ब्लग

म स्वास्थ्यकर्मी, मैले पनि खोप लगाउन भनसुन गर्नुपर्ने ?

शिक्षा कार्की, नर्स |
जेठ २७, २०७८ बिहीबार १५:२६ बजे

म एक स्वास्थ्यकर्मी हुँ । म अहिले आफ्नो घर झापा, दमकमा छु । मैले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज काठमाडौँमा लगाएको थिएँ । निषेधाज्ञाको कारण दोस्रो डोज खोप कहाँ लगाउने अन्यौल थियो । केही समयअघि खोप स्थानीय सरकारले ल्याउने भन्‍ने सूचना पाएँ । सूचनामा उल्लेख गरेअनुसार मैले आफ्नो नाम दमक नगरपालिकामा टिपाएँ । नगरपालिकाले सूचना निकालेको भोलिपल्टै नाम टिपाएको थिएँ । बीच-बीचमा खोप कहिले लगाउन पाइन्छ भनेर बुझ्दै पनि गरेँ । आज (बिहीबार) पालो परेको थियो । सूचनामा उल्लेख गरिएको समयमै म नगरपालिका आइपुगेँ ।

तर, त्यहाँ पुग्दा वातावरण भिन्‍न थियो । नगरपालिकाको ढोकामा वृद्धवृद्धा खोप सकियो भनेर बसिरहेका थिए । मलाई पनि खोप छैन भनेर फिर्ता पठाइयो । कोभिड वार्डमै काम गर्ने धेरै स्वास्थ्यकर्मीहरू खोप सकियो भनेर सानो मुख लगाएर बसिरहेका थिए । दिनरात कोभिड वार्डमा खटिँदा पनि भ्याक्सिन लगाउन पाइएन भनेर गुनासो गरिरहेका थिए ।


सूचनामा प्राथमिकताको आधारमा वृद्धवृद्धा र पहिलो डोज लगाएका र फ्रन्टलाइनरहरूलाई खोप दिइने भनिएको थियो । तर, नगरपालिकाले त्योअनुसार खोप लगाएको थिएन । जसको पहुँच थियो, उसले खोप लगाउँदै बाहिर निस्किरहेका थिए । प्राथमिकतामा परेका हामीहरूले भने त्यो दृश्य टुलुटुलु हेरिरहनु परेको थियो । सबैलाई भ्याक्सिन सकियो भनिएको थियो । प्राथमिकतामा परेकालाई नै भ्याक्सिन नदिएर अरुलाई भ्याक्सिन दिनु भनेको कहाँसम्मको लापरबाही हो ? भ्याक्सिनमा समेत भनसुन ?

अहिले म घरबाट १५ किलोमिटर टाढा गौरादह नगरपालिकामा खोप लगाउन पाइन्छ कि भनेर आएको छु । यहाँ पनि सकियो भन्‍ने खबर आएको छ । अब मैले खोप कहाँ लगाउने ? अब पनि भ्याक्सिन लगाउन ढिला भयो भने पहिलो डोजले काम गर्न छाडिसकेको हुन्छ । अहिले म यहाँ भोलेन्टियरको रुपमा काम गर्ने सिलसिलामा बाहिर निस्किरहेको छु । छिट्टै नै काठमाडौँ फर्किएर फेरि अस्पतालमा ड्युटी गर्नुपर्ने छ । 

 


Author

थप समाचार
x