ब्लग

ब्‍लग

अचेल यस्तै छ बसन्तपुर

विष्णु विश्‍वकर्मा |
साउन २, २०७८ शनिवार १९:३५ बजे

फोटो स्रोत : दीपेश परियार

काठमाडौँ -  ‘पासाङ दिदी एक कप चिया’ हातमा हेल्मेट समातेका एक युवकले भन्यो । 

‘दिदी हामीलाई पनि है’ अरु युवाको स्वर पनि पहिले चिया माग्ने युवकको स्वरसँगै मिसियो । यसरी एक कप, एक कप गर्दा गर्दै पासाङ दिदीले एकपटकमा बनाउने चिया १० देखि १५ कपसम्म पुग्यो । त्यो पनि मात्रै १० मिनेटभित्रै । पासाङ दिदीले चियाको अर्डरसँगै फेरि किट्लीमा दुध थपिन्  । चिनी थपिन् र एक फ्वाँक चियापत्ति पनि ।


उनको यो दैनिकी बिहान आँखा खुलेदेखि राति नसुत्दासम्म चलिरहन्छ । वसन्तपुरमा काष्ठमण्डप नपुग्दै बायाँतिर मोडिदा भेटिन्छ, पासाङ दिदीको चियापसल । पसलभन्दा पसल छैन । आगो छ । किट्ली छ । चियाकप छ । मन्दिरको छेउमा कप धुने सानो बाल्टिन पनि छ । 

कप बारम्बार धोइरहनुपर्छ । किट्लीले भने एकछिन पनि आराम पाउँदैन । 

चिया खाँदै गर्दा युवाहरू सुनाउँछन्, ‘होइन, चिया हो कि गुलियो ?’

जवाफमा पासाङ दिदी भन्छिन्,‘चिया पनि गुलियो पनि ।’

उनले बनाएको चियामा चिया, चिनी र दुध मात्रै हुँदैन । स्वाद हुन्छ । यही स्वादको खोजीमा टाढा टाढाबाट पारखी आउँछन् । छेउछाउ हुने त आउने भइहाले नै। आक्कल झुक्कल हो, चिनीले स्वादलाई जित्ने नत्र त पासाङ दिदीको चियाले काठमाडौँका चिया अड्डा बिर्साइदिन्छ । 

उनकी छोरी एन्जिला यही वर्ष १७ टेकिन् । पासाङ दिदीले चिया बनाउन थालेको पनि ठ्याक्कै यति नै वर्ष भयो ।

मन्दिरनेर बसेर चियाको एक कप रित्याएपछि दोस्रो कप सुरुप्प पार्दै मैले दिदीको चिया अनुभव सोधेको थिएँ । तर दिदीलाई जवाफ दिने फुर्सद कहाँ ? 

आमाले जवाफ नदिएपछि एन्जिलालाई खसखस लागेछ । उनैले भनिन् ‘म जन्मेकै वर्षदेखि मामुले चिया बनाउन थाल्नु भएको हो ।’

पासाङ दिदी चिया बनाउनुहुन्छ । आँखामा चस्मा छ । पैसा हाल्ने सानो ब्याग छड्के भिर्नुहुन्छ । चिया बनाउनुहुन्छ । बेच्नुहुन्छ ।

‘साँच्चै दिनमा कति चिया बिक्री हुन्छ ?’ म पासाङ दिदीलाई बोलाइछाडने अभियानमा गएको त थिइँन । तर किन हो, प्रश्न भने फुत्त निस्किहाल्यो । 

‘दिनमै एक सय पोका त दुधै जान्छ होला । बाँकी तपाई आफैँ हिसाब गर्नुस’ छेउमै चिया खाइरहेका एक पुरुषले जवाफ फर्काए ।

‘कति हुन्छ होला ?’ मेरो प्रतिप्रश्नमा उनले भने, ‘दिनमा पाँच सयदेखि सात सय कपसम्म बिक्री हुन्छ । पहिला एक हजार कप बिक्री हुन्थ्यो ।’

‘तपाईंको नाम ?’ मैले सोधे ।

रविन । उनले जवाफ दिए । छेउमा महिला पनि थिइन् जो रविनकै कोही हुन् भन्ने अनुमान गरेँ।

‘तातो चिया पिउँदा पनि निराश हुनुहुन्छ त ?’ मैले फेरि सोधे ।

‘त्यस्तो केही होइन’ उनले टार्न खोजे । 

‘चियागफमा भन्न मिल्दैन ?’ मैले कोट्याउन खोजे ।

हेल्मेट उनको टाउकैमा थियो । कालो फ्रेम भएको चश्मा । चिया पिउँदै उनी मलाई हेर्थे । 

म त उनैसँग पासाङ दिदीको चिया पसलको रहस्य खोतल्दै थिएँ । 

‘भाइले विवाह गरेको छ । मिलाउनै टेन्सन भयो ’ रविनले भने  ।

‘विवाह गरेपछि टेन्सन किन ?’ चियाको चुस्कीमा उत्सुकता मिसाउँदै मैले सोधेँ ।

‘हामी क्षेत्री । मगर्नी ल्यायो’ उनले आँखीभौ ठूला पार्दै भने  ।

‘हामीलाई केही थिएन । हजुरआमाको कचकचले दिमाग खाइराछ ।’ 

कुरा अन्तरजातीय विवाहको रैछ । जातको रैछ ।

‘अब के गर्नुहुन्छ ?’ मैले सोधे ।

‘हजुरआमालाई पो टेन्सन त । हामीलाई बाल । सम्झाइराछौँ । भाइ त्यहाँसम्म छुट्टै बस्छ ।’ उनले भने ।

‘अब बुढो मान्छेको मन बुढेसकालमा किन दुखाउनु भनेर नि ?’ रविनकी श्रीमतिले पल्तिरबाट भनिन् ।

बुढेसकालको मन मनै हो । सारा ब्रह्माण्ड उल्टो देख्ने । मान्छेलाई मान्छे नसम्झिने । आँखा राम्ररी नदेखेपनि जात देख्छन् । जातअनुसारको मान्छे देख्छन् । तर त्यहाँ मानवता देख्दैनन् ।

नेपाली समाजको चित्र यस्तै छ । पल्लोपट्टी एक जोडी अगांलो मार्दै चिया खाँदै थियो । हामीले यो कुरा गरिसक्दा उनीहरु त्यहाँबाट उठे । पासाङ दिदीको चियाको पैसा तिरेर बाटो लागे ।

रुपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहले काठमाडौँका गल्ली–गल्ली तताएको छ । त्यही तातो हाम्रो चियागफसम्म पुग्यो । विभेदको बहसले काठमाडौँ तात्यो । तर मन त चिसै छ ।

जातीय विभेदबाट उन्मुक्ति पाउन खोजिरहेको छ । तर कहिले ? जवाफ ‘इनफिनिटी...’।

भूकम्पपछि बसन्तपुरको तस्बिर बदलिएको छ । बसन्तपुरका मानिसहरुको तक्दिर बदलिएको छ । अनि बद्लिएका छन्, बसन्तपुरका वास्तविकताहरु ।

भूकम्प आयो । गयो । सयौँ चोट दिएर गयो । बसन्तपुर भत्कायो । टेकोमा उभिने बनायो । अचेल बसन्तपुरका दरबारहरु टेकोमा अडिएका छन् । जो आफैं सहारा खोज्ने गरी मक्किएका छन् । तर धन्न विश्व सम्पदा सूचीले हटाइहालेको छैन । 

भूकम्पपछि विदेशी पर्यटक घटे । तर पासाङ दिदीको चिया पिउनेको तलतल घटेको छैन । युवादेखि वृद्धसम्म । सर्वसाधारणदेखि भीआइपीसम्म । गफिने जक्सन बसन्तपुर नै हो ।

कहिलेकाहीँ सरकारलाई केही कुरा सुनाउन पनि बसन्तपुर अभियन्ताको रोजाइमा पर्छ । तर शुक्रबार साँझको बसन्तपुर फरक थियो । सिमसिम पानी । असारबाट साउनेमा पुगेको झरी । मान्छेको ताँती । ढलेका मन्दिर । उठ्न खोजिरहेका गजुर । टेकैटेकोको भरोसा ।

असार साउनमा पानी पर्दा हिजोआज बसन्तपुरमा ओत लाग्न पाँइदैन । उसो त घाम लाग्दा पनि छहारी पाउन मुश्किल छ । तर पासाङ दिदीको पसलमा चिया खान चाँही पाइन्छ ।

गर्मी भएपनि । चिसो भएपनि । चिया सदाबहार छ । पासाङ दिदीको चियापसल पनि त्यसैको नमुना हो ।

‘कमाइ राम्रै हुन्छ होला है’ कप रित्याएपछि मैले सोधे । तर दिदी जुरुक्क उठेर हिडिन् । पत्रकार भएपछि प्रश्‍न साेध्‍ने बानी । तर जवाफ दिने सबैकाे बानी हुँदैन ।

रविनकी श्रीमतिले जवाफ फर्काइन्, ‘राम्रै छ नि । बुढा बुढी बसेका छन् । विदेश जानु परेको छैन । घर खर्च चलेकै छ । हामी नै चिया खान थालेको १२ वर्ष बितिसक्यो ।’ 

१२ वर्ष ! खोलो पनि फर्किन्छ भन्ने उखान सम्झेँ । पासाङ दिदीलाई दुई कपको ४० रुपैयाँ तिरेर म त्यहाँबाट हिडेँ। 

मोबाइलमा ९ बजेर ४२ मिनेट गएको थियो । लकडाउन पूर्ण रुपमा खुलिसकेको थिएन । ‘प्रहरी आउँदैन ?’ भनेर सोध्नै लागेको थिएँ । 

बाइकको साइरन बजाउँदै एक प्रहरी आइपुगे ।

‘ओई, किन यहाँ ? अनि किन बन्द नगरेको चियापसल ?’ प्रहरीले हप्काउने शैलीमा सोधे ।

म टाउकोमा हेल्मेट छिराएर हिँडे । मन्दिर पल्तिर दरबार अगाडिको प्रदर्शनीस्थलमा पुगेँ ।

बाइक रोकेँ । छेउकै बेन्चमा हेल्मेट खोलेर बसेँ । एक छिन सोचमग्न थिएँ ।

 फेरि प्रहरी त्यहाँ आइपुगे । 

‘फेरि यहाँ किन’ प्रहरीको उही रुखो स्वर कानमा ठोक्कियो । 

अचेल बसन्तपुर यस्तै छ । सम्पदा संरक्षण गर्ने प्रहरीको स्वर रुखो छ । पर्यटकको संख्या पातलो छ । 

विश्वका धेरै देशका पर्यटक यहाँ आउँछन् । हेर्न । घुम्न । विश्व सम्पदा सूचीको दरबार देख्न । तर साउने झरीमा दुखेको जस्तै छ, बसन्तपुर । भूकम्प गएको पाँच वर्षसम्म पनि सम्पदा उठेका छैनन् ।

सरकार धेरैपटक उठ्यो । धेरैपटक ढल्यो । प्रधानमन्त्रीको कुर्सीमा देउवा बसेका छन् । ओली उठेर बालकोट पुगे ।

तर बसन्तपुर जहाँको त्यही छ । जस्ताको त्यस्तै छ । भूकम्पपछि कोभिड महामारी आइपुग्यो । विपद्भन्‍दा झन् डरलाग्दो महामारी  ।

बसन्तपुरमा त्यो डर त छैन । तर भूकम्पले दिएको चोट भने गहिरो छ । बसन्तपुर पुगेका जो कोहीले त्यो चोट देख्छन् । कति देख्छन् । कति दुख्छन् । दुखेकाहरू एकछिन टोलाउँछन् ।

स्वदेशीले जति देखे पनि त्यस्तै हो । विदेशीले हेर्दैनन् मात्रै । फोटो खिच्छन् । हामी आँखामा राख्छौँ । उनीहरु फेसबुक, ट्वीटर र युट्युबमा राख्छन् । 

पहिले त त्यो हाम्रा लागि वरदान थियो । अहिले पनि बनिरहेकै छ । तर अहिले बसन्तपुरको आफ्नै व्यथा छ । कथा छ । यो दुखान्त कहिलेसम्म जान्छ ? थाहा छैन ।

तर काठमाडौँको पर्यटकीय मुटु मानिने बसन्तपुर अचेल यस्तै छ ।


Author

थप समाचार
x