अटो

राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १५:५७ बजे

काठमाडौँ- लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने भएका छन् ।

नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन् । नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो चरणमा सामाजिक सञ्जालबाट विरोध प्रदर्शन गर्ने र त्यसपछि कालो ब्यानर प्रदर्शन गर्ने तथा धर्ना दिने लगायतका कार्यक्रमहरूको आयोजना गर्ने जानकारी दिए ।


उनले शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने बताए । अध्यक्ष थापाले अब पनि सवारी आयात प्रतिबन्ध नहटाए अटो व्यवसाय थला पर्ने अवस्थामा पुगेको धारणा राखे । आफूहरूको समस्याका बारेमा पटक पटक राज्यको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।​

मंसिर २२ गतेसम्म पनि आफूहरूको मागमा सुनुवाइ नभए दोश्रो चरणको आन्दोलन सुरु गर्ने नाडाले जनाएको छ । विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रूपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुल्ला छ ।

राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ ।


Author

थप समाचार
x