बैंक-वित्त

बैंकहरूलाई पनि सातामा २ दिन बिदा, कार्यालय समय बढाइयो

इकागज |
बैशाख २८, २०७९ बुधबार १४:४८ बजे

काठमाडौँ - सरकारले शनिबार र आइतबार बिदा दिने भएपछि नेपाल राष्ट्र बैंकले पनि बैंकहरू २ दिन बिदा दिने निर्णय गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो। जेठ १ गते आइतबारदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले जेठबाट कार्यालय समय बिहान ९ः३० बजेबाट बेलुकी ५ः३० बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेबाट ४ः३० बजेसम्म कायम गर्न निर्देशन दिएको छ। यसैगरी जेठबाट बैंकिङ कारोबार समय बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ः३० बजेबाट अपराह्न ३ः३० बजेसम्म तोकिएको छ ।


सार्वजनिक बिदाबाहेक २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

यसअघि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।

राष्ट्र बैंकका गभर्नरको बुधबारको स्वीकृति बमोजिम बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

हप्ताको दुई दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनका लागि अभिलेख राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


Author

थप समाचार
x