बैंक-वित्त

सहकारी सञ्चालकको मनपरी : बचतकर्ताको रकम जोखिममा

चन्द्रकान्त खनाल |
माघ २१, २०७९ शनिबार १९:३८ बजे

रूपन्देही- रूपन्देहीमा रहेका सहकारीहरू पछिल्लो समय एक पछि अर्को संकटमा फस्दै गएको पाइएको छ। रूपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुप्रिम, आगन्तुक सहकारीहरूमा हाल बचतकर्ताहरूले रकम निकाल्न नपाएको चरम समस्याहरू बाहिर आएको छ।

लुम्बिनी प्रदेश सहकारी विकास बाेर्डको उपाध्याक्ष टिकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा आएका केही सहकारीहरूमा समस्या देखिएकाले सरकार कानुनी प्रकृया अगाडि बढाएको बताए। सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक एक कार्यक्रममा बोल्दै पोखरेलले सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकहरूको चलखेलले गर्दा यस्तो समस्या देखिएको बताए।


उनले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिँदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सकृयताले मात्र समाधान गर्न सकिने बताए। उनले भने, 'त्यसका लागि हामीहरू गृहकार्यमा छौं, छिट्टै देखिने गरी काम गर्ने छौं।'

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको अनुभव सुनाउँदै आफू आएको दुई महिनामा ५० भन्दा धेरै सहकारीमा प्रत्यक्ष पुगेर कतिपय सहकारीलाई सुधार गर्न निर्देशन दिएको यद्यपी नमानेमा कानुनी दायरमा ल्याइने खवरदारी गरेको बताए। सहकारी मूल्यमान्यता पालना नगरेको, गलत लेखा परीक्षण गरी सहकारी चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको उल्लेख गरे। उनले सहकारी उत्पदानमूलक काम गर्नु साटो पैसाको किनबेचमा लागेको सहकारी समस्याग्रत देखिएको बताए।

प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दाबी गर्दै कारोबारी सदस्य बनाएका सहकारीहरूमा समस्या रहेको बताए। अध्यक्ष नेपाले भने, '२०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि आर्थिक अपारदर्शिता कारण यस्तै समस्या हामीकहाँ आयो। हामीले त्यसको बारेमा अनुगमन गरी नागरिकको पैसा फिर्ता गर्न तर्फ सफल भयौं।' त्यसैले अहिले बजारमा आएको समस्या हल गर्न कुनै काम बाँकी नराख्ने भन्दै सहकारी सञ्चालकलाई यथाशिघ्र समस्या समाधानमा लाग्न उनले आग्रह गरे।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै, वित्तीय अनुसाशन पालना नहुँदा, अनुपातमा बचत संकलन गरी ऋण एकल रूपमा बढी गरेकाले सहकारीहरू धरापमा पर्न थालेको बताए। सहकारी सञ्चालनका लागि बाहिरी ऋण लिने चलन रहेको र क्षमता भन्दा बढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न नसकेको रहस्य खुलाए।

जिल्ला सहकारी संघ रूपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहुदा आर्थिक सुशासन कार्यान्वयन नहुँदा सहकारीमा बथिति भएको बताए। जसले गर्दा नागरिककाे पैसा जोखिममा पर्न नदिनका लागि अब आफूहरू चुप लागेर नबस्ने उनको भनाइ छ।

बुटवल उपमहानगरपालिका अन्तरगत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको बताए। प्रमुख खनालले भने, 'उपमहानगरमा ६० हजार सेयर सदस्य रहेको र ७ अर्ब ४० करोड लगानी भएको समेत रहेको छ।'

उनले कृषि बहुउद्देश्य सहकारी १२ वटा ग्रामिण क्षेत्रमा रहेको जनाउँदै बजार क्षेत्रमा कुनै सहकारी दर्ता नगरेको उल्लेख गरे।

तिलोत्तमा सहकारी संघका प्रमुख कृष्ण पाण्डेले तिलोत्तमा नगरभित्र अन्य सहकारीहरूमा कुनै समस्या नभएपनि नगरभित्र रहेको एक कल्पवृक्ष सहकारीमा समस्या रहेको पाइएको बताए।

शिव शिखर सहकारीबाट पीडित बनेका यज्ञ सापकोटाले नियमन निकायमाथि आक्रोस पोख्दै सहकारीहरूले यसैगरी नागरिकको पैसा नदिएमा प्रेम प्रसाद आचार्य जस्तै गरी सहकारी कार्यालय अगाडि गएर  धेरैले आत्मदाह गर्न बाध्य हुने दिन आउन सक्ने बताए

उनले आफूले १० हजार रुपैयाँ समेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको भन्दै सो सहकारी एउटा डिपाटर्मेन्ट स्टोर सञ्चालन गरेको र पैसा लिन जानेहरूलाई सामान हात लगाइने गरेको बताउँदै बजार मूल्यभन्दा अत्यधिक कालोबजारी मूल्यमा लादेको आरोप लगाए।

नेपाल पत्रकार महासंघ रूपन्देहीका सल्लाहकार दिनेश पाण्डेले काठमाडौँ मोडेल नामको बुकलेट शुत्र अनुसार चल्दा केही सहकारीहरूले नागरिकको पैसा जोखिममा रहेको स्पष्ट पारे। उनले सहकारीहरूमा बेथितिहरू नियन्त्रण गर्न छिट्टै कार्यदल गठन गरी समस्याको समाधान गर्न सुझाव दिए।

लुम्बिनी प्रदेशमा २०७७ को तथ्यांक अनुसार ३ हजार ७५५ सहकारीले ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब सेयर पुँजी रहेको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x