बैंक-वित्त

'२० लाखभन्दा बढी ऋण चारदेखि पाँच प्रतिशत ब्याजदरमा दिनुपर्छ'

इकागज |
फागुन १६, २०७९ मंगलबार १८:४७ बजे

फाइल फोटो

काठमाडौँ - अहिले बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्न राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानले सरकारसँग आग्रह गरेको छ । 

अहिले बैंक तथा वित्तीय संस्थाका ऋणी कर्जा तिर्न सक्ने अवस्थामा नरहेकाले नियामक र सरकारबाट यसको उचित व्यवस्थापनका लागि महाभियानले माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुल गर्ने गरेका कारण ऋणीहरु समस्यामा परेकाले ब्याजदर घटाइनुपर्ने माग छ ।


'रु २० लाखभन्दा बढी ऋण चारदेखि पाँच प्रतिशत ब्याजदरमा दिनुपर्ने, निक्षेपको ब्याज छ प्रतिशतभन्दा बढी हुन नहुने, सरकारी संघसंस्थाको पुँजी शून्य प्रतिशत ब्याजदरमा बैंकमा राख्नुपर्ने र धितो लिलाम गरिएका ऋणीको कर्जा पुनःसंरचना गरिनुपर्छ', महाभियानका संयोजक दुर्गा प्रसाईले भने । नेपालमै रोजगारको प्रत्याभूति गर्नुपर्ने माग पनि महाभियानले राखेको छ । 

'उच्च शिक्षा  हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालय खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने, बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराउनुपर्छ', प्रसाईले भने । 

कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले भने, 'वर्तमान समयमा व्यापार व्यवसायी चर्को ब्याजदरको मारमा छन् । ब्याजदर घटाउनु पर्छ । मुलुकमा व्यापार व्यवसायतर्फ आकर्षित युवालाई हतोत्साहित बनाउनु गलत हो ।'

महाभियान कुनै पार्टी र व्यक्ति विरोधी नभई नागरिकका वर्तमान समस्यालाई कदर गरी मुलुकभित्र शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर उपलब्ध गराई स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले १५बुँदे मागसहित महाअभियान सञ्चालन गर्ने आयोजकले जनाएको छ । 
रासस


Author

थप समाचार
x