बैंक-वित्त

कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता : गभर्नर अधिकारी

इकागज |
माघ ७, २०७९ शनिबार १५:५० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् ।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरूबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रूपमा बैंकबाट लिएको कर्जा तिर्नु पदैन भन्नु अराजकताको माथिल्लो रूप भएको बताएका हुन् । उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रूपमा दबाब दिन नमिल्ने उल्लेख गरे ।


गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतिहरू देखिएको जिकिर गरे । उनले बैंकको कर्जा सार्वजनिक सम्पति, सर्वसाधारणको निक्षेप भएको पनि बताए । उनले वाणिज्य बैंकहरूको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने उल्लेख गरे ।

व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने उनकाे दाबी छ । गभर्नर अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक यो विषयमा सतर्क र सजग रहेको उल्लेख गरे । उनले यस्ता चुनौतीहरूले समग्र बैंकिङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन र व्यथिति ल्याउने बताए ।

उनले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ? भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क रहेको भन्दै यस्ता अभियान र संघर्ष लामो समय नटिक्ने बताए ।

त्यस्तै गभर्नर अधिकारीले बैंकहरूलाई अहिलेको आधुनिक युक्त उपभोक्ताहरूको आवश्यकता पूर्ति गर्नुपर्ने चुनौती रहेको धारणा राखे । उनले २०४५ सालमा सीमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिले डिजिटल आधुनिक प्रविधिमा आइपुगेको बताए । बैंकहरूले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् आफैँले मूल्याङ्कन गर्नु आवश्यक रहेको उल्लेख गरे ।

उनका अनुसार पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको छ । २५ अर्बको कारोबार क्नेटआइपीएसबाट मात्रै भइरहेको छ । नेपाली समाज अहिले त्यो प्रविधिमैत्री बनिसकेको भन्दै बैंकहरूको चुनौती प्रविधिमैत्री नभइ उपाय नभएको उनले बताए ।

उनले बैंकहरूले डिम्याट, मेरो सेयरमा मात्रै सीमित रहेर नहुने जिकिर गरे ।


Author

थप समाचार
x