ब्लग

दुःखका पहाडहरू बोकेर बाँचिरहेकी मनमाया

दुर्गा आचार्य |
चैत २०, २०७९ सोमबार १८:२ बजे

सशस्त्र द्वन्द्वको प्रभावले गाउँ सुनसान जस्तै थियो । गाउँमा भएकाहरू विशेष कामबाहेक बाहिर निस्किँदैनथे भने अधिकांश युवाहरू बजार अनि सहरतिर पलायन भएका थिए ।

त्यतिबेला माओवादी र राज्य दुवै पक्षबाट जतिबेला जे पनि हुन सक्ने त्रासमा थिए गाउँलेहरू । मनमायामा पनि उस्तै थियो डर ।


मनमायाको दुई छोरा र श्रीमान् । सानो सुखी परिवार थियो । तर, चिन्ता थियो दिनदिनैको गृहयुद्ध र कलहले । देशमा सधैँ रगतको खोली बगेको समाचार सुन्थिन उनी पनि । पक्ष र विपक्षका नाममा आफ्नै दाजुभाइ मारिएका खबरहरूले झस्काउँथ्यो मनमायालाई । 

गाउँमा नयाँ मान्छे देखेपछि उनको मनमा चिसो पस्थ्यो किनकि घरमा लक्काजवान छोरा थिए मनमायाको । माओवादीहरूले गाउँका तन्नेरीहरूलाई अनेक सपना बुनेर बन्दुक बोक्न लैजान्छन् भनेर उनले सुन्ने गरेकी थिइन् । त्यही घटना आफ्नो घरमा होला भन्ने त्रासले उनलाई सताउँथ्यो ।
हो, गाउँमा समय–समयमा नयाँ मान्छे देखा पर्थे ।

भोलिपल्ट नै सेना वा प्रहरी आएर त्यही गाउँलेलाई केरकार गर्थे । अझ तन्नेरी छोराछोरी भएको घर माओवादी र प्रहरी दुवैतर्फको निशानामा हुन्थ्यो । आफ्नो छोराहरूलाई कसरी जोगाउने भनेर मनमाया चिन्तित हुन्थिन् । गाउँमा सम्साँझै घरका ढोकाहरू बन्द हुन्थे । वल्लो घर–पल्लो घर रात अबेरसम्म बात पार्ने दुःखसुख साट्ने भन्ने कथा जस्तै भएको थियो । गाउँ गाउँ जस्तो थिएन । मसानघाट जस्तो भइसकेको थियो डरले । 
 

त्यतिबेला मसानघाट भएको गाउँ अहिले झन् मुर्दाघर जस्तै भएको छ । मुग्लान जानेले गाउँ रित्तिएको छ । त्यतिबेलाबाट सुनसान भएको गाउँ कहिल्यै गाउँ जस्तो भएन । द्वन्द्वले सहर र विदेशिने क्रमले अहिले त देशै रित्तिने अवस्था भइसकेको छ ।

त्यो दिन ।

मनमाया खाना खाएर सुत्ने तरखरमा थिइन् । कसैले ढोका ढकढक गर्यो । ढोका ढकढकले मनमायाको मुटु पनि त्यतिकै ढुकढुक गर्यो । डरले सबैको स्वर बन्द भइसकेको थियो । बाहिरबाट अझै ठूलो स्वरमा ढोकामा ढकढकको आवाज आइरहेको थियो । एकजनाले भने, ‘ढोका खोल्छस् कि फुटाऊँ ? हामी ‘जनसेना’ हौं ।’ ढोका खोल्न को जाने भन्नेमै एकछिन गलफती भयो । श्रीमान् र छोरा पठाउँदा न मारिनै पो दिन्छन् कि भनेर मनमाया श्रीमान् छोरालाई भित्रै राखी आफू ढोका खोल्न जाने भइन् । श्रीमान्सँग उनले नै जिद्दी गरिन् छोरा त डराइरहेका थिए । मुटुको चाल रोकेर मनमायाले ढोकाको आग्लो खोलिन् । बाहिरका बन्दुक बोकेका मान्छेले भने, ‘ढोका खोल्न पनि यत्रो समय लाग्छ ? के गरेर बसेकी थिस् ?’ उसको स्वर बन्दुकको आवाज जस्तै कर्कश र डरलाग्दो थियो । कुनै मलिनता र करुणा थिएन । मनमाया केही बोलिनन् । 

बोल्न आवाज पनि आएन । कुन्नि के अनर्थ हुने हो भनेर उनी डराएकी थिइन् । ती बन्दुक बोकेका मान्छेले सोधे, ‘घरमा को–को छन् ? खै तिम्रो छोरा ?’ त्यति भन्दा नभन्दै छोरा र श्रीमान् तलाबाट उठेर आए । उनीहरूले मनमायाको कान्छो छोरालाई सँगै लिएर जाने भए । मनमायाको मनमा जे डर थियो त्यही भयो । उनले धेरै बिन्ती गरिन् । ती बन्दुक बोकेका मान्छेहरूले केही सुनेनन् । मध्यरातमा सुतिरहेका उनको छोरालाई लिएर गए । कोहीलाई जाने मन छ कि छैन केही बोल्नै पाइन्नथ्यो । ‘मेरो छोरा सानो छ नलैजाऊ,’ यही भनिन् मनमायाले । मनमायाको कुरा नै कसले सुन्थ्यो र ? बन्दुकको आवाज प्यारो लाग्नेलाई एउटी आमाको आवाज, अनुनय र विनयको आवाज प्यारो लाग्ने कुरै भएन । उनीहरूको अघि अघि लाग्यो सोमे । बूढाबूढी रोएर बसे । जेठो छोरा काठमाडौँ गएकाले उनीलाई सँगै लैजान पाएनन् ‘जनसेना’ले ।

१६ वर्षको छोरा सोमे ८ कक्षामा पढ्दै थियो । तामाङ समुदायका केटाकेटी जाँगर लाएर नपढ्ने । कान्छो छोरा सोमे पनि पढाइ छाडेर त्यतिकै बसेको थियो । छोरा लगेको तीन दिन भएको थियो । रुँदारुँदै बूढाबूढीको अवस्था नाजुक भएको थियो । तीन दिनको साँझ सोमे मलिनो अनुहार बनाएर आयो । आमाले छोरा अँगालेर रोइन् । लगेर मारेकी जिउँदै छ भनेर सोच्दासोच्दै बसेकी मनमायालाई छोरा हैन भगवान् आए जस्तो भयो । उनी मातृवात्सल्यमा यति डुबेकी थिइन् सोमेले आमा म त भागेर आएको नि भनेसी उनी छ्याङ्ग भइन् । छोराले भन्यो, ‘आमा मैले केही गर्नै सकिनँ, भागेर आएँ । मन पनि लागेन । साह्रै दुःख हुँदोरहेछ ।’ 

छोराको कुरा सुनेपछि मनमायाको मनमा डरले ढ्याङ्ग्रो ठोक्न थाल्यो । कसरी छोरालाई बचाउने ? अब माओवादीले त मार्छ नै मार्छ प्रहरीले पनि माओवादी सम्झेर मार्ने अवस्था आउने भयो । के गर्ने कसो गर्ने उनको मनमा अनेक तर्कनाहरू आउन थाले । 

घर परिवारमा सल्लाह भयो । छोरालाई प्रहरीकोमा लिएर जाने र सबै कुरा भन्ने ।

जिल्ला सदरमुकाम चौतारामा रहेको जिल्ला प्रहरी कार्यालय जाने निधो भयो । सदरमुकामबाट ६ किलोमिटरको दुरीमा रहेको आफ्नो गाउँ स्याउलेबाट मनमाया छोरालाई लिएर बिहानै चौतारा गइन् । उनले प्रहरीलाई सबै कुरा भनिन् । प्रहरीले पनि अब जवानमा खुल्दैछ जागिर खानुपर्छ भने । उनीहरू खुसी हुँदै घर फर्किए । ‘प्रहरीमा जागिरे भएपछि एकापट्टिको डर त भएन नि ।’ मनमायाले मनमा गमिन् । प्रहरीले केही दिनमा खबर गर्छौ अनि आउनु भनेका थिए । उनी छोरासँगै घर फर्किन् । 

यसै गरी दिन बित्दै थिए । 

एक दिन । मनमायालाई गाउँले कसैले बोलायो । उनी दौडेर आँगनको डिलमा निस्किइन् । घर मुनि केही तल बारीको पाटोमा मानिसहरू जम्मा भएका थिए । कुन्नि के भयो भन्दै उनी पनि कान्लै कान्ला फाल हाल्दै त्यहाँ पुगिन् । त्यहाँ पुगेपछि उनले त्यहाँ यस्तो देखिन उनको हृदय छिया छिया भयो । 
जमिन भासियो । आकाश उनीमाथि बज्रिए जस्तै भयो । 

उनको छोरा सोमे अब कहिल्यै नआउने बाटो लागिसकेका थिए । उनको शरीर एकातिर अनि टाउको शरीरमाथि छातिमा थियो । उनले त्यो हेर्न पनि सकिनन् । कतै घोच्ला कि भनेर हुर्काएको छोरा टाउको गिँडिएको अवस्थामा थियो । उनी त्यहीँ ढलिन् । केही मानिसले उनलाई बोकेर घर ल्याए र पानी छर्किए । हात रगटे । पैताला रगटे । बल्ल मनमाया बौरिन् । मनमाया त बौरिन् तर उनको मन बौरिएको थिएन । मन मरेको थियो छोराको अवस्था देखेर । मान्छे किन जिउँदो लाश बन्दोरहेछ मनमायाले थाहा पाइन् । अब उनी जिउँदो लास जस्तै थिइन् । न खान्थिन् न पिउँथिन् । बस एकोहोरो आँसु बगाइराख्थिन् । उनी मन मनै प्रश्न गर्थिन् मेरो छोराको के दोष थियो ? यही प्रश्न गर्दै उनी रुन्थिन् । कराउँथिन् । चिच्याउँथिन् । के दोष थियो भन्दै ।

उनले आजसम्म त्यसको जवाफ पाएकी छैनन् ।

जवाफ खोज्न हिँड्दा हिँड्दै उनको चप्पलका तुनाहरू कति चुँडिए । खुट्टाहरु क्ति फुटे, खिइए । तर जवाफ आएन । त्यो दिन लुटिएको खुशी अझै फर्किएको छैन । न त फर्काउन नै कसैले पहल गरे । उनी माथि त दुखका बज्रपात यसरी खनिएकी अब उनलाई सुखको अर्थ नै थाहा नहुने भइसकेको छ । 

प्रहरी र माओवादीको द्वन्द्वमा परेर उनले आफ्नो छोरा गुमाइन् । प्रहरीकोमा गएर सुराकी गरेको आरोप लगाएर उनको सफाया गरिएको खबर उनीहरूले पाए । सुराकी गरेका उनका छोरा यो धर्तीमा छैनन् । माओवादीले के पाए प्रहरीले के पाए देशले के पायो मनमायाले के पाइन् ? आखिर सबैले गुमाएकै छन् । न देश बन्यो, न मनमायाले न्याय नै पाइन् । सबै उस्तै छ । दःुख, पीडा, गरीबी, अशिक्षा, अभाव, अन्यायले न देशलाई न मनमायालाई नै छोड्यो ।

दिनहरू बित्दै गए । मनमायाको मन पनि सम्हालिदैं गयो । तर उनलाई छोराको मृत्युको त्यो अवस्थाले झस्काइरहन्थ्यो । बेला बेला बर्बराउँथिन् । आँसु त्यसै बगिरहन्थे । 

पुसको चिसा दिनहरु सुरु भएका थिए । एकदिनको कुरा हो । उनमाथि अर्को बज्रपात पर्यो । उनका जेठा छोरा घरै मुनिको गेडुलाको रुखमा झुण्डिएको अवस्थामा भेटिए । भाइको मृत्युले उनको मन शान्त हुन सकेको थिएन । मैले पनि भाइको जस्तै मृत्यु भोग्न पर्ने हो कि भन्ने चिन्ता गर्ने रामबहादुरले आत्महत्या गरे । मनमायाको मनमा अर्को दुःखको पहिरो गयो । उनले हेर्दाहेर्दै आफ्ना दुवै छोरा गुमाइन् । सन्तानले पाल्लान् भन्ने बेलामा उनले दुवै सन्तान गुमाउन पुगिन् । एउटा मारियो । अर्को आफैं मर्यो । विक्षिप्त बनेकी उनले बाँच्ने कुनै आशा देखिनन् । तर एक मुठ्ठी श्वास आफूले चाहँदैमा कहाँ जाँदो रैछ र मनमाया आफैसँग प्रश्न गर्न थालिन् । उनी बस बाँचिन् मात्रै । खुशी र हर्षले हैन । दु:खका पहाडहरू बोकेर । बज्रपातहरू सहेर । 

देशमा नयाँ वर्ष सुरु भएको थियो । वातावरण हरियाली थियो । चराहरु चिरबिर चिरबिर गर्दै वातावरणमा संगीत भरिरहेका थिए । रुखका पालुवाहरुले मौसम नै घमाइलो थियो । तर, द्वन्द्वको पीडाले आजित सबै नेपालीको मन अन्धकार थियो । भविष्य अन्धकार थियो । को कहिले कहाँ मारिन्छ कुनै ठेगान नै थिएन। 

नयाँ वर्षले मनमायाको मनमा नयाँ केही हुने कुरै भएन । दुई छोराको मृत्युले उनी शोकमा थिइन् । बूढाबूढी मात्रै भए घरमा । बूढाको पनि अवस्था ठिक थिएन । कहाँ गएर के दुख देलान् भन्ने मनमायालाई लागेकै थियो । भयो त्यस्तै । दुई छोरा गुमाएका उनका श्रीमानले छोराहरूकै बाटो समाते । छोराको वियोगमा विक्षिप्त बनेका उनी छोराहरूकै बाटो लागे । श्रीमतीको मायाले उनलाई बाँध्नै सकेन । छोराको मायाले उनलाई छाडेन । उनले उही बाटो रोजे जुन रामेको थियो । घाँस काट्न वन गएका उनी कहिल्यै फर्केनन् । फर्के त निर्जिव शरीर । जुन आफ्नो भएर कहिल्यै आफ्नो हुन्थेन । मनमायाको मन धुजा धुजा भएको थियो । कतै सिलाउने अड्याउने ठाउँ थिएन । तर, एकमुठ्ठी श्वास भने बाँकी नै थियो । सबै सहेर बाँच्नु नै थियो । तर यी वर्षहरूमा उनी गम्छिन् । उनको परिवारले गरेको त्याग गुमाएको सर्वस्वबाट राज्यले के पायो ? जनताले के पाए ? कसले आफ्नो छोरो के कारण मार्यो ? 

केही वर्षअघि उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको फर्ममा आँसुका धारा बगाउँदै फर्म भरिन् । उनी लेख्न जान्दिनथिन् । रुँदैरुँदै अरुको कहानी आफ्नो जीवन कहानी भनिन् । उनको छोराको जीवन फेरि त्यहाँ कोट्याए ? छोराको जीवन त के कोट्याउन् त्यहाँ मनमायाका खाटा बसेका घाउहरू आला बनाइए । अन्तिम समयमा छोराले कस्तो लुगा लगाएको थियोदेखि लिएर जन्मजात निशानाहरू के के थियो शरीरमा भन्नेसम्म । छोराले न्याय पाउँछकि भनेर मनमायाले रुँदैरुदैं फेरि आफ्नो दुखको गाँठो फुकाइन् । सँगालेर कतै कुनामा राखेको गाँठो फेरि मनभरि, दिमागभरि छचल्कियो । उनी सोही दिनमा पुगिन् जुन दिन उनको छोराको टाउको गिडेको अवस्थामा भेटिएको थियो । ‘मानिसहरू आउँछन् सोध्छन् फेरि घाउ उधिनेर जान्छन् । नुन खुर्सानी छर्केर जान्छन् । औषधि लिएर आउने कोही भएन’, उनी भन्छिन् । उनको घाउ कोट्याएको पनि ४, ५ वर्ष भयो । तर ती घाउका रगतले लेखिएका उनको जीवनको सत्य आजसम्म फुकाइएको छैन । थाहा छैन कुन कुनामा धमिराले खाइपो सक्यो कि ? तै पनि उनलाई छोरा मार्नुको कारण थाहा पाउन मन छ ? उनको १६ वर्षे नावालक छोराले कुन क्रान्तिलाई कहाँ हानि गरे जान्न मन छ ? छोराको जीवन लिएर आएको गणतन्त्रमा उनको स्थान कहाँ छ जान्न मन छ । उमेरले ६० कटिसकेकी उनले छोराले न्याय पाएको सुन्न र देख्न पाउँछिन् कि पाउँदिनन् त्यो भने अझै टुंगो छैन ।

सशस्त्र द्वन्द्व सकिएर शान्ति प्रक्रियामा देश आएको पनि १६ वर्ष भइसक्यो । दुई वर्षमा संक्रमणकालीन मुद्दाहरू किनारा लगाउने भनिएपनि ती अझै पूरा हुन सकेका छैनन् । राजनीतिक दलहरूले पीडितको आँसुलाई चुनावी नारा मात्रै बनाएका छन् । हरेक चुनावी जात्रामा सपना देखाउँछन्, पुरानो घाउ कोट्याउँछन् अनि मनमायाजस्ता मनमायाहरूलाई रुवाउँछन् । तर, कहिल्यै भुइँतहबाट माथि उठ्न सक्दैन मनमायाहरूका सपना ।
 


Author

थप समाचार
x