बैंक-वित्त

बाह्य क्षेत्र र वित्तीय स्थायित्व कायम नगर्दासम्म मुलुकमा दिगो आर्थिक विकास हुन सक्दैनः गभर्नर अधिकारी

इकागज |
पुस २४, २०७९ आइतवार १५:२५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रको स्थिरता र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन् । 

आइतबार बैँक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र वाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका हुन् । 


उनले पछिल्लो समय विश्वका अधिकांश मुलुकमा वाह्य क्षेत्रको मन्दी देखिएको बताए । गभर्नर अधिकारीले विश्वमा देखिएको वाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उल्लेख गरे । 

उनले विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै नेपालमा पनि केही मिल्दा असरहरू देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौती रहेको बताए । उनले नेपालको यो वर्षको मुख्य चुनौती भनेकै वाह्य क्षेत्रलाई स्थिरतामा राख्नु भएको भन्दै सम्बन्धित निकायहरूले त्यही अनुसार काम गर्न आवश्यक रहेको बताए । गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि सङ्कुचित भएको बताए । उनले सन् २०२३ मा झनै घटेर २.७ प्रतिशतमा संकुचन आउने प्रक्षेपण रहेको बताए । 

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा आएको मन्दीको बाछिटा नेपालमा समेत आएको बताए । 


Author

थप समाचार
x