कला

गन्धर्व र बडाललाई लाेक तथा दोहोरी गीत प्रतिष्ठानको सम्मान

इकागज |
माघ १०, २०७७ शनिबार १३:२५ बजे

काठमाडौं : संगीतकर्मी कृष्ण गन्धर्वलाई १५ हजार सहित ‘लोक बहादुर स्मृति पुरस्कार’ प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औं वार्षिक शुक्रबार काठमाडौंको टोखामा सम्पन्न साधारण सभामा गन्धर्वलाई पुरस्कृत गरिएको हो ।  

सोही कार्यक्रममा ११ हजार नगदसहित लोक पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सिताराम बडाल तथा नेपाली लोक संगीतमा विद्यावारिधी गरेका डा. राम प्रसाद घिमिरेलाई सम्मान गरिएको थियो । उनीहरूसँगै कोभिडको समयमा कलाकारहरूलाई सहयोग पुर्याएका पृथ्वी थकाली र विनोद श्रेष्ठ पनि सम्मानित भए ।


प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी सँगै वर्तमान अध्यक्ष रमेश विजी उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी सहभागी थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन निर्माणका लागि पूर्व अध्यक्ष बद्रि पंगेनीसहित उनको टिमले खेलेको भूमिकाको प्रशंसा गरे । 

प्रतिष्ठानका महासचिव सुवास के.सी.ले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानलाई कोरोनाको समयमा सहयोग गर्ने  सहयोगी हातलाई सम्मानका साथै आजीवन सदस्य बनेका संगीतकर्मीहरुलाई पनि कदर तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा बोल्दै प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीले प्रतिष्ठानलाई दिवंगत स्रष्टाहरूको बैकुण्ठ तथा  पुण्यभूमि बनाउने योजना सुनाए ।

उनले भने, ‘ बाजा संग्रहालय, संगीतालय स्थापना गर्ने सपनाले मूर्त रुप लिँदैछ । आफ्ना अनुभव साटेर मलाई सहयोग गर्ने पूर्व अध्यक्षहरूप्रति आभार व्यक्त गर्दछु ।’साधारणसभा पश्चात आयोजित वन्द सत्रमा प्रतिष्ठानको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

अहिलेको प्रतिकुल अवस्थामा पनि अत्यधिक संगीतकर्मीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा भावी योजनाको घोषणा पनि गरिएको थियो । भावी योजना अनुसार प्रतिष्ठानले अघिल्ला कार्यकालहरुमा गर्दै आइरहेका महत्वपूर्ण कार्यहरूलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

योसँगै प्रतिष्ठानले आगामी दिनमा लोकबाजा संकलन सहितको संग्रहालय स्थापना, संगीत विकास बोर्ड गठन प्रक्रियामा पहल, हालसम्म गठन नभएका जिल्ला र विदेश शाखाहरूमा संगठन विस्तारका साथै निष्क्रिय रहेका जिल्लाहरूलाई क्रियाशील, अनुशासित, मर्यादित, व्यवस्थित र चलायमान गराउन पहल तथा रोयल्टी पाइरेसी सम्बन्धी सम्बन्धित सरोकारवालाहरूसँग बसी स्पष्ट धारणा ल्याउन पहल तथा लोकदोहोरी आचारसंहितासमेत तयार गर्ने लगायतका विषयहरू रहेका छन् ।


Author

थप समाचार
x