बैंक-वित्त

बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धराशायी हुन्छ : अध्यक्ष मल्ल

इकागज |
चैत ९, २०७९ बिहीबार १८:४१ बजे

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धराशायी हुनसक्ने बताएका छन् ।

बिहीबार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धराशायी हुनसक्ने बताएका हुन् । उनले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने उल्लेख गरे ।


अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनका लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नैपर्ने तर्क राखे । उनले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोबारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताए ।

मल्लले बजारमा तरलता अभावका कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नका लागि डिजिटलाइजेसन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताए । उनले बैंकहरूले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरूमाथि पक्षपात गरिरहेको आरोप लगाए ।

उनले नेपालमा इटालीको आवासीय राजदूतावास बन्न नसक्दा दुई देशबीचको व्यापार विस्तार हुन नसकेको बताए । उनले सरकारले दुई देशबीच व्यापार बढाउनका लागि इटालीको आवासीय राजदूतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताए ।


Author

थप समाचार
x