कला

नेपाल प्रहरी : चिलाएको ठाउँमा नकन्याउने, नचिलाएको ठाउँमा कोतर्ने

सामीप्यराज तिमल्सेना |
कात्तिक १४, २०७७ शुक्रबार १९:५७ बजे

काठमाडौं : गत साल कात्तिक ७ मा भिटेन उर्फ समीर घिसिङ गीत गाएको निहुँमा जेल परे । जावलाखेलबाट पक्राउ परेका भिटेनमाथि प्रहरीको आरोप थियो, ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा उच्छृङ्खल शब्दको प्रयोग भरमार छ र भिडियोमा उनले लागु पदार्थको व्यसनलाई प्रोत्साहन दिने अभिप्राय राखेका छन् । भिटेनको पक्राउलाई लिएर सामाजिक सञ्‍जाल तातेपछि सात दिनका लागि थुनामा राख्‍न ठिक्क परेको प्रहरी दुई दिनमै भिटेनलाई छाड्न तयार भयो । भिटेनका बुबा जमानी बसेर उनलाई छोडाए ।
 
त्यसको ठीक एक वर्षपछि प्रहरी फेरि भिटेन पक्राउ अभियानमा लागेको छ । आरोप उही छ, ‘भिटेनले सभ्य गीत गाएनन् । समाज बिग्रने खतरा देखियो ।’ प्रहरीले कूटनीतिक भाषामा भिटेनलाई कानुनी दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको भए पनि गीत र भिडियो हेर्दा स्पष्ट हुन्छ, यो पालि प्रहरीलाई समाजको होइन, आफ्नै छबिको चिन्ता छ । भिडियोमा भिटेनले सिधासिधा प्रहरीसँग ‘निहुँ’ खोजेका छन् । 

के छ भिटेनको गीतमा ?
भिटेनको नयाँ गीत ‘पारा’ प्रहरी प्रशासनलाई जवाफ मान्दा हुन्छ । अघिल्लो साल प्रहरीले उनलाई जे कसुरमा समातेको थियो भिटेनले यस गीतमा त्यसको जवाफ दिएका छन् । गीतको एक लाइनमा भिटेन भन्छन्, ‘हैन, मैले गीत यो गाएको । र्‍याप यस्तै हुन्छ खै कुरा बुझेको ।’


गीतको भिडियोमा पनि भिटेनले प्रहरीको धज्जी उडाउन कुनै कसर छाडेका छैनन् । गीतको भिडियो नै प्रहरीको गाडी उडाएबाट सुरु हुन्छ भने बीचबीचमा पनि उनले प्रहरीलाई डन्ठे भन्दै आफ्नो चिन्ता नगर्न सुझाएका छन् । यसबाहेक गीतमा उनले महिलालाई ‘रन्डी’ र ‘माल’ भनेर पनि सम्बोधन गरेका छन् । सभ्य कुराकानीमा बोल्न नमिल्ने ‘मुजी’ त उनले तीन मिनेटको गीतमा एक ठाउँ पनि छाडेका छैनन् । तर, यो समाचार तयार पार्दासम्म भिटेनले भिडियो अरुले हेर्न नमिल्ने बनाइसकेका छन् । 

सामाजिक सञ्‍जालमा दुई धार
अघिल्लो पटक जसरी सामाजिक सञ्‍जाल भिटेनको पक्षमा उभिएको थियो, यस पटक त्यो अवस्था छैन । सामाजिक सञ्‍जाल पनि यो साल पक्ष विपक्षमा बाँडिएको छ । केहीले र्‍याप विधा नै यस्तो भएको भन्दै भिटेनको गीतलाई समर्थन गरेका छन् भने केहीले उनले गीतमा प्रयोग गरेका शब्द अपाच्य रहेको तर्क गरेका छन् । खास गरी महिलालाई उनले तुच्छ शब्दमा सम्बाधेन गरेका छन् । गीत मन पर्ने पनि उनका शब्द चयनको कमजोरीका कारण भिटेनले सीमा नाघेको निष्कर्षमा पुगेका छन् । तर, यत्तिकै कसुरमा उनलाई अपराधी जस्तो पक्राउ गर्नुपर्ने अवस्था नरहेको उनीहरूको आशय देखिन्छ । 

के भन्छन् समकालीन र्‍यापर ?
भिटेनको पुस्ताका र्‍यापर भने प्रहरीले र्‍याप भन्‍ने विधा नै नबुझ्दा समस्या आएको बताउँछन् । साइक्लोनिकको नाममा र्‍याप गाउँदै आएका विधान मगर र्‍याप गाएकै भरमा प्रहरीले पक्रन खोज्‍नु प्रहरीले दादागिरी देखाएको ठान्छन् । ‘गीत ट्रेन्डिङमा आयो भने बुझ्नुपर्छ, गीतलाई समाजले पनि स्वीकार गरिरहेको छ । प्रहरीले के अब यो गीत हेर्नेलाई पनि कारबाही गर्छ ?’ विधान प्रश्न गर्छन् । 

उनले व्यक्तिगत रुपमा आफू यस्ता छाडा गीत गाउन नरुचाउने भए पनि र्‍यापमा धेरथोर अश्लीलता हुने स्वीकार्छन् । विधान भन्छन् ,‘सबै र्‍यापारका आ-आफ्नै विशेषता हुन्छन् । भिटेनले छाडापनलाई ब्रान्ड बनाउन खोजेका हुन सक्छन् । प्रहरी अपराधीको पछि लाग्‍न छाडेर गायकले गाएका शब्दको पछि लाग्‍नु ठीक होइन ।’

बुलेट फ्लोको नाममा र्‍याप हान्ने सुरज थापा पनि प्रहरी भिटेनको पछि लागेकामा उदेकमा छन् । उनले प्रहरीले यसै गरी गीतमा आपत्ति जनाएर पक्राउ गर्दै जाने हो भने अब रेकड गर्नुअघि प्रहरीलाई शब्द देखाउने समय आउने आशंका व्यक्त गर्छन् । ‘यो त सिधै फ्रिडम अप स्पिचको बिल्ला हानेको जस्तो भयो नि,’ सुरज भन्छन् ,‘भिटेनको माध्यमबाट प्रहरी हाम्रो आर्टिस्टिक एक्सप्रेसनमा बन्देज लगाउन खोजिरहेको छ । हामी त अझै ४०/५० वर्षअघिको समाजमा छौँ भन्‍ने लागिरहेको छ । के अब हामी लिरिक्स देखाउन प्रहरीकोमा जाने ?’ 

यी सबै घटना यतिबेला भएका छन्, जतिबेला प्रहरी हिरासतमै मारिएका कवि तथा पत्रकार कृष्ण सेन इच्छुकका सहयोध्दा रामबहादुर थापा प्रहरी संगठन हाँक्ने गृहमन्त्रीमा आसीन छन् ।

उनलाई पनि प्रहरी अपराधको दुनियाँ मुद्दाको पछि लाग्‍न छाडेर भिटेनको पछि लागेको वाहियात लागेको छ । तर्क गर्छन्, ‘भिटेनको गीतभन्दा ज्यादा फोहोरी त मैले कति लोकदोहोरी सुनेको छु । खै त प्रहरीले उनीहरूलाई पुर्जी काटेको ?’

र्‍यापार मानस घले भने प्रहरी आफैँ भाइरल हुन भिटेनको पछि लागेको आरोप लगाउँछन् । उनले प्रहरीले संगीतलाई आर्टको रुपमा नबुझ्दा समस्या भएको बताउँछन् । ‘म्युजिक आर्ट हो । त्यसमा र्‍याप एउटा विधा हो । राष्ट्रिय गीत मात्र सुन्‍ने बानी परेर उहाँहरूले कुरा नबुझेको हो । बाहिरतिरका गीत सुन्‍ने हो भने भिटेनको गीतमा आर्ट देख्नुहुन्छ,’ मानस भन्छन् । भिटेनले भिडियोमा नेपाल प्रहरी जनाउन केही कुरा पनि प्रयोग नगरेको पनि उनको दाबी छ ।‘भिडियोमा हेर्नुस्, पहिला त उसले भिडियो नै काल्पनिक भनेर लेखेको छ । अनि नेपाल प्रहरी जे कुराले बिच्किएको छ त्यसमा केही पनि नेपाल प्रहरीको छैन,’ मानस भन्छन्, ‘गाडी, बर्दी कुनै पनि नेपाल प्रहरीको हैन । आफूलाई गाली गर्ने सबैलाई प्रहरीले यसैगरी समात्ने हो ?’

कवि/कलाकारको चियोचर्चामा प्रहरी 
प्रहरी पछिल्लो समय अपराधीको भन्दा कलाकारको पछि लाग्‍ने गरेको आरोप छ । भिटेनलाई पक्राउ पुर्जी जारी गरेसँगै सामाजिक सञ्‍जालमा दुई वर्ष बित्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलगाउने अनि भिटेनको गीतबाट खतरा देख्‍ने ? भन्दै प्रहरी कदमको निन्दा गरेर स्ट्याट्स/ट्‍वीट आउने क्रम जारी छ । अझ भर्खरै वीरगञ्‍जमा मारिएका अजय चौरसियाको हत्याको जाहेरी लिन आनाकानी गरेको कुरालाई पनि सामाजिक सञ्‍जाल प्रयोगकर्ताले जोडतोडका साथ उठाइरहेका छन् । तर, प्रहरी कलाकार पक्रने कदमबाट हरेक पटक पछि हट्नुपरे पनि चेतेको छैन ।

यो त सिधै फ्रिडम अप स्पिचको बिल्ला हानेको जस्तो भयो नि,’ सुरज भन्छन्, ‘भिटेनको माध्यमबाट प्रहरी हाम्रो आर्टिस्टिक एक्सप्रेसनमा बन्देज लगाउन खोजिरहेको छ ।’

गत साल लगभग यही समयतिरै दुर्गेश थापाले भिडियोमा मादक पदार्थको प्रवर्दन गरेको भन्दै प्रहरीले भिडियो हटाउन बाध्य पारेको थियो । त्योभन्दा अघि प्रनेश गौतमले फिल्मको समीक्षा गरेकै भरमा एक हप्ताभन्दा ज्यादा समय प्रहरी खोरमा बिताएका थिए । नेपाल प्रहरीको सुरक्षा संवेदनशीलता कस्तो छ भने केही महिना पहिले पूर्वसचिव भीम उपाध्याय सामाजिक सञ्‍जालमा फोटो शेयर गरेकै आरोपमा पक्राउ परेका थिए । कविहरू रसुवाली कवि तथा संगीत श्रोतालाई पनि प्रहरीले प्रदर्शनीमार्गको बीच सडकबाट उठाएर लिएर गएको थियो ।

कलाकार ‘न्याक्ने’ प्रहरी पुरुषार्थको  उत्कर्ष देखिएको थियो  गायिका आस्था राउतको मुद्दामा । अघिल्लो वर्षको मध्य जाडोको एक दिन एयरपोर्टमा आस्था राउत र महिला प्रहरी रमिता श्रेष्ठबीच भनाभन परेको थियो । रिस काबुमा राख्‍न नसकेकी आस्थाले फेसबुकमा प्रहरीलाई डन्ठेनी के भनेकी थिइन्, प्रहरीको ‘इगो’ जोड्नै नसक्ने गरी हर्ट भयो । फेरि त के थियो,  प्रहरी संगठनका लागि आस्था मोस्ट वान्टेड अपराधीभन्दा कम भइनन् । आस्थालाई गलाउन प्रहरीले तदारुकताका साथ एयरपोर्टको सिसिटिभी फुटेज मात्र सार्वजनिक गरेन, पक्रने वारेन्ट नै जारी गर्‍यो । सांगीतिक कार्यक्रमका क्रममा भारतको सिक्किम पुगेकी आस्थाले फर्केर आएर आत्मसमर्पण गरिन्, तर, त्यतिमा पनि प्रहरीको रिस मथ्थर भएन । ४ दिन थुनामा राखेर चार हजार धरौटी लिएर बल्ल छाड्यो । यी सबै घटना यतिबेला भएका छन्, जतिबेला प्रहरी हिरासतमै मारिएका कवि तथा पत्रकार कृष्ण सेन इच्छुकका सहयोद्धा रामबहादुर थापा प्रहरी संगठन हाँक्ने गृहमन्त्रीमा आसीन छन् ।

भर्खरै पनि प्रहरी प्रधान कार्यालयले फिल्म, टेलिफिल्म तथा म्युजिक भिडियोमा प्रहरीको गलत चित्रण गरेको भन्दै कानुनी कारबाहीको चेतावनी दिएको थियो । यति मात्र होइन, सर्वेन्द्र खनालले आइजीपी भएको समयमा फिल्म निर्मातालाई नक्साल मुख्यालयमा डाकेर नै फिल्ममा प्रहरीको चरित्र-चित्रणमाथि असन्तुष्टि जनाएका थिए । उनले नेपाली फिल्ममा प्रहरीको चरित्र चित्रण राम्रो नहुने गुनासो गर्दै, राम्रो बनाइदिन आग्रह गरेका थिए । तर, दुर्भाग्य फिल्म निर्मातालाई यसरी आग्रह गरेको केही समयपछि नै सेवामुक्त भएका खनाल सांसद अपहरणको मुद्दामा मुछिएका थिए ।

भिटेनलाई पक्राउ गर्ने आदेश जारी गरेर प्रहरीले भिटेनलाई एक तहमा गलाइसकेको छ । भिटेन भिडियो प्राइभेट गर्न बाध्य भइसकेका छन् । भोलि भिटेन पक्राउ पर्लान्, प्रहरीले कुनै न कुनै मुद्दा हालेर भिटेनलाई थप गलाउला पनि । तर, यस मुद्दामा प्रहरीको कदमले ‘चिलाएको ठाउँमा नकन्याउने, नचिलाएको ठाउँमा कोतर्ने’ नजीरबाहेक केही पनि स्थापित गर्नेछैन । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x