ब्लग

शेरबहादुर देउवालाई आस्थाको भाइको खुलापत्र

विनोद सिजापती |
असार २९, २०७८ १७:४३ बजे

आदरणीय शेरबहादुर दाइ,
न्यानो अभिवादन एवं शुभकामना ।
तपाईंलाई पत्र लेख्ने मेरो हैसियत छैन । मलाई यसरी सार्वजनिक रूपमा तपाईंलाई पत्र लेख्ने कुनै रहर वा चाहना पनि थिएन । केटाकेटीदेखि नै निःस्वार्थ रूपमा तपाईंको वंशज भाइ नभए पनि तपाईंको सम्मान तथा भलो चाहने आस्थाको भाइ हुँ । त्यही नातालाई आधार मान्दै यो पत्र लेखेको हुँ । 

नेपालको मात्र होइन, विश्व इतिहासमै तपाईं त्यस्ता सीमित व्यक्तिहरूमध्ये पर्नुहुन्छ, जसले पटक–पटक इतिहास निर्माण गर्ने अवसर प्राप्त गर्दै आएको छ । विश्व इतिहासमा तपाईंले जस्तो पाँचौँ पटक प्रधानमन्त्री हुने अवसर प्राप्त गर्ने अर्को नेता मैले भेटेको छैन । 


ADVERTISEMENT

अनि यो पत्र आग्रह खातिर हो, ‘दाइ इतिहासले फेरि एक पटक सुम्पिएको यो सुवर्ण अवसरलाई विगतको जस्तो गरेर खेर जान नदिनुहोस् ।’ तपाईंले प्राप्त गरेका विगतका अवसर सुखद थिएनन् । पहिलो चोटि प्रधानमन्त्री पद प्राप्त गर्दा तपाईंले खुसी हुने अवसरसमेत पाउनु भएन । डा. बाबुराम भट्टराईको ४० बुँदे माग तथा प्रचण्ड-बाबुरामले घोषणा गरेको ‘जनयुद्ध’ले तपाईंको खुसी लुट्यो । त्यसपछिको कालखण्डमा तपाईंले प्रधानमन्त्री पद प्राप्त त गर्नुभयो तर दुवै पटक आफ्नै दलका नेता गिरिजाप्रसाद कोइराला तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको कोपभोजनमा पर्नुभयो ।

प्रचण्डसँगको मिलेमतोमा पछिल्लो पटक तपाईंको प्रधानमन्त्री हुने चाहना पूरा भयो । तर तपाईंले नेतृत्व गरेको पार्टी तथा देशबासीका निम्ति कम्युनिस्टहरूले मञ्चन गरेको नाटकका रूपमा । विद्यमान देशको अवस्था विगतको भन्दा नाजुक छ । इतिहासकै अत्यन्त कठिन घडीबाट देश गुज्रँदै छ । अत्यन्त जटिल अवस्थामा तपाईंको काँधमा प्रमुख कार्यकारिणी व्यवस्थापकको जिम्मेवारी आइपरेको छ ।

देशले यो कालखण्डमा बेहोरेको नियति विगतमा कहिले पनि भोग्नुपरेको थिएन । कोरोना कहरले विपन्न देशबासीलाई रोग, भोग, शोक र बेरोजगारीले अभूतपूर्व रूपमा पिरोल्दै लगेको छ । अर्कातर्फ खड्गप्रसाद ओलीका पटक–पटकका ‘खडग–प्रहार’ले लोकतान्त्रिक संरचना र राज्य संयन्त्र भताभुंग अवस्थामा छन् । प्रशासन संयन्त्र शिथिल र असहाय अवस्थामा छन् । आमनागरिकका निमित्त सरकार सबैभन्दा ठूलो शत्रु प्रमाणित भएको छ । त्यसकारण समय खेर नफाली जिम्मेवारी पूरा गर्नुपर्ने अभूतपूर्व चुनौती छ । 

दुई वर्षमा ओलीले सञ्चालन गरेको अधिनायकवादी शासन, भ्रष्टाचारतन्त्र तथा मनोमानी शासन प्रणालीमा तपाईं मुकदर्शक हुनु भएको थियो । अक्षम शासकको धारिलो ‘खड्ग प्रहार’बाट देशको अर्थतन्त्र र राजनीति थिलोथिलो भएको अवस्थामा विगत डेढ वर्षदेखि कोरोना कहर थपिएको छ । उसै पनि विपन्न देशबासी अझै धेरै कठिन विपन्नताको चक्रब्युहमा फसेको छ ।

एकै पटक तपाईंले नागरिकलाई कोभिड कहरबाट सुरक्षित तुल्याउँदै पुनर्जीवन दिने वातावरण निर्माण गर्नुपर्नेछ भने एकसाथ ध्वस्त पारिएका संवैधानिक अंग, राज्य संयन्त्र तथा राज्य सञ्चालनका पूर्वाधार पुनर्निर्माण पनि गर्नुछ । तपाईं आफ्नो ‘मिसन’ अर्थात् देशवासीलाई राहत दिएर ‘डिरेल’ भएको देशलाई पुनः लक्ष्य उन्मुख तुल्याउन स्वार्थरहित हुँदै लागि पर्नुभयो भने कसैले रोक्न सक्दैनन् ।

सुशासन कायम नगरी यी दुवै कार्य तपाईंले मात्र होइन, भगवान् प्रकट भए पनि गर्न सक्दैनन् । निश्चय नै सुशासन कायम गर्न तपाईंलाई वर्तमान कालखण्डमा साथ दिँदै आएका स्वार्थी तत्वले अवरोध गर्नेछन् । उनीहरू बंगारा तिखारेर बसिराखेका छन्, ‘कहिले तपाईंले प्रधानमन्त्री पद प्राप्त गर्नु होला र तपाईंको नाममा रजगज गरौँला ।’ नागरिकहरू विश्वस्त छैनन्, तपाईंको नेतृत्वको सरकार ओलीले नेतृत्व गरेको सरकारभन्दा कम भ्रष्ट र गतिलो हुन्छ । 

डडेल्धुराको रुवाखोला तरेर काठमाडौँ आइपुग्दा तपाईंले व्यक्तिगत स्वार्थलाई त्यही रुवाखोलामा सेलाएर आउनु भएको थियो । ‘के खाऊँ के लाऊँ’ भन्ने वय उमेरमा तपाईंले क्रान्तिकारी युवकको छवि निर्माण गर्नुभयो । जीवनलाई लोकतन्त्रको पुनःस्थापनाका निमित्त समर्पण गर्नुभयो । जेलमै खाऊँलाऊँको युवा जीवन व्यतित गर्नुभयो । अत्यन्त घातक जोखिमको सामना गर्नुभयो ।  

विद्यार्थी आन्दोलनमा तपाईंले प्रदर्शन गरेको समर्पणको भावनाले नै तपाईंलाई प्रजातन्त्रवादी विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालय युनियनको सभापति पदको उमेदवार बनाइएको हो । नेपाल विद्यार्थी संघको सभापति पद पनि तपाईंको रहरले भन्दा तपाईंको नेतृत्वमा विद्यार्थीहरू लोकतन्त्रप्रति समर्पित भएर संगठित हुन्छन् भन्ने विश्वासमा सुनको थाल तपाईंलाई सुम्पिइएको थियो । 

समकालीन विद्यार्थीहरूमा तपाईंको सादगी, छलकपटरहित चालचलन, निष्कलंक चरित्र, निःस्वार्थ तथा संघर्षशील क्रान्तिकारी छविको म प्रशंसक थिएँ । तपाईंको नेतृत्वमा नेविसंघको क्रान्तिकारी लोकतान्त्रिक छवि सुरक्षित हुन्छ र फस्टाउँछ भन्ने विश्वास थियो । पञ्चायतविरुद्ध विद्यार्थीहरूले छेडेको आन्दोलन तपाईंको नेतृत्वमा सफल हुन्छ भन्ने विश्वास थियो, प्रजातन्त्रप्रति समर्पित विद्यार्थीहरूको । 

नम्रतासाथ स्मरण र आग्रह गर्दछु कि २०३३-०३४ सालतिर रुवाखोलास्थित तपाईंको पारिवारिक निवासमा हामी दुईबीच पाँच-सात दिन निरन्तर रातभर चलेको छलफल । त्यसबेला भन्नुभएको थियो, ‘यस भेगका जनताले मलाई चिन्दै नचिनी सम्मान दिएका छन् । मबाट सुुदूर पश्चिमाञ्चलका नागरिकहरूले धेरै अपेक्षा राखेका छन् । अवसर मिलेपछि मैले यिनलाई धेरै नै गर्नुछ । संघर्षको पानीमा चुर्लुम्म डुब्न लागेको छु । पञ्चायत प्रवेश गर्ने त म कल्पना पनि गर्न सक्दिनँ । मझधारमा पुगेको छु, अब म फर्कन्नँ ।’

उक्त भेटघाट भएको दुई दशकपछि तपाईंले मसँग भन्नुभयो, ‘आज म एकदमै तनावमा छु । दिनभर दाजु–भाइ बसेर गफ गर्न आइज ।’ भोलिपल्ट म महाराजगन्जस्थित संसदीय दलको विपक्षी दल नेताको निवासमा पुगेँ । त्यो दिन डडेलधुरामा भएको पुरानो वार्तालाप, बैंकक तथा थाई कम्बोडियन सिमानामा रहेका शरणार्थी शिविरलाई सम्झेर गफियौँ । 

त्यो दिन सर्वाेच्च अदालतले मनमोहन अधिकारी नेतृत्वको अल्पमतको एमाले सरकारले प्रतिनिधि सभा विघटनका विषयमा निर्णय गर्नेवाला थियो । यो राष्ट्र निर्माणको अभिभारा तपाईंको काँधमा आइपुग्नेमा तपाईं ढुक्क हुनुहुन्थ्यो । नेपालीको जीवनस्तर कसरी उत्थान गर्ने तपाईंको प्रमुख चासोको विषय थियो । त्यस दिन यदि संसद्को पुनःस्थापना भएर तपाईं प्रधानमन्त्री नियुक्त हुनुभयो भने त्यसपछिका दिनमा तपाईंले चाल्ने पहलकदमीबारे छलफल गरेका थियौँ ।

लन्डन स्कुल अफ इकोनोमिक्समा तपाईंले सुशासनको महत्वका विषयमा ज्ञान हासिल गर्नुभएको थियो । त्यतिखेर भ्रष्टाचार निवारणको अनिवार्यताका विषयमा तपाईंका धारणा स्वच्छ थिए । भगवान्लाई भाकल गरेर घुस खुवाउने संस्कार भएको हाम्रो देशमा घुस कसरी रोक्न सकिन्छ भन्ने तपाईंको चासो थियो । प्रशासन संयन्त्रलाई प्रभावकारी तुल्याउन तपाईं कटिबद्ध हुनुहुन्थ्यो । त्यस दिनको राजनीतिक माहौल आजको भन्दा धेरै पृथक् थिएन ।

कुर्दाकुर्दै प्रतिनिधि सभा पुनःस्थापना निर्णयसम्बन्धी समाचार प्रसारण भयो । अदालतले २०५२ भदौ १२ मा मनमोहन अधिकारीको विघटन निर्णयलाई उल्टाइदियो । अपेक्षाअनुरूप नै विपक्षी दलको नेता तपाईं प्रधानमन्त्री हुनुभयो । त्यो दिन तपाईंको प्रतिक्रिया थियो, ‘अब यो देशको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो काँधमा आयो ।’ 
अदालतको उक्त फैसलापछि फोनका घन्टी लगातार बज्न थाले । म शुभकामना दिएर फर्किएको तपाईंलाई यादै हुनुपर्छ । त्यतिखेर तपाईंको नेतृत्वमा देशले काँचुली फेर्ने भयो भन्नेमा म विश्वस्त थिएँ । अदालतकै आदेशका कारण तपाईं यतिखेर प्रधानमन्त्री हुँदै हुनुहुन्छ । म फेरि पनि तपाईंलाई शुभकामना दिन्छु, सफल कार्यकालका निम्ति । साथै, स्मरण गराउन चाहन्छु कि यो तपाईंलाई प्राप्त भएको अर्को सुवर्ण अवसर पनि हो । विगतको भन्दा यतिखेर अवसर अझ चुनौतीपूर्ण छ ।
निःस्वार्थ हुँदै देशको इतिहासमा सुनौला अक्षरले नाम लेखाउने तपाईंका निम्ति अवसर पनि हो । देशले तपाईंलाई दिन सक्ने सबैभन्दा ठूलो पदवी सुम्पिएको छ । देशले आजको घडीमा त्यही निःस्वार्थ युवक शेरबहादुरको सेवा र समर्पण खोजेको छ ।

तपाईंले विवेक प्रयोग गर्नुभयो भने देशको इतिहासमा आफ्नो नाम सुनौला अक्षरले लेखाउनु हुनेछ । अन्यथा, तपाईंलाई घेराबन्दीमै राख्ने सीमित बिचौलियाको तपाईं प्रधानमन्त्री मात्र हुनुहुने छ । समस्त देशले होइन, सीमित स्वार्थ रक्षकहरूले फाइदा पाउनेछन् ।

विगत तीन दशकमा तपाईंले सत्ताको स्वाद पाइसक्नु भएको छ । चारपटक प्रधानमन्त्री भएर देश सञ्चालन गरिसक्नु भएको छ । सायद तपाईंलाई विगतको जस्तो प्रधानमन्त्री हुने रहर पनि छैन होला । सत्तामा टिकिरहनु या नरहनु तपाईंका निम्ति त्यति महत्वपूर्ण विषय होइन । तपाईं सत्तासीन हुँदा विपन्न नेपालीले के–कस्ता उन्नतिका अवसर पाए, दुःख–कष्ट भोगेका नेपालीहरूको उत्थानका निमित्त तपाईंले नेतृत्व गरेको सरकारले के-कस्तो लोककल्याणकारी नीतिहरूको कार्यान्वयन गर्यो । गरिबीको रेखामुनि परेका नागरिकको जीवनमा के–कस्ता सकारात्मक परिवर्तन आए । ती विषयहरूले तपाईंको सफलताको मापन गर्नेछन् । 

अन्तिममा तपाईंकै पथप्रदर्शक गुरु बीपी कोइरालाको अन्तिम सल्लाह जस्तै ‘यो धर्तीको माटो मुठ्ठीमा लिएर छातीमा राख्दै निर्णय गर्नुहोस् ।’ देशको भलोतिर केन्द्रित हुनुस्, विगतको सत्तामोह चरित्रलाई थाँती राखिदिनुहोस् । कुनै पनि राजनीतिक वा अन्य शक्तिसँग तपाईंले सौदाबाजी गर्नुपर्ने अवस्था आउँदैन । ‘डिरेल’ भएको देशलाई पुन निर्दिष्ट दिशा उन्मुख तुल्याउनु होस्, तपाईंप्रति राष्ट्र सदाका लागि आभारी हुनेछ । 

सदा तपाईंको हित चाहने भाइ



Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार