ब्लग

प्रधानमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

हरि देवकोटा |
जेठ २६, २०७८ बुधवार १८:२३ बजे

श्री सम्माननीय प्रधानमन्त्रीज्यू
नेपाल सरकार 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 
सिंहदरबार, काठमाडौँ । 
                                                       विषय : २४ घण्टे स्पष्टीकरण सोधिएको बारे । 
महोदय, 
उपर्युक्त सम्बन्धमा तपाईंं श्री केपी शर्मा ओली २०७४ फागुन महिना ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले तथा माओवादीको गठबन्धनबाट अत्यधिक बहुमतका साथ व्यवस्थापिका संसद्बाट प्रधानमन्त्री भई देश सञ्चालनका लागि त्यस पदमा आसीन हुनुभएको र जनताले समेत धेरै आशा र भरोसा गरेको परिप्रेक्ष्यमा हाल जनताले सोचेको र तपाईंको क्रियाकलापमा कुनै तालमेल नदेखिएको सन्दर्भमा तपाईंले जवाफ दिनुपर्ने संघीय संसद्समेत विघटन गरिएको अवस्थामा छ ।

साथै भएका साना तथा ठूला पार्टीहरू सत्ताको खेलमा लागेको, प्रचण्ड भूराजनीतिक दलदलबाट माथि उठ्न नसकेको, देउवा र बाहरूको कुराकानीमा धेरै भिन्नता नदेखिएको, भट्टराईहरूको सपना बिग्रिएको तथा गगनहरूको गनगन पार्टीभित्रै सुनुवाइ नभएको एवं विश्वप्रकाशहरू ‘ऐना’ तिर लागेको अवस्थामा तपाईंलाई सर्वोच्च अदालत र राष्ट्रपति कार्यालय एवं अन्य संवैधानिक निकायबाट समेत स्पष्टीकरण नसोधिएको अवस्थामा नेपालको विद्यमान संविधान २०७२ को भाग ३ को १७ अन्तर्गत स्वतन्त्रताको हकअन्तर्गत उपधारा २ तथा धारा २७ सूचनाको हक एवं तत्सम्बन्धी बनेको ऐन तथा कानुन आधारमा यो देशको नागरिकको हैसियतले आम नागरिकहरूको तर्फबाट यो स्पष्टीकरण सोधिएको जानकारी गरिन्छ । अहिले चलनचल्तीमा पार्टीभित्र वा बाहिर स्पष्टीकरणहरू सोध्‍ने क्रम व्यापक भएकाले एउटा स्पष्टीकरण सोध्ने निर्णय म आफैँले गरेको समेत यहाँसामु जानकारी गराउन चाहन्छु :


१. नागरिकले दीगो र स्थायी सरकारको अपेक्षा गरेका थिए । तर यसबीचमा तपाईंले १६ पटक मन्त्रिपरिषद् फेरबदल गर्नुभयो । त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव विकास निर्माण तथा मन्त्रालयको प्रगतिमा देखिएको छ । पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दासमेत काममा प्रभावकारिता देखिएको छैन । यसले के देखाउँछ भने समस्या मन्त्रीहरूमा होइन, प्रधानमन्त्रीमा छ । फोहोर अनुहारमा थियो तर ऐनामा सफा गरिरहे भनेजस्तो कतै तपाईंको काम पनि त्यस्तै त भएन ? आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ? 

२. नेपालको गौरवका योजनाको सूची लामै छ । त्यसमध्ये जनस्तरबाट निर्माण गर्ने भनी बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनी हामी नागरिकले वर्षौंदेखि कर तिरेका छौँ तर तपाईंको सरकारको बजेट भाषण सुन्दा बूढीगण्डकीको कहीँ कतै नाम निशाना आएन । उक्त करबापत लगानी गर्ने भनेको पैसा झापातिर हाल्नुभयो वा नागरिकलाई नै फिर्ता गर्नुहुन्छ ? 

३. जर्मनीको राजदूतावास भवन बेच्‍ने भन्‍ने निर्णय गर्नुभयो भन्‍ने समाचार माध्यमबाट सुन्‍नमा आयो । तराईको गिटी बालुवा भारतलाई बेच्‍ने भन्‍नुभएको छ । त्यसै पनि तराई वर्षाद्को समयमा डुबानको समस्यामा गुज्रिरहेको अवस्थामा अझ गिट्टी-बालुवा निकाल्दा डुबान र मरुभूमीकरण हुने पक्का छ, के तपाईंलाई तराईका जनताप्रति माया र सद्‍भाव छैन ?

४. राज्य सञ्चालनमा न्यायालय, व्यवस्थापिका र कार्यपालिका एकआपसमा स्वतन्त्र र एक अर्कामा परिपूरक हुन्छन् । नेपालको संविधानले पनि सोही कुराको परिकल्पना गरेको छ । तपाईंले पहिलोपटक गरेको संसद् विघटनसमेत सर्वोच्च अदालतले असंवैधानिक भनेको परिप्रेक्ष्यमा पुनः संसद् विघटन गरी किन गल्ती गरेको ? 

५. तपाईंले सत्ताको बागडोर सम्हाल्दा ऋण रु. ७ खर्बको हाराहारीमा थियो । गत ३ वर्षको अवधिमा करिब १५ खर्बको हाराहारीमा पुगेको छ । लिएको ऋणले के गर्नुभयो ? यो ऋणलाई घटाउने योजना के रहेको छ ? 

६. गत ३ वर्षको बजेटलाई विश्लेषण गर्दा झापा जिल्लाको बजेट अरु जिल्लाको तुलनामा धेरै देखिन्छ । नेपाल सरकारको बजेट विनियोजन गर्ने मुख्य ३ आधारहरू जनसंख्या, भूगोल र आवश्यकता हो तर राजनीतिक पहुँच र पदको दुरुपयोग गरी बजेट विनियोजन भएको देखिन्छ । के अरु जिल्लाका जनता झापा घर नभएकै कारण विकासको आयामबाट विमुख हुनुपर्ने हो ? 

७. तपाईंले कोरोना भाइरस न्यूनीकरणका लागि प्रभावकारी काम गर्नुभन्दा पनि अम्बा र बेसार पानीजस्ता मनगढन्ते कुरा र उखान टुक्कामा समय बिताउनु भयो, जसका कारण हजारौँ मानिसको अनाहकमा ज्यान गयो, यसको जिम्मेवारी लिनुहुन्छ कि के गर्नुहुन्छ ? 

८. तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीले लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गर्नुभयो । तपाईंकै निर्देशनमा त्यो नक्सा गायब भयो । पछि संघीय गणतन्त्र नेपाललाई संघीय गणतन्त्र हटाई नेपाल मात्र लेख्‍न पार्टीमा जसरी ह्वीप जारी गर्नुभयो भन्‍ने बाहिर आएको छ, के यसको जवाफ दिन जरुरी लाग्दैन ? 

९. भ्रष्टाचार बढिरहेको विभिन्न अन्तर्राष्ट्रिय समुदायले गरेको अध्ययनले देखाएको छ । यसबीचमा तपाईंले यती, ओम्नी, वाइडबडी, ललिता निवास, प्रिन्टिङ प्रेस खरिद लगायतका भ्रष्टचारजन्य कामको छानबिन भएको भन्‍ने खबर आयो । यसको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ? 

१०. तपाईं प्रधानमन्त्री भएदेखि पटक-पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो ६ महिनाको अवधिमा मात्र प्रतिलिटर पेट्रोलमा रु १९ रूपैयाँ बढेको छ । सरकारको भनेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा यसरी नै पूरा होला त ?    

माथि उल्लिखित बुँदाहरू कुनै राजनीतिक पूर्वाग्रहले लेखिएको होइन । राजनीतिक पूर्वाग्रह नझल्कियोस् भनेर मैले नेकपा एमालेको संस्थापन पक्षको एक कार्यकर्ता साथीलाई समेत सोधी तथ्यमा आधारित भएर बनाएको प्रमाणित म आफैँ घोषणा गर्न चाहन्छु । यो स्पष्टीकरण दिनुको सट्टा अरिंगाल र साइबर सेना लगाई दुःख दिने काम नगर्नसमेत सम्माननीयसामु अनुरोध गर्दछु । साथै माथि उल्लिखित प्रश्नहरूको जवाफ तपाईंलाई सहज हुने माध्यमबाट जनतालाई दिनुहुन अनुरोध गर्दछु ।

 
उही तपाईंको जनता 
हरि देवकोटा 
(देवकोटा ग्रामीण विकासमा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन् ।) 
 


Author

थप समाचार
x