बैंक-वित्त

३० वर्षे बैंकिङ्ग करिअरबाट बिदा भए भुवन दाहाल

इकागज |
माघ ११, २०७८ मगलवार २०:१९ बजे

काठमाडौँ– बैंकिङ्ग करिअरमा ३० वर्ष बिताएका भुवनकुमार दाहाल सानिमा बैंकको सीईओका रूपमा दुई कार्यकाल (८ वर्ष) सेवा गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकबाट बिदा भएका छन् । सानिमा बैंक सञ्चालक समितिका अध्यक्ष टुकप्रसाद पौडेल, संस्थापक जीवा लामिछाने, सीईओ निश्चलराज पाण्डे, तथा ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मंगलबार दाहाललाई बिदाई गरेका छन् । 

वाणिज्य बैंकको तल्लो तहको कर्मचारीदेखि सबैभन्दा माथिल्लो पद प्रमुख कार्यकारी अधिकृत सीईओ भएर काम गरेका उनले यसैबीचमा बैंकहरूको छातासंस्था नेपाल बैंकर्स संघको नेतृत्वमा पनि रहे ।


सानिमा बैंकको सीईओको रूपमा आठ वर्ष काम गरेका दाहालले नेपाल राष्ट्र बैंकले तोकेको दुई कार्यकालभन्दा बढी एउटै बैंकमा सीईओ बन्न नपाउने नियामकीय व्यवस्थाका कारण अवकाश लिएका हुन् । उनलाई अब अन्य कुनै संस्थामा व्यवस्थापन प्रमुख भएर काम गर्ने रूचि छैन । ‘तीस वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरियो । अब स्वतन्त्र जीवन बिताउने हो,’ उनले भने । 

स्वतन्त्र रूपमा अध्ययन, अनुसन्धानको काममा सक्रिय हुने साथै सञ्चालकको भूमिकामा वित्तीय क्षेत्रमा रहन सक्ने सम्भावनालाई भने उनले नकारेका छैनन् । सानिमा बैंकको सञ्चालक समितिले दाहालपछि निश्चलराज पाण्डेलाई सीईओको जिम्मेवारी दिइसकेको छ । 

सन् १९९१ मा नबिल बैंकको असिस्टेन्टबाट बैंकिङ्ग करिअर शुरु गरेका दाहालले उक्त बैंकमा २२ वर्ष काम गरेर सन् २०१३ मा उक्त बैंक छाडेर सानिमा बैंकको डेपुटी सीईओ बने । नबिल बैंकमा उनको करिअर ग्रोथ राम्रो थियो । सुरुवाती दिनमा उनले नबिल बैंकको विराटनगर शाखामा काम गरेका थिए । नबिल बैंक छाड्दा उनी सीएफओ (चिफ फाइनान्सियल अफिसर) थिए । 

दाहालको नेतृत्वमा सानिमा बैंक एक अब्बल बैंक बन्न सफल भएको छ । यो दौरानमा उनले नेपाल बैंकर्स एसोसिएसनकातर्फबाट नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका विभिन्न समितिमा सक्रिय रहेर नीति निर्माणमा सहयोग पनि गरेका छन् । 

बैंकिङ्ग करिअरमा आउनुअघि दाहाल संसद सचिवालयमा काम गर्थे । दिनभर फुर्सदीलो हुने, खासै काम नै गर्नुनपर्ने भएपछि उनलाई संसद सचिवालयको त्यो काममा रूचि लागेन । यसैबीचमा उनले नबिल बैंकले खुलाएको ‘भ्याकेन्सी’मा आवेदन गरे र जाँच दिए । नबिल बैंकमा शुरुवातमा उनले विराटनगरमा काम गरेका थिए । 

दाहालको नेतृत्वमा सानिमा बैंकले बैंकिङ्ग क्षेत्रमा नयाँ उचाइ पाएको छ । विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको सानिमा बैंक अहिले हरेक सूचकमा अब्बल देखिन्छ । कर्मचारीहरूलाई समान रूपमा व्यवहार गर्नेदेखि तलब सुविधामा पनि ठूलो बदलाब आएको छ । राम्रो तलब सुविधा दिने बैंकमा अहिले सानिमा बैंक २७ बैंकमध्ये सातौं नम्बरमा आउँछ, वाणिज्य बैंकमा स्तरोन्नति हुँदै गर्दा यो १९औं नम्बरमा थियो । 

सेयरधनीलाई दिने प्रतिफल (रिटर्न अन इक्विटी)मा सानिमा बैंक एनआइसी एसियापछि दोस्रो श्रेणीमा आउँछ । त्यस्तै, बैंकको निक्षेपको आधार पनि निकै बलियो देखिन्छ । कुल निक्षेपमध्ये ६७ प्रतिशत व्यक्तिगत निक्षेप रहेकोले पनि संस्थागत निक्षेप घट्दा–बढ्दा त्यसले अत्याउने र ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपरेको छैन ।

त्यस्तै, कर्जा असुली (रिकोभरी)मा पनि सानिमा बैंक अब्बल रहेको छ । बैंकको खराब कर्जा ०.१२ प्रतिशत छ । वाणिज्य बैंकहरूमध्येमा सानिमा बैंक निक्षेप आधारमा १७औं र कर्जा परिचालनमा १६औं स्थानमा छ  भने बढी नाफा आर्जन गर्नेमा १४औं नम्बरमा छ ।

सानिमा बैंकलाई यो उचाइमा ल्याउन व्यवस्थापनको सिङ्गो टीम र सञ्चालकहरूलाई जस दिन्छन्, दाहाल । ‘यो सामूहिक सफलता हो, टिम–वर्क भएन भने एउटामात्र व्यक्तिले परिणाम दिन सक्ने स्थिति हुँदैन,’ उनले भने । सानिमा बैंकबाट अवकाश लिएपछिको समय के गर्ने त भन्ने प्रश्नमा उनी भन्छन्, ‘अब घरपरिवारलाई समय दिन्छु । अध्ययन–अनुसन्धान तथा लेखनको काममा लगाव छ, अब त्यतै सक्रिय हुनेछु ।’


Author

थप समाचार
x