ब्लग

अस्पतालबाट आमालाई मातातीर्थ औँसीको शुभकामना

उमा शर्मा |
बैशाख ७, २०८० बिहीबार १८:५२ बजे

‘मातृ देवो भव : वैशाख कृष्णपक्ष औँसी तिथि अर्थात् आजकै दिन मातातीर्थ औँसी मनाइन्छ । शास्त्रअनुसार आमा नभएकाहरूले आमाको मातृऋण तिर्न दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्दछन् भने आमा हुनेले आजका दिन आमालाई खुसी पार्न मिष्ठान भोजन गराइ, गच्छेअनुसार उपहार दिने गर्दछन् । 

काठमाडौँको पश्चिमतर्फ रहेको मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा आज  हजारौँ मानिस श्राद्ध गर्न जाने गर्छन् । आमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली हुने भएकाले आज सन्तानले आमाप्रति श्रद्धा, भक्ति, सम्मानपूर्वक आशीर्वाद थाप्ने र आमालाई खुसी बनाउने गर्दछन् । 


आमा जननी हुन्, आमा देवी हुन्, आमा धर्ती हुन्, साँच्चै भन्ने हो भने आमा सिङ्गो संसार हुन् । त्यसैले त भनिन्छ नि, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन् । हुन पनि हो, आमा सन्तानका लागि सधैं त्याग गर्न सक्ने त्यागी, जस्तो दुःख, कष्ट पनि सहन सक्ने हिम्मतवाली हुन्छिन् । ‘हरेक घरमा भगवान पुग्न नसक्ने भएपछि आमा पठाइदिएको’ भन्ने पनि गरिन्छ । आमासँग सानोमा कति झगडा गरियो होला, कति कुटियो होला आमालाई । अलि बुझ्ने हुँदै गएपछि कहिलेकाहीँ भन्ने गर्थे ‘तपाईँले मेरा लागि के गर्नु भयो र ?’ तर अहिले आफू आमा भएपछि बुझ्दै छु आमा हुन कति गाह्रो रैछ भनेर ।

अहिलेका महिला पढाइ, करिअरलाई बढी महत्व दिन्छन् । जसको प्रत्यक्ष असर प्रजनन स्वास्थ्यमा परिरहेको हुन्छ । ३५ वर्षपछि महिलाको प्रजनन क्षमता बिस्तारै कम हुँदै जाने चिकित्सकहरूको भनाइ छ । विवाह भएपछि स्नातकोत्तरको सोधपत्र सक्ने तयारीमा लागेँ । केही समय कोभिड महामारीले दैनिकी अस्तव्यस्त जस्तै बनाइदियो । बिस्तारै परिवारको योजना बनायौँ । काठमाडौँस्थित प्रसूति अस्पतालका प्रसूति रोग चिकित्सक नेसुवा सेडाईँसँग स्वास्थ्यको सामान्य परीक्षण पश्चात् परिवारको योजना बनायौँ । हाम्रो योजना अनुसार म गर्भवती पनि भएँ । सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अन्तर्गत नियमित गर्भ परीक्षणअन्तर्गत छ हप्तामा गर्भ परीक्षण गर्दा गर्भवती भएको देखियो तर गर्भको बच्चाको अवस्था देखिएन । डा सेडाईँसँग नियमित सम्पर्कमा भएकाले उहाँको सल्लाहमा हरेक तीन दिनको फरकमा भिडियो–एक्सरे गरियो । हेम्स अस्पताल, स्टार अस्पताल र प्रसूति अस्पतालमा एकै दिन चार पटकसम्म भिडियो–एक्सरे गर्दा आठ हप्तासम्म पनि बच्चाको लोकेसन(बच्चा बसेको स्थान) पत्ता नलागेपछि वा भनौँ शिशुको अवस्थाका बारेमा अनभिज्ञ भएपछि ल्याप्रोस्कोपी प्रविधिबाट प्रसूति अस्पतालमा नै शल्यक्रिया गरियो । बच्चा पाठेघरको नलीमा बसेको आशंका गरेर शल्यक्रिया गरिएको थियो । विसं २०७८ असोज १२ गते शल्यक्रिया गरेपछि गर्भको शिशु पाठेघरको भित्तामा टाँसिएर बसेको अवस्था देखियो । चिकित्सकको सल्लाहमा दुई हप्ता कुरेर पुनः भिडियो–एक्सरे गर्दा बच्चाको विकास नभएको पाइएपछि कार्तिक ८ गते प्रसूतिमै सुरक्षित गर्भपतन गरायौँ । 

डा सेडाईँका अनुसार गर्भपतनको तीन महिनापछि परिवारको योजना बनाउन मिल्छ । एउटी नारीलाई सन्तानको चाहना हुँदाहुँदै पनि सन्तान नहुनु कति पीडादायी हुँदो रहेछ भन्ने कुरा मैले त्यसबेला महसुस गरेँ । एकातिर सन्तान खेर गएको पिर, अर्कोतिर शल्यक्रिया गर्दाको असर । श्रीमानको साथ, हौसलाले मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ र कार्यालयमा पनि (रेडियो नेपालमा कार्यरत हुँदा) खाली समयमा पढाइलाई निरन्तरता दिने गर्दथेँ । बिस्तारै दैनिकी सहज बन्दै गयो । म पुनः गर्भवती भएँ । यसपटक डा सेडाईँ आफै सुत्केरी हुनुभएकाले हामीले नियमित परीक्षणका लागि ललितपुरस्थित पाटन अस्पताल छनोट गरौँ ।

आज अस्पतालको बेडबाटै पहिलो पटक आमालाई ‘म तपाईँलाई तपाईँले जति नै माया गर्छु’ भन्दै मातातीर्थ औँसीको शुभकामना दिन चाहन्छु । यदि अर्को जन्म हुन्छ र भनेको पाइन्छ भने म फेरि पनि हजुरकै कोखमा जन्म लिनेछु ।

त्यहाँ महिला रोग विशेषज्ञ डा शारदा श्रेष्ठलाई मैले नियमित चेकजाँच गराएँ । गर्भको समयमा मैले राष्ट्रिय समाचार समितिको लोक सेवाले लिएको तीन वटा परीक्षा, दिनुका साथै रेडियो नेपालमा पनि परीक्षा दिएँ । गर्भकै समयमा राष्ट्रिय समाचार समितिको उपसम्पादकमा सिफारिस भइसकेकी थिएँ । असोज २३ गते राति १ः३२ मा छोरोलाई शल्यक्रिया विधिबाटै जन्म दिए । अहिले फेरि बुधबार अस्पताल भर्ना भएकी छु । मेरो भोलि पुनः तेस्रो पटक शल्यक्रिया हुँदैछ, वीर अस्पतालमा । यो पटक भने शिशु जन्मेका बेला शल्यक्रिया गरिएको ठाउँमा सङ्क्रमण भएपछि पुनः सोही ठाउँमा शल्यक्रिया गर्नुपर्ने भएर अस्पताल भर्ना भएकी हुँ । 
 
छोरो छ महिना पूरा भएको छ । तीन महिना सुत्केरी बिदा पाए पनि घर, बच्चा, कार्यालय गर्न साँच्चै गाह्रो हुँदोरैछ । कहिलेकाहीँ बच्चा राति नसुत्दा दिनभरी नै अनिँदो काम गर्दा न काममा मन जाने, न शरीर फुर्तिलो हुने । बच्चाले खाएन, धेरै रोयो, ट्वाइलेट गरेन, सुतेनलगायत धेरै कुराले एउटी आमालाई पिरोली रहन्छ । अचेल आधुनिक न्यापी (डायपर) पाउने भएकाले राति पटक–पटक उठेर न्यापी फेरिरहने कष्ट भने छैन । कार्यालयमा कसैले ‘एक छिन चिया पिऊ न’ भने पनि आफूलाई जति सक्दो चाँडो घर पुग्नै हतार हुन्छ । यही वैशाख २ गते कार्यालयका महिला साथीहरू घुम्न जानुभयो, म भने साँझ फर्किन समय लाग्छ कि भनेर जान सकिन । यी यस्ता धेरै बाधा अवरोध त छँदै छन्, कामको थकाइ जति नै भए पनि बच्चा पहिलो प्राथमिकतामा पर्ने रहेछ । खाँदा खाँदै छोडेर उसलाई भुलाउनु पर्ने, राति जति नै निन्द्रा लागे पनि ऊ नसुत्दासम्म सुत्न नपाइने । अझ भर्खर छ महिना भएको छ, कति धेरै गर्न बाँकी छ, थाहा छ । तर जति नै पीडा, कष्ट भए पनि बच्चाको एक मुस्कानले सबै पीडामा मल्हम लगाउने रहेछ । 

अहिले अस्पतालको बेडमा छु । भोलिको शल्यक्रियाका लागि बसिरहँदा आज यी सबै कुरा मेरो मनमा रोटेपिङ् झै घुमिरहेका छन् । र, सोचिरहेकी छु मेरी आमाले हामी छ जना छोराछोरीलाई कसरी स्याहार गर्नु भयो होला ?, त्यो समय अहिलेको जस्तो सहज थिएन । घरपरिवार, श्रीमान्, छ जना छोराछोरीको व्यवहारले कति पटक चिमोट्यो होला?, कति रात अनिदो बस्नु भयो होला ? यी र यस्ता प्रश्नले मलाई अहिले घचघचाइरहेका छन् । आमालाई तपाईँले मेरा लागि के नै गर्नु भयो र भनिरहँदा कति मन रोयो होला ?

हरेक आमाले आफ्नो सन्तानका लागि आफूले सक्दो खुसी दिने प्रयास गर्छिन् । मेरी आमाले नि गर्नुभयो । आज अस्पतालको बेडबाटै पहिलो पटक आमालाई ‘म तपाईँलाई तपाईँले जति नै माया गर्छु’ भन्दै मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको शुभकामना दिन चाहन्छु । यदि अर्को जन्म हुन्छ र भनेको पाइन्छ भने म फेरि पनि हजुरकै कोखमा जन्म लिनेछु । अर्को जुनीमा एउटा सन्तानले आफू आमा भएपछि सन्तानबाट राख्ने अपेक्षा सबै पूरा गर्ने छु है ‘आमा’ ।


Author

थप समाचार
x