ब्लग

पब्लिक एडम्निस्ट्रेसन : जन प्रशासन कि सार्वजनिक प्रशासन ?

सदिक्षा आचार्य |
साउन २२, २०७९ आइतवार १९:७ बजे

एक दिन इकागजको अफिसमा खाजा खाँदै गर्दा विमल आचार्य दाइले सोध्नुभयो, ‘बहिनी पब्लिक एडमिनिस्ट्रेसन भनेको जन प्रशासन कि सार्वजनिक प्रशासन ?’ मैले सहजै भनिदिएँ–जन प्रशासन । ‘सार्वजनिक प्रशासन पनि भन्छन् होइन र ?’ दाइले प्रतिप्रश्न गर्नुभयो । एकछिन् त म अलमलमा परेँ । यतिका वर्ष जन प्रशासन क्याम्पसमा अध्ययन गरेँ तर पढने बेलामा चाहिँ सार्वजनिक प्रशासन पढेँ । यसरी पब्लिक एडमिनिस्ट्रेसन भनेको जन प्रशासन हो कि सार्वजनिक प्रशासन हो भनेर ठ्याक्कै छुट्टयाउन सकिन । अनि एकैछिन जरा गाडेर बसेको मौनतालाई तोडेर भनेँ ‘खै दाइ, पुस्तक पढ्दा सार्वजनिक प्रशासन भनेर पढियो क्याम्पसमा जन प्रशासन क्याम्पस लेखिएको छ । सायद दुवैको अर्थ एकै होला कि ?’ 

म जन प्रशासन क्याम्पस पढेको प्रसंग निस्किएपछि विमल दाइले यो कुरा कोट्याउनु भएको थियो । मैले तत्काललाई दुवै एउटै त होला नी भनेर चित्त बुझाए पनि एउटै भए फरक शब्दावली किन भनेर मनमा कुरा खेल्न चाहिँ रोकिएन । त्यसमा विमल दाइले ‘लु त पत्ता लगाउँ त’ भनेपछि म थप उत्सुक बनेँ । कहिलेकाहीँ आफूले दिनदिनै प्रयोग गरेको शब्दको पनि अर्थ फरक भइरहेको हुन्छ । जब कुनै मोडमा गएर यो उद्घाटित हुन्छ, ‘छ्या, यत्ति पनि के नसोचेको होला’ भने जस्तो हुन्छ । जन प्रशासन कि सार्वजनिक प्रशासन भन्दा मलाई यस्तै लाग्यो ।  


आखिर जन प्रशासन कि सार्वजनिक प्रशासन । वर्तमान समयमा हाम्रो सबै जिज्ञासाको उत्तर दिने भनेको त गुगल हो, गुगलमा नभएको सायदै कुनै उत्तर होला है भन्दै मैले पनि गुगलको सहयोग लिउँ कि भन्‍ने लाग्यो र गुगलमा पब्लिक एडमिनिस्ट्रेसन भनेर खोज गरेँ, सुरुमा नै पब्लिक एडमिनिस्ट्रेसनको अर्थ सार्वजनिक प्रशासन देखायो । 

पब्लिक एडमिनिस्ट्रेसन क्याम्पस बल्खुमा छ । उक्त क्याम्पसलाई जन प्रशासन क्याम्पस भनेर नेपालीमा अनुवाद गरेर लेखिएको छ । मैले स्नातकोत्तर तहको अध्ययन यही पढेकी हुँ । पूरा गर्न भने बाँकी छ किनकि थेसिस लेख्दै छु ।  
क्याम्पसमा पढ्दासम्म कहिल्यै यो विषयमा टाउको दुखाइएन ।  पब्लिक एडमिनिस्ट्रेसनको विषय स्नातकोत्तर तह प्रथम सेमेस्टरमा पढ्दासम्म पनि सार्वजनिक प्रशासन भनेर पढें तर दिनहुँ क्याम्पस गएर अध्ययन गर्दा पनि मलाई पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ जन प्रशासन हो कि सार्वजनिक प्रशासन हो भनेर जान्‍ने चासै भएन ।  

तर विमल दाइले प्रश्न गरेपछि पब्लिक एडमिनिस्ट्रेसन भनेको सार्वजनिक प्रशासन हो भने क्याम्पसको नाम किन जन प्रशासन राखिएको होला ? भन्‍ने कुरा दिमागमा आइरहे ।  आफूले पढेको विषयमा नै कुरा क्लियर नभएपछि के पढिएछ त भने जस्तो पनि लाग्यो । यसपछि म लागेँ यसको उत्तर खोज्‍न । 

‘कुनै पनि भाषाको ठ्याक्कै उल्था अर्को भाषाले गर्न सक्दैन् ।’ 

अब मलाई पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ जसरी पनि पत्ता लगाउनुपर्ने भएको थियो । अफिसदेखि घरमा पनि यो प्रश्नले छाडेन । कसलाई सोध्ने होला त ? घरमा पनि म चिन्तन गर्न थालेँ । ‘पहिले एक कप चिया पिउनु पर्‍यो, कुनै तोड पो निक्लिहाल्छ कि ?’ सोचिरहँदा दिमागमा आयो । चिया खाएर कुनै वैज्ञानिकले आजसम्म केही आविष्कार गरेको कुरा त पढ्न पाएको थिइँन ।

आविष्कार नै नगरे पनि आइडिया त आउला कि ? आफ्नो आइडिया फन्‍नी नभए पनि फन्‍नी भएको महसुस गर्दै  मेरो सबैभन्दा मन पर्ने कपमा एक कप भरि चिया राखेँ अलि अलि स्वाङ पारेर बाहिरी आवरणमा अध्ययनशील देखा पर्नुपर्‍यो भनेर अगाडि डायरी, कलम, फोन सबै एकैपटक निकालें । स्वाङ त पारेँ तर सोध्‍ने कस्लाई हो ? सम्बन्धित व्यक्तिहरूको नाम टिप्न लागेँ, क्याम्पस प्रमुख, प्राध्यापकहरू, प्रशासक यस्तै यस्तै । सम्भावित नाम टिपिसकेपछि चियाको अन्तिम सुरुप स्वाद मानेर खाँदै बिहानको प्रतीक्षामा सुतेँ ।

बिहान, पहिलो कल मेरो आदरणीय गुरु जस्ले मलाई मेरो स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा प्रशासनिक कानुन पढाउनुभयो, उहाँलाई गरेँ । 

‘नमस्कार गुरु’, उताबाट आवाज आयो ‘नमस्कार सदिक्षा सञ्‍चै छौ ?’ ‘गुरु हजुरले मलाई चिन्‍नुभयो नी ?’ ‘तिम्रो आवाज मैले सधैँ चिन्छु नि नानी’, उताबाट गुरुले भन्‍नुभयो । धेरै चेला चेलीहरूलाई अध्यापन गराउनुभएका गुरुले मेरो आवाज चिन्‍नुभयो, भित्रभित्रै खुसी भएँ । 

गुरु एउटा प्रश्न सोध्न मन लाग्यो, पब्लिक एडमिनिस्ट्रेसन भनेको जन प्रशासन कि सार्वजनिक प्रशासन ? मैले दायाँ बायाँ नगरी सिधै टपिकमा प्रवेश गरेँ । उहाँले कक्षा कोठामा पढाए जसरी नै मलाई फोनमा पढाउन थाल्नु भयो । मैले मनमा लागेका प्रश्न लगातार सोध्दै गएँ ।

उम, जन प्रशासन भनेकै सार्वजनिक प्रशासन हो । भारतमा यसलाई अझै लोक प्रशासन भन्‍ने प्रचलन पनि छ । अझै भन्‍नु पर्दा प्राइभेट प्रशासनभन्दा बाहेकका सबै जन प्रशासन अर्थात सार्वजनिक प्रशासन हुन् । सामान्यत: ५१ प्रतिशतभन्दा बढि सेयर भएको कुनै संस्थान पनि सार्वजनिक प्रशासन हो । सिभिल एडमिनिसट्रेसन( निजामति प्रशासन) पनि सार्वजनिक प्रशासन हो । त्यसो भए पब्लिक एडमिनिस्ट्रेसन क्याम्पसलाई जनप्रशासन क्याम्पस नै किन भनियो त गुरु ?

सार्वजनिक प्रशासन हेर्ने भएको हुनाले जन प्रशासन भनिएको हो । अझै आजकल त पब्लिक म्यानेजमेन्ट पनि भन्‍ने गरिन्छ । क्षेत्र फराकिलो भएको छ जे होस् । पहिले सार्वजनिक प्रशासन क्याम्पस भन्‍न पनि नमिल्ने जस्तो सुनिन्थ्यो,  हुन त सुरुदेखि नै भनेको भए यहि प्रचलनमा पनि हुन्थ्यो होला तर अहिले एक्कासी नमिल्ने जस्तो पनि देखियो । मैले गुरुसँग विदा मागेँ । 

त्यसपछि मलाई चौथो सेमेस्टरमा रुरल/अर्वन डिभेलपमेन्ट पढाउनुभएको गुरुलाई फोन गरेँ । उहाँको रिसिब भएन, पछि आफैँ फोन गर्नुभयो, हालसबर सोधिसकेपछि मैले गुरुलाई मेरो जिज्ञासा बताएँ । उहाँले भन्‍नुभयो, ‘कुनै पनि भाषाको ठ्याक्कै उल्था अर्को भाषाले गर्न सक्दैन् ।’ 

सार्वजनिक प्रशासन भनेको जन जनमा पुग्ने प्रशासन हो । जन भनेको जनता, जस्तै जन गणतन्त्र । त्यसैले जन प्रशासन भन्‍नु सार्वजनिक प्रशासन भन्‍नु उही हो, उस्तै हो । 

लगतै फेरि मैल नेपाल सरकारका पूर्व सचिव गोपी मैनालीलाई फोन गरेँ । उहाँले एक रिङमा नै फोन उठाउनुभयो । मैले उहाँलाई यहाँभन्दा पहिले कहिल्यै भेटेकी थिइन् , फोन पनि गरेकी थिइन् । तर नचिनेको मान्छेसँग पनि उहाँ मज्जाले कुरा गर्नुहुँदो रहेछ । उहाँको बोल्ने शैली एकदम सरल लाग्यो । उहाँलाई मैले पहिला सरहरूलाई गरेकै प्रश्न दोहोर्‍याएँ ।

पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ के होला सर ? जन प्रशासन कि सार्वजनिक प्रशासन ? सार्वजनिक प्रशासन नै भन्‍नुहोस् । सार्वजनिक सरोकार राख्ने संस्था भएपछि यसलाई सार्वजनिक प्रशासन नै भन्‍नुपर्छ । आम व्यक्तिको विश्वास, अपेक्षा भनेको सार्वजनिक प्रशासन हो । यसलाई दुई तरिकाले भन्‍नुहोस्, एक सार्वजनिक पधादिकारीहरूको स्रोत, साधन प्रकासित हुने विषयवस्त (सार्वजनिक सरोकारको व्यवस्थापन) र अर्को जनता र जनताको सरोकार भएको संस्था । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकार राख्ने संस्थालाई समग्र सार्वजनिक प्रशासन भनिन्छ । पुराना भाष्यहरूमा जन प्रशासन भने पनि सार्वजनिक प्रशासन नै भन्‍नु पर्छ । यति उत्तरहरू पाईसकेपछि अब पक्कै पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ सार्वजनिक प्रशासन हो भन्‍ने लागेको थियो तर मनले अझै पनि पक्का आधारहरू खोजिरहेको थियो । 

अब कस्लाई फोन गर्ने होला भन्दै थिएँ, एउटा नाम मगजमा फुरिहाल्यो । भाषाविद् केदार शर्मा । उहाँका मैले भाषासँग सम्बन्धित केही लेख पढेको थिएँ । मैले अफिसकै सहकर्मी दिदी श्रृजना खड्कासँग फोन नम्बर मागेँ । उतिबेलै सन्देश हेरेर दिदीले उहाँको नम्बर दिनुभयो । 

फोन डायल गर्ने प्रयास गरेँ, पहिलो पटकमा लागेन । दोस्रो पटक प्रयास गरेँ, यो पटक लाग्यो । नमस्कारको औपचारिकतापछि मैले उहाँलाई उही प्रश्न तेस्र्याएँ ।  ‘सर पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ के होला, जन प्रशासन कि सार्वजनिक प्रशासन ?’

योभन्दा अघि मैले आफूले कहाँबाट फोन गरेको र केका लागि फोन गरेको भनेर बताएको थिएँ । उहाँले पहिला त ‘हरिबहादुर थापाको अफिसमा काम गर्ने मान्छेले नै प्रशासनको बारेमा यस्तो सोध्ने हो’ भनेर जिस्कनु भयो । मैले पनि ‘हजुरको जवाफ यही मानेर लेख्दिउँ त’ भनेर थपेँ ।  उहाँले हुन्छ भन्‍नु भयो तर थप कुरा बताउन पनि कन्जुस्याँइ गर्नुभएन ।  

म्याम, पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ के होला, जन प्रशासन कि सार्वजनिक प्रशासन ? फेरि उही प्रश्न सोधेँ । 

‘क्याम्पसले जन प्रशासन भन्छ क्यारे, अब अर्थको हिसाबले सार्वजनिक प्रशासन लगभग उही नै हो । जस्तै अब जन प्रशासनविद् भनेको जन प्रशासनको पाठ्यक्रम विशेषज्ञ भन्‍ने बुझिन्छ । सामान्य हिसाबमा भन्‍नुपर्दा लगभग लगभग उही नै हो ।’ यहाँ मलाई सटिक उत्तर प्राप्त गरेको अनुभव भयो । र यही प्रसंगमा पछि मलाई थाहा भयो केदार सरले जिस्कनुको कारण म अहिले काम गर्ने इकागजका प्रधानसम्पादक हरिबहादुर थापा सार्वजनिक प्रशासन एकदमै दख्खल राख्ने व्यक्ति हुनुहुँदो रहेछ । 

जन प्रशासन क्याम्पसमा नै अध्यापन गराउनु हुने, मलाई तेस्रो स्मेस्टरमा कन्टेम्प्रोरी म्यानेज्मेन्ट पढाउनुभएको गुरुआमालाई पनि एकपटक सोध्नु मन लाग्यो । अलि अलि जेन्डर ब्यालेन्स पनि गरुँ न भन्‍ने पनि लाग्यो । फोन गर्नुपर्यो भनेर फोन डायल गरेँ । फोन लागि पनि हाल्यो, ‘ ह्ेल्लो म्याम नमस्कार ।’ ‘नमस्कार नानी’ उताबाट जवाफ आयो । ‘म्याम हजुरलाई एउटा प्रश्न सोध्नु पर्ने’, ‘हजुर सोध्नुहोस् न’, उताबाट जवाफ आयो । 

म्याम, पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ के होला, जन प्रशासन कि सार्वजनिक प्रशासन ? फेरि उही प्रश्न सोधेँ ।  

‘पपुलारिटीलाई हेर्ने हो भने कुन चाहिँ बढि चलेको छ भनेर हेरिन्छ, जसमा सार्वजनिक प्रशासन पर्ने भयो । जन प्रशासन पर्टिकुलर शब्द हो  । दुवैभन्दा केही फरक पर्दैन । जे  प्रयोग गर्दा पनि हुन्छ । ‘हस् म्याम धन्यवाद’, यति भनिसकेर मैले फोन राखेँ ।

यति सम्म कुरा सुनिसक्दा प्रस्ट चाहिँ के कुरामा भइयो भन्दा जन प्रशासन भनेपनि, सार्वजनिक प्रशासन भने पनि दुवैको अर्थ र सरोकार आम व्यक्तिसँग जोडिएको रहेछ । जन प्रशासन भने पनि, सार्वजनिक प्रशासन भने पनि कुरा एकै रहेछ । अब मैले मलाई, विमल दाइलाई र पब्लिक एडमिनिस्ट्रेसनको शाब्दिक अर्थ के हो भनेर कौतुहुलता हुनेलाई थोरै भए पनि व्याख्या गर्न सक्ने भएँ कि जस्तो लाग्यो । हजुरहरूलाई अझै रोचक तर्क प्रस्तुत गर्नु मन छ भने पनि लेख्नोस् है । म थप प्रतिक्रिया सुन्‍नका लागि सधैँ तयार छु ।


Author

थप समाचार
x