ब्लग

ब्लग

मोटरसाइकलमा काठमाडौँदेखि रारासम्म- १

विष्णु विश्‍वकर्मा |
चैत १७, २०७७ मगलवार ८:५५ बजे

रारा सपनामा थियो । सयौँ पहाड चढेर टुप्पोमा पुग्‍नु जस्तो । पहाड चढ्नु सजिलो थिएन । पहाडमै जन्मिए पनि धेरै ठूला पहाड चढेको अनुभव मसँग थिएन । सानैमा गाउँघरका भीरपाखा चढेर घाँस काट्नु जस्तो सजिलो रारा यात्रा थिएन । त्यो पनि बाइकमा । मलाई डरलाग्दो बाटोमा बाइक चलाएको अनुभव झनै थिएन ।

दसैँमा महेन्द्र राजमार्ग भएर कर्णाली चिसापानीसम्म पुगेको थिएँ । ६ सय किलोमिटरको यात्रा मेरा लागि सबैभन्दा लामो यात्रा थियो । त्यतिबेला बिल्कुल नयाँ थिएँ । बाइक किनेको एक हप्तामै घर पुगेको थिएँ । यसपटक रारा जानु थियो । पहाडै पहाडको बाटो । पक्कीभन्दा कच्ची धेरै । सपनामा सजिएको रारालाई विपनामा भेट्टाउनु थियो ।


रारालाई आफ्नै आँखाले नियाल्नु थियो । आफ्नै हातका औँलाले स्पर्श गर्नु थियो । अञ्जुलीमा राराको पानी राखेर स्वर्गकी अप्सराको आकृति देख्नु थियो । त्योभन्दा बढी हामीलाई कर्णाली हेर्नु थियो । रारा कर्णालीको प्रतिनिधि पात्र मात्र हो । सुन्दरताका अनेकौँ चित्र कर्णालीमा कति छन् कति ! जो फाट्टफुट्ट हेरिए पनि गहिराइमै पुगेर कमैले देखेका छन् । हामीलाई कर्णालीको गहिराइमा पुगेर हेर्नु थियो । जसको प्रतिनिधित्व राराले गरिरह्यो ।

दुःखले भरिएको । पहाडले घेरिएको । विकटताले थिचिएको । सम्भावनाले हेरिएको । अवसरले पर्खिरहेको । तर जहिल्यै अँध्यारो कर्णालीको मात्रै चित्र कोरिएको वास्तविकता हेर्न हामी रारा जाँदै थियौँ । फागुन पहिलो हप्तादेखिको योजनालाई बिस्तारै मूर्त रुप दिन थाल्यौँ । कर्णाली कसरी हेर्ने ? रारा कसरी घुम्‍ने ? कर्णाली र राराभित्रका वास्तविकता कसरी खोतल्ने ? यिनै प्रश्नभित्र हाम्रा दिन बित्‍न थाले ।

पत्रकारिताको विद्यार्थी भएकाले हरेक पाइलामा प्रश्न हुन्थ्यो । यसपटक आफ्नै मनभित्रका प्रश्नको जवाफ खोज्‍न कर्णाली पुग्‍ने हाम्रो धोको थियो । अनामनगरको चियागफमा रारा जाने सपना बुनिएको हो । त्यतिबेला शसिन्द्र गौतम र मबीच मात्रै कुरा भएको थियो । उहाँ उमेरले सिनियर हुनुहुन्छ । म दाइ भन्छु । सुरुमा दुई जना मात्र रारा जाने योजनामा थियौँ । पछि चार जना भयौँ ।

केही नयाँ, थोरै लामो र पृथक् यात्रा गर्नेक्रममा हामीले रारा गन्तव्य छान्यौँ । रारा पहिलेजस्तो महँगो थिएन । सपना नै भए पनि असम्भव होइन । अचेल एक दिनमै रारा पुग्‍न सकिन्छ । काठमाडौँदेखि नेपालगञ्ज । नेपालगञ्जदेखि मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट ६ किलोमिटरको यात्रामै रारा पुगिन्छ ।

हामीले महँगो हवाई यात्रा लत्यायौँ । सजिलो बाटो छाड्यौँ । जोखिमपूर्ण बाइक यात्रा रोज्यौँ । फागुन तेस्रो हप्ता काठमाडौँबाट हिँड्ने योजना थियो । तर छिटो फर्किनुपर्ने भएपछि छिटो हिँड्नुपर्ने भयो । त्यसो भए कहिले हिँड्ने ? फागुन २१ गते ! मैले सोचेँ । झण्डै एक महिना कर्णाली नियाल्ने हाम्रो योजना थियो । प्राविधिक कारणले दुई हप्तामा सीमित भइदियो ।

त्यसो भने छिटो हिँड्ने ? जाने दिन नजिकै आउँदा हामी प्रश्न गर्न थाल्यौँ । फागुन १९ गते बिहीबार । बिहान ४ बजे पक्का । शसिन्द्र दाइले भने । उज्यालो रेडियो नेटवर्कमा सँगसँगै काम गर्दा पाँच वर्षअघि हामी साथी बनेका थियौँ । आफ्नै सुरमा हिँड्ने योजनाअनुसार हाम्रो रारा सपनामा थप दुई जना भित्रिए ।

प्रह्लाद अधिकारी र लोकेन्द्र विश्वकर्मा । दुईवटा बाइकमा चार जना । रारा सपनासँग हाम्रा अरु केही महत्वपूर्ण परियोजना थिए । जसलाई कार्यान्वयन गर्न हामी कर्णाली जाँदै थियौँ । रारा पुग्‍ने भएपछि क्यामेरा तयार पार्यौं । क्यामेराले मात्रै नपुग्‍ने भएपछि ड्रोनको खोजीमा लाग्यौँ । न्युरोड, बबरमहल दुई ठाउँमा ड्रोन हेरेपछि अलमलमा पर्‍यौँ । हामी जोखिमपूर्ण बाइक यात्रा गर्दै थियौँ । ड्रोन कसरी सुरक्षित रुपमा लैजाने ? भन्‍ने प्रश्नले घोच्यो ।

त्यसमाथि प्रशासनको अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रिया । ड्रोन लिए पनि त्यसलाई सकुशल उडाउने र आफ्नो योजनाअनुसार काम गर्ने पाटो झन् सहज थिएन । यसले हाम्रो दिमाग हल्लायो । डेढ लाखदेखि दुई लाखसम्मको ड्रोन लिएर प्रशासनले झन्झट दिने भएपछि ड्रोन योजना कमजोर बन्‍न थाल्यो ।

सकेसम्म नयाँ नसके भाडामा भए पनि ड्रोन लिने योजनाअनुसार दुई चार जनासँग सोधपुछ पनि गर्‍यौँ । तर सोचेजस्तो थिएन । बाइकको यात्रामा ड्रोन सुरक्षित राख्‍नै पहिलो चुनौती थियो । बाइकको यात्रा यसै पनि चुनौतीपूर्ण भएकाले अर्को चुनौती बोक्न हामीले आवश्यक ठानेनौँ । जति सकिन्छ, क्यामेराबाटै काम गर्ने हाम्रो निष्कर्ष रह्यो ।

त्यसमाथि साथी कमल प्रसाईंको सुझाव पाएपछि हामीले ड्रोन सपना त्याग्यौँ । यो रारा हिँड्नु अघिल्लो दिनको कुरा हो । कपडा, झोला, क्यामेरा, ट्राइपोर्ड सबै सामान प्याक गर्यौँ । झोला तयार थियो । क्यामेरा सबै खोलखाल पारेर हेर्यौँ । एकपटक जाँच गरेर सबै राम्रो छ भनेपछि प्याक गर्‍यौँ ।

क्यामेरापछि सबैभन्दा महत्वपूर्ण बाइक थियो । एउटा बजाजको पल्सर । अर्को यमाहाको एफजेड । दुवैमा किक थिएन । रारा हिँड्नु अघिल्लै दिन बाइक सर्भिसिङ गरायौँ । कन्डिसन सबै ठीक थियो । बाटोमा बाइकले दुःख नदेओस् भनेर सबै राम्रोसँग जाँच गरायौँ ।

बेलुकी ८ बज्यो । अफिसबाट सहजै अनुमति मिल्यो । प्रधानसम्पादक हरि सरले ‘बाइकमा रारा जाने ? राम्रोसँग बाइक चलाउनु है’ भन्नुभयो । समाचार सम्पादक चन्द्रशेखर सरले सुरक्षित यात्राको कामना गर्दै यात्रा रमाइलो रहोस भन्नुभयो । मन पुलकित भयो । चुनौति झन बढ्यो । 

राराका लागि बिहान ४ बजे काठमाडौँ छाड्ने योजना थियो । राती ११ बजेसम्म पनि निन्द्रा लागेन । रारा कस्तो होला ? बाइकमा कसरी जाने होला ? कसरी चलाउने ? बाटोमा केही भइहालेमा ? ओहो ! त्यो नसोचौँ । रारा जानु मात्रै थिएन । बाइक चलाउनु थियो । त्यो पनि रारासम्म एक्लै । त्यसो भने त निदाउनुपर्छ । निद्रा नपुगे फेरि बाइक चलाउन समस्या हुन्छ । रारालाई सपनामा सजाएर मध्यरातमा निदाइयो ।

पहिलो दिन

ब्युझिँदा घडीमा २ बजेको थियो । राराको सपनाले सुत्न दिएन । २ बजेर १४ मिनेटमा निद्राले छाड्यो । धेरै टाढा जानु थियो । सबै ठीकठाक गर्नु थियो । पहिला हातमुख धोएर बाइकमा झोला बाँध्‍ने काम भयो ।

कतै टाढा जान बाइकको साइडमा पहिलोपटक झोला बाँध्दै थिएँ । सुरुमा गाह्रो पर्‍यो । बीचमा खस्ने हो कि भन्‍ने पीर । डबल स्ट्यान्ड लगाएर तीनवटा डोरी लगाएर झोला बाँधियो । मध्यरातमा गेट खोलेर गल्लीमा झोला बाँध्दा आफैँलाई अनौठो महसुस भयो ।

 

 

एउटा झण्डाले यात्रा कति पृथक् हुन्छ भनेर हामीले मनभित्रबाट महसुस गर्‍यौँ । उसै पनि नेपाली झण्डा भन्‍नेबित्तिकै छातीमा छुट्टै गर्वको अनुभूति हुने । छाती चौडा बनाएर बाइकको एक्सिलेटर बढाउँदै हामी रारातर्फको यात्रामा अगाडि बढ्यौँ ।  

 

वरिपरिका छिमेकीले पनि अनौठो सोचे होलान् । बाइकको पछाडि भाइ लोकेन्द्रको सिट थियो । उसलाई अप्ठ्यारो नपर्ने गरी झोला बाँध्न एक घण्टा लाग्यो । झोला बाँधिसकेपछि शसिन्द्र दाइको फोन आयो । दाइले थलीबाट हिँड्ने सुरसार गर्नुभयो । भेट्ने केन्द्र भद्रकाली बन्यो । हामी भद्रकालीका लागि हिँड्यौँ । दुई हप्ताका लागि काठमाडौँ छाड्दै थियौँ । काठमाडौँमा दैनिकी बिताउन थालेको झण्डै दशक पुग्‍न लाग्यो । तर यसरी बाइकमा पोका पुन्तुरा बोकेर ‘बिरानो ठाउँ’का लागि हिँडेका थिएनौँ । 

आखिर हामी कस्तो यात्रा गर्दैछौँ ? पहिलो पटक आफैँलाई प्रश्न गरेँ । जोखिम थियो । सँगै रोमाञ्चकता पनि । केही उद्देश्य थिए । केही मनको रहर पनि । जे होस्, हामी एउटा सुन्दर यात्रामा निस्कँदै थियौँ । भद्रकाली मन्दिरलाई एक फन्को लगाएर हामी शसिन्द्र दाइ र प्रह्लादजीलाई कुर्‍यौँ । चार बज्‍नै लागेका बेला उहाँहरु आइपुग्‍नुभयो । सहिद गेटमा एक अर्कालाई नियाल्यौँ । प्रह्लादजीको हात बाइकको ह्यान्डिलमा थियो । शसिन्द्र दाइ पछाडि । दुवै जनासँग बाइक चलाएको लामो अनुभव थियो । 

यात्रा टाढाको थियो । दाइले बिस्तारै संयमित भएर बाइक चलाउन भन्‍नुभयो । म ढुक्क भएँ । सकेसम्म उज्यालो नहुँदै नागढुंगाको ओरालो कट्ने हाम्रो योजना थियो । बिस्तारै एक्सिलेटर बटार्दै हामी त्रिपुरेश्वर, कलंकी हुँदै नागढुंगा पुग्यौँ । 

नागढुंगामा ट्राफिक प्रहरी स्टयान्डबाई थिए । गाडीको जाँच भइरहेको थियो । हामी आफ्नो लेनबाट अगाडि बढ्यौँ । ट्राफिकले रोकेनन् । ओरालो सुरु भयो । नागढुंगा नाकाबाटै जाम थियो । काठमाडौँ भित्रिने गाडीको लाम थियो ।

बसभन्दा मालवाहक ट्रक धेरै । फुटब्रेक हान्दै हामी ओरालो झर्‍यौँ । झिसमिसे उज्यालोमा हामी गजुरी पुग्यौँ । कम्तीमा तीन घण्टा कुदेपछि तीस मिनेट ब्रेक लिने हाम्रो योजना थियो । यात्राको पहिलो ब्रेक लिन हामी गजुरीको एउटा खाजा पसलमा पस्यौँ ।

चिया, अण्डा, रोटी तरकारी खायौँ । खाजा खाएर निस्किँदा उज्यालो भइसकेको थियो । २५ मिनेटपछि हाम्रो यात्रा फेरि सुरु भयो । बाटो खुला थियो । हामीले स्पिड बढायौँ । गजुरीसम्म एभरेज ५० किलोमिटर प्रतिघण्टाको स्पिडमा हिँडेका हामी गजुरीपछि ६०-७० को स्पिडमा कुद्‌यौँ ।

अलि अगाडि पुगेपछि बाइकमा पेट्रोल हाल्यौँ । सडक नजिकैको चिया पसलमा सेल पाक्दै गरेको देखेपछि हामीले सेल खायौँ । चिया पनि पियौँ । फेरि यात्रा अगाडि बढायौँ । बिहान नौ बजेतिर हामी मुग्लिन पुग्यौँ । मुग्लिन चोक पुगेपछि केही बेर रोकियौँ । शसिन्द्र दाइ र प्रह्लादजी अगाडि हुनुहुन्थ्यो । मुग्लिनबाट नारायणगढतर्फ नजर लगायौँ । फर्किंदा पोखरा भएर फर्किने योजना बुन्यौँ । यसै पनि हामीलाई यात्रा केही पृथक् बनाउनु थियो ।

थोरै मात्र अगाडि बढेका थियौँ । प्रह्लादजी र शसिन्द्र दाइ मुग्लिन सडकको छेउमा बाइक रोकेर हाम्रो पर्खाइमा थिए । हामीले पनि बाइक रोक्यौँ । अनि सुरु गर्‍यौँ, फोटो सेसन । विभिन्‍न पोजमा फोटो खिचायौँ । 

तल त्रिशूली बग्दै थियो । माथि चट्टानी भिर थियो । त्रिशूलीको वहाबसँगै हाम्रो रारा घुम्ने सपना पनि मस्तिष्कमा दौडिन थाल्यो । केहीबेर आराम गरेपछि हामी फेरि अगाडि बढ्यौँ । बाटोमा नेपाली झण्डा राखेका थिए । रारा यात्रालाई सजिलै चिनारी दिन हामीले पनि झण्डा बोक्ने निर्णय लियौँ । बाइकमा झोला र झण्डा देखेपछि बाटोमा भेटिएकाले सहजै रारा हिँडेको ? भनेर थाहा पाउने रहेछन् । बाइकमा झण्डा राखेर हामी पनि यात्रामा अगाडि बढ्यौँ । 

बाटोमा भेटिएकाले रारा....रारा....रारा....भन्दा उत्साहित हुन्थ्यौँ । एउटा झण्डाले यात्रा कति पृथक् हुन्छ भनेर हामीले मनभित्रबाट महसुस गर्‍यौँ । उसै पनि नेपाली झण्डा भन्‍नेबित्तिकै छातीमा छुट्टै गर्वको अनुभूति हुने । छाती चौडा बनाएर बाइकको एक्सिलेटर बढाउँदै हामी रारातर्फको यात्रामा अगाडि बढ्यौँ ।  

                                                                                                                                                                                                           क्रमशः
(यति सह-यात्रा गरेपछि पाठक पनि थाक्नुभयो होला, आज आराम गर्दै गर्नुहोस् । नियात्राका थप रोचक दैनिकीहरु यहीँ आउनेछ, यात्रा पूरा नहुन्जेल साथ-सुझावका लागि अनुरोध छ है ।) 

 

र, यो पनि
- रारामा ‘स्वर्गकी अप्सरा’को बयान (फोटो फिचर)


Author

थप समाचार
x