कला

‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन सुरु, आस्थाको ठाउँमा तृष्णा कोच

इकागज |
पुस २९, २०७७ बुधवार १६:४९ बजे

काठमाडौं : गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’को तेस्रो सिजनमा महिला कोच परिवर्तन गरिएको छ । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो वर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुबन्ध आयोजकले जनाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले तेस्रो सिजन थप प्रतिस्पर्धी र रोमाञ्चक हुने बताए ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतिमै सो छाडेको बताए । यसमा अन्य कुनै कारण नभएको पौडेलको भनाइ थियो । पहिलो सिजनदेखि कोचको भूमिकामा रहेका दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् भने दोस्रो सिजनबाट जोडिएका राजु लामा यो सिजन पनि कोचको भूमिकामा यथावत रहनेछन् । आस्थाको ठाउँमा आएकी तृष्णाले प्रतिष्ठित सोमा जोडिन पाउँदा खुशी लागेको बताउँदै कोचको भूमिका जिम्मेवारीपूर्वक निभाउन कुनै कसर नछाड्ने बताएकी थिइन् ।


अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो सो प्रसारण हुनेछ । यसअघि टिम दीप र टिम प्रमोदका प्रतिस्पर्धीले यो सोको टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् त ? राजु भन्छन्–‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’


Author

थप समाचार
x