएकी 
कुनै जननी जस्तै

भात खान नपाएर 
कुपोषणले मरिसकेको कवि
प्रकृतिको चामत्कारिक अनुकम्पाले
अचानक बौरिएर
अहिले भर्खरै
एक अंखोरा पानी घटघटी पारेपछि 
आकाश नियाल्दै मुस्कुराए झैँ
वा न्वारानदेखिको बलले
उसले छड्काएका बेपर्वाह खित्का झैँ 
वा उसको पारदर्शी टाउकोमा 
धेरैपछि फुरेको आशावादी 
र आनन्दले भरपूर कविता झैँ
सारा जिन्दगी अधिनव तारा जस्तै
विष्फोट भएको थियो 
उसको आँखाको नानीमा अहिले भर्खरै

अनि
मध्यरातमा कविको कलमले 
सुस्केरा हाल्यो -
‘भो, चाहिएन यहाँ मनगढन्ते जिन्दगी 
चाहिएन त्यो काल्पनिक उच्छ्वास
अनि चाहिएन 
मनको त्यो स्वैरकाल्पनिक झैँ लाग्ने 
अन्त्यहीन र अनकण्टार उडान पनि
चाहियो त यहाँ केवल एक थोपा यथार्थ !’

थाहा भएन कसरी
अहिले भर्खरै 
कविको चेहरामा आवृत्त मुकुण्डो 
गर्लम्म भुइँमा खस्यो

अनि नविन आयाममा 
अकस्मात् र अनपेक्षित तवरले
अनावृत्त हुनपुग्यो
रोग, भोक र शोकले आक्रान्त
त्यो पिलन्धरे कविको अनुहार !

यसप्रकार 
यहाँ 
तिम्रो उजाड बस्तीमा
मेरो एउटा कवि 
यति धेरैपटक मर्‍यो 
कि उसलाई मार्दा-मार्दा  
मृत्यु पनि थाक्यो 
अनि त्यो कवि अमर भयो !


Author

थप समाचार
x