बैंक-वित्त

अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति दबाब : कार्डबाटै बाहिरियो ६१ लाख ३३ हजार डलर

कमल धिताल |
साउन १९, २०७९ बिहीबार १४:२२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले २०७७ को चैतदेखि खुला गरेको डलर कार्ड भुक्तानीमार्फत हालसम्म ६१ लाख ३३ हजार अमेरिकी डलर (करिब ७७ करोड ८० लाख नेपाली रूपैयाँ) बढी रकम बाहिरिएको छ। राष्ट्र बैंकले २०७७ मा मुलुकको विदेशी मुद्राको सञ्चिति सर्वाधिक रहेको (१४ खर्ब ६२ अर्ब रुपैयाँ) अवस्थामा नेपालबाट ५ सय डलर सम्मका सेवा तथा वस्तु खरिदका लागि भन्दै सोही वर्षको चैतबाट प्रिपेड डलर कार्डको सुरुवात गरेको थियो। यसरी करिब १५ महिनाको अवधिमा जारी भएको डलर कार्डबाट ७७ करोड ८० नेपाली रूपैयाँ बढीको सेवा तथा वस्तु खरिद भएको राष्ट्र बैंकले जनाएको छ।

२०७७ चैतमा राष्ट्र बैंकले वार्षिक अधिकतम ५ सय अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न केन्द्रीय बैंकले अनुमति दिएको थियो । यसबाट सर्वसाधारणले भारत बाहेकका मुलुकबाट पाइने सेवा प्राप्त गर्न सकिने गरी वाणिज्य बैंकहरूलाई कार्ड जारी गर्न अनुमति प्रदान गरेको थियो।


यस अवधिमा बैंकहरूले ३८ हजार ६६ डलर कार्ड वितरण गरेका छन्। वितरण भएका डलर कार्डमा प्रयोगकर्ताले ९३ लाख ८५ हजार अमेरिकी डलर लोड गरिएको राष्ट्र बैंकले जनाएको छ। लोड भएका मध्ये हालसम्म ६१ लाख ३३ हजार अमेरिकन डलर प्रयोगकर्ताले खर्च गरेका छन्। 

प्रयोगकर्ताले उक्त प्रिपेड डलर कार्ड प्रयोग गरी अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । यस्ता प्रिपेड कार्ड अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्नेबाहेक अन्य पुँजीगत खर्चका लागि एटीएम वा प्वाइन्ट अन सेल (पीओएस) मा प्रयोग गर्न भने नमिल्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा राखेर डलर कार्ड जारी गर्न अनुमति दिएको थियो। यसमा कार्ड प्रयोगकर्ताले एकै पटकमा वा पटकपटक गरेर एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउने गरी नियम लागाइएको छ । यस्तो कारोबारमा तोकिएको सीमाभित्र रहेर नेपालको कानुनले वञ्चित नगरेका सबै प्रकारका वस्तु तथा सेवा खरिद गर्न सकिन्छ ।

कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशमा सेवा निर्यात गरेर आर्जन गरेको रकम सोही कार्डमा जम्मा हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले कार्ड जारी गर्न बैंकहरूलाई निर्देशन दिएको थियो। 

के मा खर्च खर्चिन्छन् डलर?

ग्राहकको अनुरोधमा बैंकहरूले उक्त कार्डमा नेपाली मुद्रासँगको विनिमय दरका आधारमा ५०० अमेरिकी डलरसम्म जम्मा गरिदिएपछि उक्त डलर के कस्ता खर्च गरिन्छन् भनेर केन्द्रीय बैंकले अध्ययन समेत गरेको छ। बैंकले गरेको अध्ययनअनुसार सबैभन्दा बढी यसको प्रयोग शैक्षिक सामग्रीहरूको खरिदमा खर्च भएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बताउँछन्। ‘हामीले डलर कार्ड इस्यु भएपछि त्यो केमा खर्च हुन्छ भनेर अध्ययन गरेका थियौँ त्यसमा सबैभन्दा बढी शैक्षिक सेवाको खरिद, सफ्टवेयर खरिद तथा सदस्यता लिनको लागि खर्च भएको देखियो,' उनले भने ।

यस्तै दोस्रोमा भने फेसबुक, गुगल लगायतका विज्ञापन एवं मनोरञ्जन (नेटफ्लिक्स, अमेजन प्राइम) लगायतको सेवा खरिदको लागि खर्च हुने गरेको बैंकले जनाएको छ। डलर कार्ड वितरण गरेपछि त्यसबाट नेपालमा प्रतिबन्धित वस्तु तथा सेवामा खर्च भएको अध्ययन गर्ने र सो भएमा सम्बन्धित बैंकलाई खबर गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलर सञ्चिति ९ अर्ब ४५ करोड

पछिल्लो समय नेपालमा विदेशी मुद्रा सञ्चित उल्लेख्य घटेको छ ।  नेपाल राष्ट्र बैंकले जारी गरेको जेष्ठसम्मको तथ्यांकअनुसार अमेरिकी डलर सञ्चिति ९ अर्ब ४५ करोडमा झरेको छ। पछिल्लो समय नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ दैनिक उकालो लागिरहेको छ। अमेरिकी डलर विश्वका सबैजसो प्रमुख मुद्राहरूको तुलनामा बलियो भइरहेको छ। रुस युक्रेन युद्ध पश्चात विश्वमै अमेरिकी सञ्चितिमा कमी आएको देखिन्छ। अमेरिकी बैंकले व्याजदर बढाएपछि यसप्रति लगानीकर्ताहरूको आकर्षण बढेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आइ ९ अर्ब ४५ करोड कायम भएको छ । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x