बैंक-वित्त

यी हुन् हालसम्म लाभांश घोषणा गरेका बैंकहरू, कसले कति लाभांश दिए ?

इकागज |
मंसिर २२, २०७९ बिहीबार १८:२८ बजे

काठमाडौं- गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने २६ मध्ये १५ बैंक पुगेका छन् ।  हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका हुन्। अब बाँकी रहेका वाणिज्य बैंकहरू पनि भने लाभांश घोषणा गर्ने अन्तिम तयारीमा छन् ।

वाणिज्य बैंकहरूले नगद तथा सेयर बोनशमा अधिकांशले नगदलाई प्राथमिकतामा राखेका छन् । सेयर बजारमा प्रभुत्व रहेको बैंक तथा वित्तीय संस्थाले घोषणा गरेको लाभांश उनीहरुको साधारण सभाबाट पारित र नियामक निकायबाट अनुमोदन भएपछि सेयरधनीले खातामा पाउनेछन् । यस्तै बाँकी बैंकहरूले पनि लाभांश वितरणको लागि अन्तिम तयारी गरिरहेका छन् ।


यी हुन् लाभांश घोषणा गरेका बैंकहरू

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त प्रस्ताव केन्द्रीय बैंकले उक्त प्रस्ताव स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सेञ्चुरी बैंक

सेन्चुरी कमर्शियल बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

बैंक अफ काठमाडू

बैंक अफ काठमाण्डूले आर्थिक वर्ष ७८/७९ को लागि २०.९५ लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको  सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको कुल २० दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर समेत) गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ हुनेछ।

कुमारी बैंक

कुमारी बैंकले १२.५०५ प्रतिशत लाभांश दिने भएको छ। बैंकको २२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १२.५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित पश्चात आफ्ना सेयरधनीलाई १२.५०५ नगद लाभांश बैंकमा खातामा पठाउन सुरु गरेको छ । बैंकले साधारण सभा सम्पन्न भएकै दिनबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरेको हो।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय बैंकको सञ्चालक समितिको बैंठकले गरेको हो । बैंकले यस वर्षको लाभांश गत वर्षको भन्दा कम हो । अघिल्लो वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो । इन्भेष्टमेन्ट बैंक मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ।

प्रभु बैंक

प्रभु बैंकले आव २०७८/७९ को लागि ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

मेगा बैंक

मेगा बैंकले आफ्ना सेयर धनीलाई गत वर्षको नाफाबाट कूल ७.८३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश दिने तयारी गरेको छ । गत वर्ष मेगाले १२.०७ प्रतिशत बोनस सेयर दिएको थियो । मेगा बैंक इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान लागेको छ।

ग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमईले आफ्ना सेयर धनीहरूलाई गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल ग्लोबल आइएमई बैंक अफ काठमान्डूसँग मर्ज गर्ने तयारीमा रहेको छ ।

स्ट्याण्डर्ड चार्टड बैंक

स्ट्याण्डर्ड चार्टड बैंकले गतवर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैकले यस वर्ष आफ्नो लाभांश बढाएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने स्ट्याण्डर्डले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिएको थियो । 

एनसीसी बैंक

नसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३.३६६ प्रतिशत बोनस सेयर र ७.६३३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । एनसीसीले अघिल्लो आर्थिक वर्ष ८.४२ प्रतिशत लाभांश दिएको थियो । एनसीसी बैंक कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ।

सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश दिने जनाएको छ । सानिमाले यस वर्ष लाभांश घटाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १७.८९ प्रतिशत लाभांश दिएको थियो । 

सिटिजन्स बैंक

सिटिजन्स बैंकले पनि आफ्ना सेयरधनीलाई यस वर्ष ९ प्रतिशत नगद लाभांश दिँदैछ । गत वर्ष बैँकले १२.९१ प्रतिशत बोनस सेयर र ३.०८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

नेपाल इन्फ्राष्ट्रक्चर बैंक

नेपाल इन्फ्राष्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट नगद लाभांश दिएको छ। बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कर प्रयोजनका लागि आवश्यक रकम पनि सोही लाभांशबाट कट्टा गरिने बैंकले जनाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षसम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट ८ प्रतिशत बोनस सेयर दिएको थियो । तर यस वर्ष भन्दा आधाले लाभांश घटाएको हो ।

सिद्धार्थ बैंक

सिद्धार्थले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूको खातामा पर्नेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले बोनस सेयर भने नदिने भएको छ । बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 


Author

थप समाचार
x