ब्लग

ने-पेमाछाल: हिमालै हिमालको बीचमा फुलेको फूल

सुषमा तिमल्सिना |
बैशाख ९, २०८० शनिबार १८:४८ बजे

जीवनमा कसैले यात्रा के हो भनेर मलाई सोध्यो भने सायद म भन्नेछु होला- 'यात्रा मेरो लागि बाँच्ने कला हो। जिउने आधार हो।'

उसो त म एकै ठाउँमा कहिल्यै पनि अडिग भएर बस्न सक्दिनँ। रुम भित्रै बस्दा पनि आफ्नै मनसँग यात्रा गरिरहेकी हुन्छु। कहिलेकाहीँ पुस्तक पल्टाएर पुस्तकका पानामा यात्रा गरिरहेकी हुन्छु। यसो भन्दै गर्दा मैले यो पनि भन्नु पर्छ होला- 'म कल्पनामा एकदमै धेरै यात्रा गर्छु। कहिले कता पुग्छु। कहिले कता।'


यात्रा नगरेको मान्छे र यात्रा मन नपराउने मान्छे शायद विरलै होलान्। मैले चाहिँ भेटेकी छैन। केही दिन अघि मात्र भगवद्गीता पढ्दै थिएँ। जसमा श्रीकृष्णले अर्जुनलाई भन्दै थिए- ‘यात्रामा हिँड्नु भनेको नयाँ ठाउँको ज्ञान प्राप्त गर्नु हो।' खासमा यो विचारसँग म एकदमै सहमत भएकी थिएँ। मलाई पनि लाग्ने गर्छ यात्रामा हिंड्नु भनेको नयाँ अनुहार भेटिनु हो। ती अनुहारमा पोखिएका अनगिन्ती कथासँग नजिक हुन पाउनु हो।

यदि म आफ्ना दैनिकीलाई यत्तिकै छाडिदिन सक्थें भने म जिन्दगीभर यात्रा गर्थें होला। मलाई कसैको मतलब नलाग्ने र कसैले मेरो पनि मतलब नगरिदिने हो भने कहिलेकाहीं सोच्छु, म कहाँ कहाँ पुगिसक्थें होला। के के भइसक्थ्यो होला। मैले कत्ति संसार देखिसकेकी हुन्थें होला। कत्ति भोगाइहरूबाट म परिचित भइसकेकी हुन्थें होला। मसँग कत्ति सम्झनाहरू हुन्थे होलान्। मैले जिन्दगीभरिको लागि बाँच्ने यादहरू पो समेटिसक्थें कि। तर भन्छन् नि सपना देख्न छोड्नु हुन्न। यस्तै मलाई भने जिन्दगीमा हिंडिरहने सपना देख्न मन छ। कहाँ जाने थाहै नहोस् बस् म हिंडिरहुँ।

यसै सिलसिलामा मलाई केही दिन अगाडि हिमालको फेदीमा पुग्ने रहर जागेको थियो। किन यस्तो रहर जागेको थियो मलाई ठ्याक्कै थाहा छैन। कहिलेकाहीं मान्छेलाई धेरै टेन्सन हुँदा ऊ प्रकृतिसँग एकदमै नजिक हुन खोज्छ भन्ने कतै पढेकी थिएँ। सायद म पनि त्यसैमा परेंछु कि।

एक साँझ मोबाइल चलाउँदै गर्दा कमला पाख्रिन दिदीको मेसेज आयो। जुगल बेसक्याम्प जाने योजना बन्दैछ के छ फुर्सद? म खासमा फुर्सदमै थिएँ। भर्खरै एउटा यात्राबाट फर्केकी म दोधारमा परें। मन नथाके पनि शरीर थाकेको थियो। तर मेरा औंलाले भने मेसेज रिप्लाई गरिसकेका थिए- 'हुन्छ योजना बनाउनुस् न। म सकेसम्म मिलाउँछु।'

दुई दिन बिते । थप मैले यो बारे सोचिनँ। एक्कासी कमला दिदीको फोन आयो। उहाँले, 'भोलि नै हिंड्ने कुरा भएको छ, तिमी सामान प्याकिङ गरेर हिंडिहाल।' भन्नुभयो।   मैले दोहोरो केही सोचिनँ। कोचाकोच पारेर ब्याग प्याकिङ गरें। आधा घन्टा भित्र रुमबाट निस्किएँ। निस्किए पछि पो दिमागले सम्झियो। मैले घरमा फोनसम्म गरेकी छैन। एकपटक आमालाई सोधेर आज्ञा त लिनु पर्यो। मैले आमालाई फोन लगाएँ। आमाले भन्नुभयो, 'घुम्ने मौका आएको छ भने घुम् छोरी। तँलाई टेन्सनबाट थोरै भए पनि राहत मिल्ने छ। मेरो यात्रामा थप उर्जा थपिएर आयो। मिलन दाइलाई फोन गरें उहाँहरू पनि हिंड्न लाग्नु भएको रहेछ। म हत्तपत्त उहाँहरू भएका ठाउँमा पुगें। र हामी यसरी लाग्यौं सिन्धुपाल्चोक तिर।

बसमा आठ जना जत्ति थियौँ। सबै जना नयाँ भए पनि मलाई कोही नौलो जस्तो लागेन। धुलिखेलबाट ओरालो लागे पछि मैले आफू बसेको सिटको झ्याल खोलें। कपाललाई एकैछिन हावामा हल्लाएँ। मन पनि हावा सँगै उडेर खै कता पुग्यो। त्यतिबेला बसमा गीत बजिरहेको थियो-

घामको पछि लागेर…..

जाम् भो माया भागेर….

लाहुर जाने रेलैमा……

बसमा कोही निदाइ रहेका थिए। कोही गफमा मस्त थिए। कोही मोबाइलमा व्यस्त थिए। म भने बेलाबेला झ्यालबाट बाहिर टाउको निकालेर हावासँग मितेरी लगाउँदैमा मग्न थिएँ। घरि बसमा बजेको गीतमा हराउँथें त घरि बसको झ्यालबाट बाहिर देखिने दृश्य अवलोकनमा डुब्थें। यसरी मैले आफ्ना आँखाहरूलाई एकैछिन पनि विश्राम दिन खोजेकी थिइनँ। बस् कैद गर्न खोजिरहेकी थिएँ। ती जम्मैजम्मै दृश्यहरु जसलाई सम्झेर म मुस्कुराउन सकुँ। रमाउन सकुँ र जिन्दगीमा खुसी नै खुसी हुन सकुँ। सोच्दासोच्दै चनौटै आइसकेछ। कमला दिदी मलाई पर्खिरहेकी थिइन्। उनलाई देखेपछि पो झल्यास्स भएँ। कतिबेला अँध्यारो भइसकेछ। कति बेला साँझको आठ बजेछ। मलाई हेक्कै थिएन। त्यो दिन हामी सिन्धुपाल्चोकस्थित चनौटेमा बसेका थियौँ।

दोस्रो दिन

काठमाण्डौबाट लगभग पाँच घण्टाको दूरीमा रहेको चनौटे मेरो लागि खासै नौलो थिएन। मलाई भने त्यहाँबाट निस्किन मै हतार थियो। यात्रामा जोडिने साथीहरु चालीस जनाभन्दा माथि भइसकेका थिए। सबैको आतुरतामा म पनि मिसिएकी थिएँ र त्यो दिन हामीले तेम्बाथाङसम्मको यात्रा तय गरेका थियौं। तेम्बाथाङ अर्थात् पहिले-पहिलेका जिजुबाजेहरूले स्थापित गरेको ठूलो चौर। जहाँ शेर्पा समुदायको ठूलो बस्ती रहेको छ।

हामीले पक्की रोडको बाटो छोडिसकेका थियो। केही साथी अगाडि पुगिसकेका थिए त कोही साथी पछाडि थिए। भन्छन् नि यात्रामा कोही पनि एक्लो हुँदैन। मेरो साथमा विनिता दिदी थिइन्। हेम सर थिए। उहाँहरूले बेला बेला चक्लेट निकाल्नु हुन्थ्यो। हामी एउटै चक्लेट तीन टुक्रा पारेर खान्थ्यौं। एउटै फ्रुट्री पनि खोसाखोस गर्दै बाँडेर खान्थ्यौं। पहिलो चोटि भेट भएता पनि हामी बीच आत्मीयता बढिसकेकको थियो। यस्तैमा हामीसँग राणा सर पनि जोडिनु भयो। उहाँ देखिएका हरेक दृश्यहरूलाई क्यामेरामा कैद गर्न खोज्नु हुन्थ्यो। तर हामी भन्दा सधैं अघि पुगिसक्नु हुन्थ्यो।

खोलाको बगरमा रहेको पहिरो पन्छाउँदै। बेलाबेला फोटो खिच्दै। घरि अगाडिको साथीहरूलाई उछिन्दै त घरि पछाडिका साथीहरूलाई पर्खिँदै। हामी त्यस दिन बेलुकी तेम्बाथाङ पुग्यौँ। जहाँ स्थानीय हाम्रो स्वागतका खातिर पर्खिरहेका थिए।

राणा सर लोकल चाख्न थाल्नु भयो। हाम्रो अगाडि छ्याङ आइसकेको थियो। विनिता दिदी र मैले भने छ्याङको साटो नुन चियामा सातु हालेर भोक टारिहाल्यौं। त्यसपछि मात्र हामीले तेम्बाथाङलाई निल्याल्न भ्यायौं। करिब सयभन्दा बढी घरधुरी रहेको तेम्बाथाङमा स्थानीय कोही बाख्रा चराइरहेका देखिन्थे त कोही आलु र छ्याङमा मस्त गफिएका देखिन्थे। वैदेशिक रोजगार, बाख्रा पालन र खेती किसानी नै आयआर्जनको स्रोत रहेको तेम्बाथाङको अधिकांश घरहरू सम्पन्न देखिन्थे भने घरधनीहरू पनि खुसी देखिन्थे।

बेलुकीको खानपिन सुरु भइसकेको थियो। स्थानीय हाम्रो सेवामै जुटिरहेका थिए। यत्तिकैमा लाटी शेर्पा मेरो छेऊमा आएर मुसुस्क मुस्कुराइन्। म पनि मुस्कुराएँ। उनले सोधिन्- 'नानी कहाँ बाट?' मैले जवाफ फर्काएँ। उनका चार छोराछोरी रहेछन्। घरमा एक्लै बस्ने गरेको लाटीका छोराहरू विदेश त छोरीहरूको बिहे भइसकेको रहेछ भने श्रीमान्को मृत्यु भइसकेको रहेछ। म उनको कथा सुन्न थालेँ।

आम्मै लिला खाईलाला

आम्मै लिला….

स्थानीय र हाम्रा साथीहरू भने यसै गीतमा नाचिरहेका थिए।

तेस्रो दिन

हिंडाइले शरीर दुख्न थालिसकेको थियो। तर त्यो दुखाई पनि खुब मीठो महसुस भइरहेको थियो जति दुखे पनि हिंड्नु थियो। थाक्नु थिएन। 

यो अनित्य जीवनमा

सुख र दु:खको असमान सम्बन्ध रहेको छ

न त कसैले सुख नै दिन्छ

न त दु:ख नै

सुख र दुख त हाम्रै हातमा छ।  

मिलन दाइको मोबाइलमा उहाँको आफ्नै गीत बज्न थाल्यो। म त्यही गीतको तालमा हिंड्न थाले। लालीगुँरास भेटिन थाले। तिनै लालीगुराँसको फेदीमा गोठालाहरू आडेस लगाएर निदाई रहेका देखिन्थे। काठको पुलमा दाउरा बिछ्याइएका हुन्थे। खोलाको संगीतले छुट्टै आनन्द दिई रहेको हुन्थ्यो। हामी शहर देखि विरानो भई सकेका थियौं। आफ्नाहरू टाढिँदै गई रहेका थिए। तर हामीलाई कसैको पनि वास्ता थिएन। तेम्बाथाङबाट हिंडे देखिनै हामी फोन सम्पर्कमा थिएनौं। तर यस्तो लागेको थिएन कि बिजुलीबत्तीको अभावमा तेम्बाथाङ अँध्यारिएको छ।

करिब दुई घन्टाको हिंडाइपछि हामी २३०० मिटर उचाईमा अवस्थित दिपुमा खाना खान पुग्यौं। दिपु अर्थात् हिपुबाट बनेको नाम। जसको अर्थ लुकेको ठाउँ। साँच्चै दिपु लुकेको थियो। सुन्दरताले सजिएकी बेहुलीले घुम्टो ओडेजस्तै गरी।  

त्यो दिनको हाम्रो गन्तव्य थियो छिन्ताङ। हामी हिंड्यौं। रातो लालीगुँरास मात्र देखेकी मैले अब रंगीचङ्गी लालीगुँरास देख्न थालिसकेकी थिएँ। ब्रह्मायणी खोलाले हाम्रो एकैछिन साथ छोडेको थिएन। पानी तिर्खा लाग्दा हामी त्यही खोलाको चिसो पानी खान्थ्यौं। त्यहाँ बाट लगभग तीन घन्टा हिंडेपछि हामी २६०० मीटरको उचाईमा रहेको छिन्ताङ पुग्यौं। छिन्ताङ अर्थात् दुई पक्ष झगडा हुँदा मेलमिलाप गरिएको ठाउँ।

चौथो दिन

छिन्ताङको बसाईं पछि अब हामीलाई पुग्नु थियो ने-पेमाछाल। जुन हाम्रो अन्तिम गन्तव्य थियो। स्थानीयहरू पनि हाम्रो यात्रामा जोडिइसकेका थिए। उनीहरू छ्याङ पिउँदै, नाँच्दै, गाउँदै, हाँस्दै, ठट्टा गर्दै हिंड्थे। हामी पनि उनीहरूसँग उनीहरू जस्तै भएर हिंड्थ्यौं।

यसरी छिन्ताङबाट बिहानै हिंडेका हामी गाङ्जी खोला तर्दै, तोङस्यूप गुफामा थकान मेट्दै  दिनको दुई बजेतिर ने-पेमाछाल पुग्यौं। ३५०० मिटर उचाईमा रहेको ने-पेमाछाललाई हिमालै हिमालको बीचमा फूलेको फूल पनि भनिँदो रहेछ। काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा पर्ने जुगल हिमाल शृङखलामा पर्ने ८ वटा हिमालको आधार शिविर ने-पेमाछाल गुरु पद्मसम्भवले ध्यान/तपस्या गरेको र त्यस तपोभूमिमा पवित्र ग्रन्थहरू सुरक्षित साथ लुकाइएको पनि जनविश्वास रहेछ।

नेपेमाछाल देख्नासाथ लाग्यो यो एउटा सुन्दर हिमाली उपत्यका हो ।

समुन्द्री सतहबाट तीन हजार पाँच सय मिटरको उचाईमा रहेको हिमाली क्षेत्रमा वरीपरी घना जंगलबीच लोभलाग्दो फराकिलो समथर मैदान । छेउमै टल्किरहेको जुगल हिमशृखला । तलतिर बगिरहेको कञ्चन खोला । कलात्मक पहाड पर्वत, हिमाली काखमै रंगिन बनाएर फुलिरहेका अनेकन लेकाली फूल अनि जडीबुटी, चरिरहेका याक अनि चौरीका बथान ।

नेपेमाछाललाई देवताको स्वर्ग पनि भनिन्छ । राजधानी काठमाण्डौबाट करिब एकसय ४० किलोमिटर दुरीमा रहेको हिन्दु र बौद्ध धर्मको संगमस्थल नेपामाछाललाई प्रसिद्ध तीर्थस्थलमा रुपमा लिइने गरिएको हो । बौद्ध धर्मग्रन्थअनुरुप ने भनेको तिर्थस्थल, पेमाको अर्थ कमलको फूलजस्तै र छाल भने रंगले सजिएको वा वरीपरी सेतो रंगले सजिएको कमलको फूल आकारको तीर्थस्थल उपत्यका भनेर अथ्र्याइएको मानिन्छ ।

शाक्यमुनी बुद्धपछिका दोश्रो बुद्ध भनिएका पदमसंम्भव गुरु रेन्पोछेले आफ्नो बचनमा विश्वभरमा उत्तम दश भूमिमध्ये नेपामाछाल पहिलो रहेको उल्लेख गरेको र यहाँ आएर लामो समय तपस्या गरेर गुम्बा बनाएको जनश्रृति प्रचलित छ । यो क्षेत्र जुगल हिमशृंखलाको आधार क्षेत्रमा पर्छ । अनेकौं प्राकृतिक छटाले भरिपूर्ण भएकै कारण अहिले यो क्षेत्रमा जाने पर्यटकको संख्या बढ्दै गएको छ । 

ने-पेमाछाललाई बौद्ध धर्मग्रन्थमा संसारका १० उत्कृष्ट भूमिमध्ये उल्लेख गरिएको रहेछ। वरिपरि हिमालैहिमाल र छेवैमा ब्रह्मायणी नदी बगेको ने-पेमाछालमा हामीले तीन दिन बितायौं। र हामी फर्कियौं।

फर्किँदै गर्दा ने-पेमाछाल मेरो मन भरी रहिरह्यो। मैले मनमनै लेखें-

 

तिमीले मलाई त्यसरी एकोहोरो नहेरेको भए?

मेरा भित्री नजर तिमीसम्म कहाँ पुग्थे र !

कहाँ बज्थ्यो र मन भित्रको सारङ्गी !

कहाँ अडिन सक्थ्यो र चञ्चले मन तिम्रा सौन्दर्यमा !

 

बस तिमीले हेर्यौ

मैले हेरें

हेराहेर मै बिते ती प्रेमिल पलहरू

जति हेरे पनि

न तिमी अघाउन सक्यौ

न म अघाउन सकें।

 

मेरो मौन भाषा सायद तिमीले बुझेनौ

तिम्रो आवाजको भाषा मैले बुझिन

यात्री बनेकी म

आफ्नो यात्रामा अघि बढिरहें

तिमी तिम्रो यात्रामा अघि बढ्यौ

 

साँच्चै अब हाम्रो भेट हुन्छ कि हुँदैन होला?

तिमी मेरो याद आए के गर्छौं होला?

म तिमीलाई भेट्न आतुर भएँ भने? म के गर्छु होला?

अन्तिममा,

यात्राहरू जति अप्याठ्यारा हुन्छन् त्यति नै यादगार हुन्छन्। बिर्सिनै नसकिने घटनाहरू यात्रामै घट्छन्। बिर्सनै नसकिने पात्रहरू यात्रामै भेटिन्छन्। ति नै यात्रामा भेटिएकी निमासाङ्मू दिदी तपाईंले बिदाइ गर्दै गर्दा गरेको अङ्कमाल कहिल्यै बिर्सने छैन। सेडोमा दिदी तपाईंले खुवाएको ढिडों सधैं सम्झनामा आउनेछ। यात्रामै जोडिएकी सानी प्यारी साथी निङ्मार जसले बिहानै ओछ्यान मै चिया ल्याई दिने गर्थिन्। अब तपाईंहरू सँग फेरि भेट हुन्छ हुँदैन थाहा छैन। तर तपाईंहरूसँग बिताएका पलहरू सधैं सम्झिरहने छु।

मिलन दाइ, कमला दिदी तपाईंहरूले मलाई यात्रामा सँगै भएर पनि धेरै अप्यठ्यारो बाटोहरू एक्लै हिंड्न प्रेरणा दिनु भएको छ। कहिले सँगै हिंडाएर त कहिल्यै एक्लै छोडिदिएर आफ्नो बाटो आफैं पहिल्याउने हिम्मत दिनु भएको छ। विनिता दिदी, राणा सर,  प्रेम सर तपाईंहरूसँग फेरि यात्रा गर्न पाइयोस्। यात्रामा जोडिनु भएका साथै यात्राबाट फर्केपछि मलाई यात्रा संस्मरण लेख्न प्रेरित गरिरहनु हुने सबैप्रति आभार।

 


Author

थप समाचार
x