बैंक-वित्त

एफएनसीसीआईको सिफारिसमा साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा

इकागज |
साउन ३२, २०७८ सोमबार १९:१३ बजे

विराटनगर - बैंकिङ क्षेत्रमा पहुँच नभएका साना तथा सुरुवाती अवस्थामा रहेका नयाँ युवा व्यवसायी एवं अपांगता भएका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउन नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश-१ समिति र ग्लोबल आइएमई बैंकबीच समझदारी भएको छ । सोमबार महासंघ प्रदेश समितिका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका प्रदेश कार्यालय प्रमुख सुवास सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कर्जा सुविधा अन्तरगत महासंघ आवद्ध भएका तथा सिफारिस गरेका व्यवसायीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी लिखित सिफारिसका आधारमा बैंकका प्रदेश-१ भरिका सवै शाखाले छिटो र छरितो रूपले कर्जा प्रदान गर्नुपर्नेछ । बैंकले नेपाल राष्ट्र बैंकले प्रदान गर्ने विभित्र प्रकारका सहुलियतपुर्ण कर्जा तथा पुनरकर्जा व्यवसायीको योग्यताका आधारमा उपलब्ध गराउने छ । 


त्यसरी सिफारिस प्राप्त भएका व्यवसायीहरुलाई कर्जा दिंदा चलेको व्याजदरमा ०.५० प्रतिशत प्रिमियम छुट र सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिन सकिनेमा बैंक सहमत भएको हो । त्यसरी कायम गरिएको ब्याजदर भने बैंकको बेस रेटमा न्युनतम १ प्रतिशत प्रिमियम थपपछि हुने ब्याजदर हो । त्यस्तै अपाङ्गता भएका व्यवसायीलाई ब्याजदरमा १ प्रतिशत प्रिमियम र ०.५० प्रतिशत सेवा शुल्क छुट दिने सम्झौता भएको जनाइएको छ ।

त्यसैगरी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नसक्ने कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गर्ने, फर्म कम्पनीहरूलाई क्युआर कोड, पीओएस. मेशिन, लकर सुविधा, डेबिट एवं क्रेडिट कार्ड, मोबाइल स्मार्ट र इन्टरनेट बैंकिङ लगायतका सुविधा सहज रूपमा उपलब्ध गराउने पनि सम्झौता भएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।

महासंघले पनि आफ्ना सदस्य व्यवसायीलाई ग्लोबलसँग कारोबारका लागि प्रोत्साहित गर्ने लगायत बैंकिङ कारोबारमा हुने अप्ठेरोमा समन्वय गर्ने प्रतिबद्धता जनाएको छ । समझदारी हस्ताक्षर कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय राजेन्द्र राउत, अविनाश बोहरा, प्रदेश उपाध्यक्ष भीम पौडेललगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x