कला

बिक्‍न थालेपछि गीत-संगीतमा विकृति आयो

इकागज |
माघ ५, २०७७ सोमबार १४:३६ बजे

काठमाडौं : पुगनपुग डेढ सय गीतका सर्जक हुन् जीवन पन्त । लोक गीत र सुगम संगीत दुवैतिरका विधामा सरोबरी सक्रिय जीवन सञ्चारमाध्यमले भने लोक गीतलाई हेपेकोे बताउँछन् । 

‘खासमा सबै गीतको जननी लोकगीत हो तर नेपालमा सञ्चारमाध्यमले यही विधालाई हेप्ने गरेका छन्, ’ इकागजसँग गुनासो गर्दै जीवनले भने, ‘अहिले पनि लगानी र बजारका हिसाबले लोकगीतको छेऊछाऊमा कोही छैनन् । तर पनि यसैका स्रष्टा ओझलमा छन् ।’


जीवन पन्त जन्मि हुर्केको धादिङ पनि  लोकगीत हत्ते गर्ने गाउँ थियो । यसैले जीवनको कलिलो कानमा सुरुदेखि नै लोकगीत ठोक्कियो । यही प्रभावले जब जीवन हुर्कँदै गए, उनभित्र पनि लोकसंगीत हुर्कँदै गयो ।

सानैदेखि फुटवलमा पारंगत उनी अस्कलकाे पढाईसँगै सानो दुर्घटनामा परेपछि  गीत-स‌गीत तर्फ लागे कालान्तरमा जीवनले गीत-संगीतलाई आफ्नो मुख्य पेसा बनाए । २०६३ सालमा रेकर्ड भएको ‘आँशु आखै’ बोलको गीत जीवनको पहिलो रेकर्डेड गीत थियो तर यो गीतमा जीवन गीतकार मात्र थिए । यसपछि उनले संगीतकार र गायकको रूपमा थुप्रै गीत रेकर्ड गराए ।

यी मध्ये कति चर्चित बने त कति गुमनाम । तर, यो बीचमा जीवनले महसुस गरे, ‘आफ्नो पैसा र मेहनतमा अरु नै म्युजिक कम्पनी मोटाइरहेका छन् ।’ यही बोधले डोर्‍याएर उनले २०६८ सालमा आफ्नै स्वामित्वमा ‘सार्थक डिजिटल’ नामको कम्पनी खोले । 

‘सिर्जना मात्र हैन पैसा पनि हाम्रै पर्थ्याे । तर, कम्पनी न हिसाबकिताब राम्रो गर्थे न दिएको जिम्मेवारी पूरा गर्थे । अरुलाई पोस्नुभन्दा आफैंले गर्नु राम्रो लागेर कम्पनी खोलियो,’ जीवनले विगत कोट्याउँदै भने । त्यसयता उनले कम्पनीबाट ३ सयभन्दा बढी गीत बजारमा ल्याइसकेका छन् । 

तर, जीवन पन्तलाई गायकको रुपमा चिनाउने गीत भने ‘चाइनेजो’ बन्यो । जीवनकै संगीतसमेत रहेको विष्णु माझीसँग गाएको गीतले उनलाई रातारात चर्चित बनायो । संगीतकारको रुपमा भने उनलाई ‘पराइको बगैंचा’ले स्थापित गर्‍यो । सुगम शैलीको यो गीतसँगै ‘तिमी खुशी’ र ‘कहिले होला’ पनि सुगम संगीततर्फ उनले संगीत गरेका चर्चित गीत हुन् ।  

लोकगीतको बजार बढेसँगै यसमा विकृति बढेका गुनासो पनि प्रशस्त सुनिन थालेका छन् । बिक्‍न थालेपछि गीत-संगीतमा विकृति आउन थालेको उनको बुझाइ छ। पन्त सिर्जना बजार बसेपछि विकृति आएको बताउँछन् ।

‘रेडियो नेपालको जमानासम्ममा शुद्ध लोकगीत सिर्जना हुन्थे । तर यसको व्यापार हुन थालेपछि हामी स्रष्टा पनि बहकिएका छौं,’ उनले भने, ‘त्यसैले यसलाई व्यवस्थित बनाउन राज्यले पनि स्रष्टासँग हातेमालो गर्न जरुरी छ ।’ पन्तका अनुसार लोकगीतमा आजभोलि परम्परागत बाजाको पनि प्रयोग हुन छाडेको छ ।

यसले पनि लोकगीतका नाममा निस्कने धेरै गीत एकैप्रकारका सुनिने गरेको उनको निष्कर्ष छ । ‘मादल लोकगीतको मुटु हो तर आजभोलिका गीतमा मादल सुन्नै मुस्किल पर्छ । इमान्दार सर्जक पनि हुनुहुन्छ तर अहिलेको भागदौडमा उहाँहरू छुट्नु भएको छ । उहाँहरूलाई दौडमा सामेल गराउन दर्शकको पनि ठूलो भूमिका हुन्छ ’ पन्त भन्छन् । 


Author

थप समाचार
x