बैंक-वित्त

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छः मन्त्री राई

इकागज |
फागुन १४, २०७९ आइतबार १४:५५ बजे

काठमाडौँ - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । 

उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताए । उनले सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बद्मास गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए । 


 मन्त्री राईले सहकारीहरुले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताए । उनले ३० हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमास नगरेको दाबी गरे । उनले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गरे । उनले ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताए । उनले सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरुले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘सबैले धेरै पैसा कमाएर धनी हुनुपर्छ तर मुलुकको कानुनी सीमामा रहेर हुनुपर्छ । कानुन भन्दा  बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो । मुलुक हल्लैहल्लाको देश हो । केही ठूला सहकारीहरू विधिभन्दा बाहिर गयो होला । ग्रामीण क्षेत्रका सहकारीहरूले राम्रो काम गरेका छन् । ३० हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भएपनि अन्यले गरेका छैनन् । तर सहकारी सकियो भने हल्ला बढी भयो । हल्ला होइन काम गर्ने हो । सहकारीका कहाँ कहाँ समस्याहरु छन् । त्यहाँबाट निराकरण गरेर बदमासी गर्नेहरूलाई कारबाही प्रक्रिया अगाडि बढाए भयो । हल्लाको कारण मानिसहरूले सहकारीलाई नराम्रो भन्न थालेका छन् । सहकारीले राम्रो काम गरेको छ । ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान गरेको छ । आयोगहरू धेरै बन्छ । आयोगले निष्कर्ष निकाल्छ कार्यान्वयन हुँदैन । सहकारीमा भएका समस्या र समाधानका विषयमा लिपिबद्ध गरेर म भएको ठाउँमा ल्याउनुस् । म समस्याको समाधान गर्न तयार छु । सहकारीको समस्या समाधानको लागि सबै जना लाग्नुपर्छ । सरकार सहकारी क्षेत्रमा भएका समस्या समाधान गर्न तयार छ । तपाईंहरु ढुक्क हुनुस् समाधान गर्न तयार छु । समाधान हुन्छ । तर ढिला नगर्नुस्​।’

त्यस्तै,मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बचतकर्ताको वचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको बताए । उनले सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासंघ, सहकारीका प्रदेश जिल्ला र विषयगत संघलाई समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिएको बताए । उनले अहिलेसम्म बचतकर्तालाई माग दाबी गरेको एक अर्ब ४४ करोड रकममध्ये ४० करोड रकम फिर्ता गरिसकेको बताए । उनले  समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल–अचल सम्पति रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको बताउनु भयो । उनले कानुनको परिपालन नगर्ने र बचतकर्ताको वचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही गर्ने बताए । 

सचिव रेग्मीले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानुनको दायरामा ल्याउनु आवश्यक रहेको बताए । 


Author

थप समाचार
x