बैंक-वित्त

११ करोड बचत फिर्ता गर्ने भन्दै तीन महिनादेखि बन्द सहकारी खुल्यो

इकागज |
पुस ४, २०७९ सोमबार १८:५८ बजे

फाइल फोटो

काठमाडौँ - तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो । 

बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमित खोलेर कारोबार गरिने प्रतिबद्धता जनाउनु भएको छ । 


सहकारीको काम गर्न जिम्मेवारी दिएका कर्मचारी जिम्मेवारी नलिई हिँडेपछि समस्या आएको बताउँदै उनले नयाँ कर्मचारी नियुक्त गरेर काम थालिएको सुनाए । बचतकर्ता सबैको साँवा, ब्याजसहित फिर्ता गरिने सहकारीको प्रतिबद्धता छ ।
  
सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भए पनि कार्यालय खोलेर कारोबारसहित बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि खुसी लागेको बचतकर्ता उमेश खतिवडाले जानकारी दिए ।  

सकारात्मक सोच लिएर कार्यालय खोलेपछि हामीले पनि सहयोग गर्न थालेको बचतकर्ताको भनाइ छ । पटक–पटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दसैँपछिदेखि त कार्यालय नै खुल्न छोडेकामा गत हप्तादेखि कार्यालय खुल्न थालेपछि बचत फिर्ता हुने आशा पलाएको खतिवडाले सुनाए । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले गुनासो गर्दै आएका छन् । 
 
सहकारीले करिब रु ११ करोड बचत फिर्ता गर्नुपर्ने छ । बजारमा रु सात करोड ऋण लगानी रहेको अध्यक्ष लामाले बताए । रु पाँच करोडको घर सहकारीका नाममा छ । शेयर सदस्यको शुल्क रु एक करोड गरी रु १३ करोडको पुँजी रहेको पनि उनको भनाइ छ । आगामी पुस ९ गते सहकारीले आफ्नै भवनमा साधारणसभा बोलाएको छ ।
 
सहकारीमा लामा २०७५ सालदेखि अध्यक्ष छन् । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गरेका थिए । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएका हुन् ।  

सहकारीको अहिले रहेको करिब रु सात करोड ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको उपाध्यक्ष विजय तामाङले जानकारी दिए । रासस


Author

थप समाचार
x