बैंक-वित्त

कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन : पूर्वगभर्नर क्षेत्री

इकागज |
फागुन ९, २०७९ मंगलबार २०:३७ बजे

फाइल तस्बिर

गोरखा- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका छन् ।

नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आज आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले कसैले भन्दैमा कर्जा मिनाहा नहुने बताएका हुन् । पूर्वगभर्नर क्षेत्रीले बैंकिङ क्षेत्रमा तरलताको समस्या देखिएको अवस्थामा पनि लघुवित्त संस्थाले ब्याजदर वृद्धि नगरी सेवा प्रदान गर्नु सकारात्मक कार्य भएको टिप्पणी गरे ।


उनले ऋणीले जुन प्रयोजनका लागि काम गर्ने हो भनेर ऋण लिएका छन् सोही प्रयोजनअनुसार काम गर्ने हो भने ऋण तिर्न र किस्ता बुझाउन समस्या नहुने बताए । 'कर्जाको सही सदुपयोग हुने अवस्था आउने हो भने धेरै समस्या नै आउँदैन,' पूर्वगभर्नर क्षेत्रीले भने, 'कर्जाको उचित सदुपयोग गर्नेतर्फ ऋण लगानी गर्ने संस्था र ऋणी दुवै सचेत हुनुपर्छ ।'

उनले लघुवित्तका ग्राहक सदस्यलाई कर्जाको सही सदुपयोग गर्न अनुरोध गर्दै कर्जा दुरुपयोग गर्दा लगानी डुब्ने अवस्था आउने बताए । त्यसबाट सदस्यले कठिनाइ तथा कानुनी झमेला बेहोर्नुपर्ने भन्दै उनले सचेत हुनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक नविना ढकालले लघुवित्तले ग्रामीण अर्थतन्त्र उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्जाको किस्ता नतिर्ने भनी लघुवित्तविरुद्धको सङ्घर्ष समितिको पछाडि नलाग्न ग्राहक सदस्यलाई आग्रह गरे । उनले आफ्नो कारोबार नबिगारीकन अनुशासित सदस्यका रूपमा आफूलाई परिचित गराउन लाग्नुपर्ने भन्दै लघुवित्तले नीति विपरीत कार्य गरे कानुनी उपचार खोज्न सुझाव दिए ।


Author

थप समाचार
x