कला

महामारीमा के गर्दैछन् नाटकघर ?

इकागज |
असोज २६, २०७७ सोमबार १५:४३ बजे

वैशाखको पहिलो साताबाट मञ्‍चन गर्ने गरी बिमल सुवेदी नयाँ नाटकको तयारी गरिरहेका थिए । तर, चैतको पहिलो साताबाटै सरकारले लकडाउन गरेपछि नाटक मञ्‍चन त रोकियो नै थिएटर भिलेजले गरिरहेका नियमित काम पनि प्रभावित भए । कोरोना निर्मुल होला र नाटक गरौंला भन्दाभन्दै ६/७ महिना बित्‍न लागिसके । अब भने जे पर्ला पर्ला भनेर बिमलले पुस १५ मा मञ्‍चन गर्ने गरी नाटकको रिहर्सल गरिरहेका छन् । 

बिमलले सरकारले हिडडुल गर्नै प्रतिबन्ध नलगाएसम्म नाटक मञ्‍चन गरी छाड्ने प्रतिबद्धतासहित काम गरिरहेको बताए । ‘अहिलेको जस्तै अवस्था रहेपनि पुस मध्यबाट नाटक गर्ने तयारी गरिरहेका छौं । तर, त्यतिबेलासम्म रोग नियन्त्रणमा आइसक्ला कि भन्‍ने अपेक्षा छ,’ बिमलले भने । मण्डला थिएटरमा मञ्‍चन हुने नाटकको हाल दिन बिराएर रिहर्सल भइरहेको छ ।  बिमलले दसैंपछि पत्रकार सम्मेलन गरेर नाटकको बारेमा जानकारी दिने तयारी गरिरहेका छन् ।
 
थिएटर भिलेजले जस्तो हिम्मत सबै नाट्यकर्मीले भने गर्न सकेका छैनन् । महामारी उन्मुलनको पर्खाइमा रहेका नाटकघरहरू भर्चुअल गतिविधि गरेर काम चलाइरहेका छन् । नाट्यकर्मीको सबैभन्दा धेरै चहलपहल हुने मण्डला थिएटर चैतमहिना यता सुनसान छ । लकडाउन खुकुलो भएको बेलामा नाट्यकर्मी भेला हुने र चियागफ गर्नेबाहेक सार्थक काम हुन नसकेको मण्डला थिएटरका सोमनाथ खनाल बताउँछन् ।‘थोरै गर्ने तर राम्रो गर्ने भन्ने योजना थियो । यस हिसाबले धेरै बिग्रिएको छैन तर नाटक नहुँदा यसमा आश्रित कलाकार पलायन हुने खतरा बढेको छ जुन हाम्रा लागि राम्रो हैन,’ खनालले भने । 


मण्डलाले भर्चुअल रुपमा भने निरन्तर गतिविधि गरिरहेको खनालले बताए । ‘हामीले भूकम्प लगत्तै प्ले ब्याक थिएटरको अवधारणामा समुदायका समस्यालाई समुदायमै प्रस्तुत गर्ने काम सुरु गरेका थियौं । अहिले पनि त्यही काम गरिरहेका छौं,’ खनाल भन्छन्, ‘तर, शारीरिक रुपमा उपस्थित भएर गर्नु जस्तो सजिलो, भर्चुअल रुपमा नहुने रैछ । कतिलाई सम्झाउनै सकेनौं ।’ महामारीका कारण मण्डला थिएटरले अघिल्लो वर्षदेखि सुरु गरेको डेढ वर्षको ड्रामा स्कुलको कोर्स यो पाली रोकियो भने दसैं तिहारपछि हुने मोबाइल थिएटर पनि अलपत्र गरेको छ ।


 
शिल्पी थिएटरले भने भर्चुलअ र फिजिकल दुवै हिसाबले आफूलाई सक्रिय राखेको छ । केही दिनअघि पाटनमा नाटक मञ्‍चन गरेको शिल्पीले केही दिनमै एकान्तवास थिममा अर्को नाटक मञ्‍चन गर्ने तयारी गरिरहेको छ । आइसोलेसनमा मानिसले मानिसलाई कसरी सहयोग गर्न सक्छ भन्ने कुरा प्रस्तुत गर्ने गरी नाटक तयार गर्न लागेको शिल्पीका घिमिरे युवराजले जानकारी गराए ।
 
‘प्रकृतिमा विपत्ति आएपछि मानिस सामाजिक दूरी कायम गर्न बाध्य हुन्छ ।  तर, यसरी परपर रहँदा पनि हामी एक अर्कालाई कसरी सहयोग गर्न सक्छौं, नाटकको मूल कथा यही हो,’ घिमिरेले भने । उनले दर्शकलाई नै सामाजिक दूरीमा राखेर नाटक मञ्‍चन गर्ने गरेको पनि जानकारी गराए । अवस्था यस्तै रहे शिल्पीले तिहारपछि अनलाइन प्ले गर्ने योजना बनाइरहेको छ । 

काठमाडौं मलबाट बिस्थापित भएको थिएटर मलले कीर्तिपुरमा थालथलो भेटेर बल्ल नाटक गर्न सुरु गरेको थियो तर बिचैमा महामारीले छोपेपछि थिएटर मलको नाट्यकर्म पनि भर्चुअलमा सीमित भयो । सरकारले लकडाउन घोषणा गरे लगत्तै ‘क्‍वारेन्टाइन अभियान नाट्य उत्सव’ आयोजना गरी देश विदेशका २० नाटक मञ्‍चन गरेको मलले बिचको समयमा नेवारी नाटकको प्रतिस्पर्धा र बालबालिका लक्षित कथावाचन शृंखलाको आयोजना गरेका थियो । तर, महामारीले ‘बहुलाकाजीको सपना’ मञ्‍चन गर्ने तयारी भने तुहिएको मलका अध्यक्ष केदार श्रेष्ठले बताए ।
 
‘७५ सालमा हामी कीर्तिपुर सरेका थियौं । एक वर्ष त हामीले यहाँ नाटकघर छ है भन्ने कुरा स्थापित गर्नमै खर्च गर्यौं । बल्ल दर्शक आउन लाग्‍नु भएको थियो, बिचैमा यो आपत आइलाग्यो,’ श्रेष्ठले भने, ‘ तत्काल के गर्ने भन्ने योजना बनाएको छैन । सायद दसैंतिहारपछि नै केही योजना बन्ला ।’

रंगमञ्च त्यसैपनि निष्ठाको पेसा हो । अझ नेपालमा रंगमञ्‍च व्यवसायिकताको लिकमा हिड्न सुरु गरेकै छैन ।  यो क्षेत्रमा जेजति कलाकार अडिएका छन् , रुचि र  निष्ठाले लागेका छन् । उनीहरुको रुचि र निष्ठालाई मञ्‍चन हुने नाटकले मात्र भरथेग गर्थे । तर, यही काममा पनि व्यवधान आइलागेपछि यो विधामा आकर्षित युवा पलायन हुने खतरा बढेको यो क्षेत्रका जानकार बताउँछन् । ‘न सरकारको सहयोग छ न अन्य संघ संस्थाको । भोलि अवस्था सामान्य पनि होला र हामी नियमित काममा पनि फर्कौंला । तर, यो बेला लामो समय यो क्षेत्रको अनुभव लिएका साथीहरु हामीसँग नहुन पनि सक्नुहुन्छ,’ घिमिरे आशंका व्यक्त गर्छन् । 

सरकारले केही गरिहाल्छ कि भन्ने झिनो आसमा एक महिनाअघि देशभरका ६१ वटा थिएटरले संगीत नाट्य एकेडेमीका कुलपति र उपकुलपतिसँग पनि भेटघाट गरेका थिए । तर, सरकारले आजका दिनसम्म पनि ठोस आश्वासन दिएको छैन ।  शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले एकेडेमीका प्रतिनिधीलाई दुई पटक भेटे पनि थिएटरको राहतका लागि केही आउला भन्ने आश आफूहरुले नराखेको बताए । ‘हामीले प्रस्ताव नै दिएका छौं । तर, केही गर्नुहोला भन्ने अपेक्षा खासै छैन,’ बुढाथोकीले भने । 

काठमाडौं जस्तै काठमाडौं बाहिरको थिएटरले पनि भर्चुअलरुपमै आफूहरुलाई सक्रिय बनाइराखेका छन् । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले इकागजसँगको कुराकानीमा सरकारको निर्णय कुर्दाकुर्दै समय खेर गएको बताए । ‘अभिनय र निर्देशनको भर्चुअल क्लास गर्यौं । तर, सरकारले अनुमति देला र स्पिड बढाउँला भन्दा भन्दै समय बित्यो,’ उनले भने, ‘दसैं पछाडि भने कुनै न कुनै नाटक छानेर रिहर्सल गर्छौं। अनुप बराल सर यतै हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ ’ परिवर्तनले भने । उनले पोखरा थिएटरले गतसालदेखि सुरु गरेको ‘स्कुल महोत्सव’ पनि भर्चुअल गर्ने कि फिजिकल गर्ने दसैंपछि टुंगो लाग्ने जानकारी गराए । 


 
 


Author

थप समाचार
x