कला

त्यो राणाको फाँसी, यो प्रतिगमनको फाँसी

‘आँखामा मृत्युको भय देखाउन खोजिनँ, शुक्रराजले जस्तै’

सुनीता साखकर्मी |
माघ १६, २०७७ शुक्रबार २०:११ बजे

शुक्रराजको अभिनय गर्दै युवराज। तस्बिर : सुजल बज्राचार्य

काठमाडौँ : कस्तो कर्कश क्षण ! आँखै अगाडि मृत्यु सल्बलाइरहेको । हेर्नेहरूको शरीरमा ‘सिरिङ’ उठ्दै थियो । तर, उनको आँखामा भयको एक कण थिएन । किनकि अभिनय गरिरहेका थिए, उनी ।  

उनी— नाट्यकर्मी घिमिरे युवराज । 


८० वर्षअघि युवराज उभिएकै ठाउँमा उभिएका थिए, शहिद शुक्रराज शास्त्री । शुक्रराज तत्कालीन जहानिया राणा शासनको विरोधमा लागेका थिए । यही अभियोगमा उनलाई राणाहरूको सत्ताले पक्राउ गर्‍यो । विक्रम सम्वत १९९७ माघ ६ गते शुक्रराजलाई फाँसी दिने निर्णय भयो । निर्णयको चार दिनपछि माघ १० गते राति उनलाई फाँसी दिइयो । र, भोलिपल्ट दिनभरी उनको शव फाँसी दिएको रुखमै झुण्डिरह्यो ।  

८० वर्षपछि— शुक्रराजलाई फाँसी दिएकै रुखमुनि उभिएका छन् युवराज । 

स्थान : टेकु, खरीबोट
समय : २ः३०, शुक्रबार 
सन्दर्भ : प्रतिगमनविरुद्ध नाटक

शुक्रराज राणा शासनको विरुद्धमा थिए । अहिले युवराज ओली सरकारको ‘प्रतिगमन’विरुद्ध छन् । त्यो फाँसीको सम्झनामा उनले अभिनय गरिहेका छन् । तर, फाँसीको अभिनय गर्नु कहाँ सजिलो हुँदोरहेछ र ? 

टेकुको उही खरीको बोट मुनी युवराज मृत्यु वरणको अभिनय गर्न तयार थिए । शुक्रराजको भूमिका निभाएर स्टेज तल ओर्लिएपछि युवराजकी श्रीमती लुनाले भनिन्— डरलाग्यो, काँडा नै उम्रियो !

लुनालाई थाहै थियो, यो केबल नाटक हो । तर, युवराजको त्यो अभिनय उनलाई जीवन्त लाग्यो । त्यसैले उनको शरीरमा काँडा उम्रिए । शुक्रराजको भूमिका निभाउँदै गर्दा युवराजलाई पनि तनाव थियो । किनकि जसरी शुक्रराजले मृत्यु स्विकार गरे, त्यसरी मृत्यु स्विकार गर्ने सायदै कोही होलान् । उनी आफ्नो मुहारमा मृत्युको भय देखाउन चाहँदैन थिए । 

‘शुक्रराजलाई जबरजस्ती फाँसीमा चढाइएको होइन, उनले स्विकारेको हो,’ उनी भन्छन्, ‘मलाई डर थियो, शुक्रराजको त्यो मर्म मेरो अनुहारमा देखिन्छ कि देखिँदैन होला भन्नेमा, ममा त्यो समर्पण छ वा छैन भन्ने तनाव थियो ।’ 

शिल्पी थियटरमा नाटकको रिहर्सल गर्दै युवराज । तस्बिर : फेसबुकबाट


शुक्रराजको भूमिका निभाउनु उनलाई चुनौतीपूर्ण लाग्यो । सहिदको ठाँउमा उभिएर भूमिका गर्दै गर्दा काहीँ न कहीँ आफूसँग पनि त्यो इमान्दारीता हुनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले नेताहरूमा इमान्दारिता खोजिरहेका छौँ । तर आम नागरिक आन्दोलनमा जति सहभागी छौँ, सबैमा इमान्दारीता र बाचा चाहिन्छ ।’ 

बृहत नागरिक आन्दोलनमा शिल्पी थिएटरले सुरुवातदेखि नै साथ दिँदै आएको छ । विभिन्न शैली र स्वरुपमा खबरदारी गर्दै आएको छ । नाटकमा युवराजलाई कलाकारहरू पवित्रा खड्का, रोहन प्रकाश, रविन परियार, गोविन्द ओली र रवि श्रेष्ठले साथ दिएका थिए ।  

‘नागरिक आन्दोलन पनि कलात्मक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, शान्तिपूर्ण र आन्दोलनको तरिका कलात्मक हुनुपर्छ भन्ने मान्यता हो,’ युवराज भन्छन्, ‘हामीले कुनै न कुनै रुपमा कलाको माध्यमबाट सामाजिक न्यायको लागि र आम नागरिक हितको लागि काम गर्ने हो, यो निरन्तर गरिरहने छौँ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x