ब्लग

कफी गफ ब्लग

ब्रेकअप भाइरस !

एउटा रहस्यमा छुटेको प्रेमकथा

विष्णु विश्‍वकर्मा |
साउन १६, २०७८ १९:२९ बजे

‘हामी अबदेखि नभेटौ हैँ’ रातो भालेको टेबलमा हेल्मेट नराख्दै उसले भन्यो । 

‘पानीमा भिज्दै किन भेट्न आइस् त ?’ मैले प्रतिप्रश्न गरेँ । 


ADVERTISEMENT

हेल्मेट टेबलमा राख्यो । चाबी टेबलमा मिल्काएर उसले भन्यो, ‘खोई यार ?’  

उसले रेनकोट लगाउन छाडिसकेको थियो । पानीको पर्वाह थिएन । पानी, झरी, वर्षा त उसका लागि चुरोटको धुवाँ जस्तै हो । जुन फोक्सोलाई एक चक्कर लगाएर उडाउनुमा मज्जा आउँछ ।

हेल्मेटको अगाडिको सिसा लगाउन पनि अल्छी गथ्र्यो । सेतो एप्रोन छोप्न भने कालो ‘विन्डप्रुफ’ ज्याकेट लगाउँथ्यो । यामाहाको स्टाइलिस बाइक चढ्थ्यो । बेंग्लोरको जुत्ता र सिंगापुरको चश्मा उसको फेसनका अभिन्न अंग थिए । 

एमबीबीएस पढ्दा उसले आँखाको सबै तेज गुमाइसकेको थियो । त्यही भएर उसले सबथोक बिर्से पनि चश्मा बिर्सँदैन ।

‘चश्माविनाको सौरभ पानीविनाको माछा जस्तै हो,’ एकपटक सुमीले मलाई सुनाएकी थिई, ‘राम्रोसँग देख्न सक्दैन । चिच्याउँदै चश्मा खोज्छ ।’

जसरी बाइकको चक्काले सबथोक सामना गरेर उसलाई दौडाउँछ । त्यसरी नै उसको जिन्दगी सुमीले दौडाइरहेकी थिई । म उसको स्रोता थिएँ । सुन्ने र सम्झिने मात्रै । मैलेभन्दा उसले बढी सम्झिन्थ्यो । सम्झेरै यसपटक पनि भेट्न आयो । 

‘मैले यस्तो भन्दा तँलाई दुख्दैन । नमज्जा लाग्दैन ?’ दायाँ खुट्टाले टेबलको बायाँ खुट्टा हिर्काएर उसले फेरि सोध्यो ।

‘दुख्छ नी यार’ मैले टाउको ढल्काएर जवाफ फर्काएँ । 

‘उसले यही भनि यार’ कुर्सीमा थ्याच्च बस्दै उसले भन्यो । नजर मेरो अनुहारबाट मोड्यो । टाउको झुकायो ।

‘मतलब ?’ मैले आँखा गाडेर उसलाई सोधेँ । 

आँखामा बर्रर्र..आँशु ल्याएर भन्यो, ‘अब नेभेटौँ भनी यार ।’ 

बाहिर पानी परिरहेको थियो । सिसा छलेर पानीका छिटाहरू उसको सेतो एप्रोनसम्म पुगे । चश्मा खोल्यो । आँखा माड्न थाल्यो । उसका आँखा पाकेका टमाटर जस्ता थिए । 

झण्डै एक करोड रुपैंयाँ खर्चेर सौरभ एमबीबीएस डाक्टर बन्यो । सुमी आफ्नो सुन्दरता सुम्पेर मोडल बनी । सुमी धरानबाट काठमाडौँ आएकी थिई । सौरभ नेपालगञ्जबाट । 

अस्कल क्याम्पसको पुस्तकालयमा उससँग मेरो पहिलो भेट भएको थियो । सम्भवतः २०७१ साल हुनुपर्छ । म नवज्योति एफएमबाट बिहान ६ बजेको समाचार पढेर अस्कल पुग्थँे । ऊ शिक्षण अस्पतालबाट त्यहाँ आइपुग्थ्यो । म  विद्यार्थी थिएँ । उ भिजिटर । तर मेडिकल साइन्सको जेहेन्दार विद्यार्थी ।

म फिजिक्स र केमेस्ट्री पल्टाउँथे । ऊ पत्रिकातिर आँखा गाड्थ्यो । रियल म्याड्रिडको ‘डाईहार्ट’ फ्यान । ग्लामर समाचारको नियमित पाठक । 

पत्रिकामै टाउको घोप्ट्याउँथ्यो । कारण, रातभरि पढ्थ्यो । बिहान क्लास सकिएपछि सिधै अस्कल आउँथ्यो । अनि पाकेको फलजस्ता आँखा लगाएर सुमीको प्रतीक्षामा हुन्थ्यो ।

कैयौंपटक उसलाई सुमीले पत्रिकामाथि घोप्टिएकै अवस्थामा उठाउँथी । त्यस दिन भने मैले उठाएको थिएँ । मैले नियमित पढ्ने नयाँ पत्रिका छपक्क छोपेर ऊ निदाएको थियो ।  

चिनजान गरुँ जस्तो लागेपछि परिचयको हात अगाडि बढाएँ । हात मिलाएर उसले भन्यो, ‘सौरभ बस्नेत । नेपालगञ्ज ।’ 

‘विष्णु विवेक, सुर्खेत ’ मैले पनि आफूलाई चिनाएँ ।

‘हामी छिमेकी जिल्लाको रहेछौँ । मेरो पहिलेको घर सल्यान हो’ उसले सामीप्यता देखायो ।

‘प्लस टु साइन्स’मा उसले ८१ प्रतिशत ल्याएर एमबीबीएस पढ्न थाल्यो । म ‘गुड सेकेन्ड डिभिजन’ थिए । 

उसको अब्बलता सर्टिफिकेटमा मात्रै थिएन । अनुहार, बोली र स्टाइलिस झन् बढी थियो । गोरो छाला । सर्लक्क ज्यान । पाँच फिटको हाईट । केटीहरू हुरुक्क हुने शरीर उसले जन्मजात बोकेको थियो । 

‘फेरि भेटौँला हैँ’ भन्दै म हिँड्न खोज्दा उसले सोध्यो, ‘तपाई रेडियोमा बोल्नुहुन्छ हो ?’

मैले सहमतिमा टाउको हल्लाएँ । ‘रेडियोमा बोल्ने जस्तो स्वर लागेर सोधेको । कुन एफएममा हो ?’ रेडियोको नाम जान्न चाहेको उत्सुकता आवाज र आँखा दुवैमा देखिन्थ्यो । 

‘नवज्योति एफएम । ८८.२ मेगाहर्ज । कोटेश्वर’ मैले केही होइन भने झैं गरी बताएँ  । हुन पनि थुप्र्रै ब्रान्डेड एफएम स्टेसनका अघि नवज्योतिको खासै नाम पनि थिएन । 

‘भोलिदेखि सुन्छु है’ उसले थप्यो ।  म हस् भन्ने भावमा टाउको हल्लाउँदै बिदा भएँ । मनमनै लागिरहेको थियो, ‘के सुन्ला र ?’

तर मैले नपत्याएको यही साथी नवज्योति एफएम, क्यापिटल, अन्नपूर्ण हुँदै उज्यालो रेडियो नेटवर्कसम्मको मेरो स्रोता थियो ।  अनि मेरो सबैभन्दा निकट साथी पनि । सुख, दुःख मात्रै होइन । प्रेम र विछोडमा खुल्ला किताब बन्यौँ ।

खासमा मलाई रेडियोकर्मी बनाइरहनमा सौरभकै ठूलो प्रेरणा थियो । जब म थोरै पैसाको यो जागिर ‘छाड्दिन्छु’ भनेर घुर्क्याउँथे । उसले मलाई सम्झाउँथ्यो, ‘म त डाक्टर बनेपछि धेरैमा लाख कमाउँला यार । तर पनि मलाई कसैले चिन्दैन । तर त एकैपटक लाखभन्दा बढी फ्यान कमाउँछस् । जहाँ जान्छस, नाम नभन्दै चिनिन्छस । तर म डाक्टर फलानो भनेर चिनाउँदा पनि ए ! मात्रै भन्छन् ।’

उसको यही फुर्क्याईले मलाई यो पेसा छाड्न दिएन । झण्डै दशकको संघर्षपछि म पत्रकार भएँ । ऊ डाक्टर भयो । एमबीबीएस पढ्न थालेदेखि डाक्टर बन्दासम्म सुमी उसको सहयात्री थिई ।

खासमा सुमी बिएस्सी नर्सिङ पढ्न चाहन्थी । उसले इन्ट्रान्स पनि दिएकी थिई । त्यहीबेला सौरभ र सुमीको भेट भएको थियो । तर नर्सिङ पढ्न उसलाई पैसाको बिटोले रोक्यो । त्यसपछि बाटो मोडर ऊ रंगीन दुनियाँ प्रवेश गरी । सौरभलाई सपनाको राजकुमार बनाएर रंगीन दुनियाँमा संघर्ष थाली । 

सुमी सौरभलाई जीवन भन्थी, संसार सम्झिन्थी । तर आज उसले अचानक सौरभलाई यो दुनियाँबाट बेदखल गरेकी थिई ।  सौरभ यही दुःख मलाई पोख्न साउने झरीमा भिज्दै रातो भालेमा आएको थियो ।

मैले ऊसँगको सम्बन्धलाई रिक्याप गरिरहँदा वेटरले मेनु टेबलमा राख्दै सोध्यो, ‘सर के के ल्याउँ ?’

‘पाँच वटा चुरोट र ब्ल्याक कफी’ उसले अर्डर लेखायो । 

‘भाइ चुरोट दुई वटा मात्रै ल्याऊ’ मैले उसको अर्डर टेकओभर गरेँ । वेटर अर्डरको सामान लिन फर्कियो । 

‘कोभिड झेलेपछि मैले चुरोट पिउन छाडेँ यार ।’ नरम स्वरमा भने । 

उसले आँखीभौं तन्कायो । लाइटर बालेर चुरोट सल्कायो । 

‘कोभिडको कुरै नगर यार’ चुरोटको धुवाँ उडाउँदै उसले भन्यो, ‘दिमाग तातेर आउँछ ।’

कोभिड रिर्पोट नेगेटिभ आएपछि उसले भृकुटीमण्डपमा सुनाएको थियो, ‘मृत्युको मुखबाट फर्केर आएँ । उसलाई भेट्ने दिनको प्रतीक्षामा थिए । तर ब्रेकअपको नयाँ भाइरस थपेर गई ।’

सौरभलाई जुन दिन कोभिडले भेट्यो । त्यो दिनबाट सुमी छुटी । उसले यसबीचमा डेरा सारी । मोबाइल नम्बर परिवर्तन गरी । दूरी बढाइ । 

सौरभलाई औपचारिकतामा सीमित पारी । कोभिडले हातखुट्टा कक्रक्क पारेका बेला सौरभ सुमीको नाम लिन्थ्यो । तर सुमी सुनेको नसुन्यै गर्थी । सौरभ त्यहीँबाट चिढिएको थियो । 

सौरभ अपरेसन थियटरमा व्यस्त हुँदा सुमी मलाई मेसेन्जरमा गुनासो गर्थी । भेट्न नपाएकोमा गुम्सिन्थी । तर भेटेपछि कुरा गरेपछि जस्ताको तस्तै हुन्थी । थकथकी माने जस्तो लाग्थेन ।  एउटा जिम्मेवार डाक्टरलाई प्रेमी पाएकोमा खुशी थिई ।

तर मेरो मेसेन्जरमा उसको नामको नोटिफिकेसन नबजेको चार महिना भयो । सायद वैशाखदेखि हुनुपर्छ । यो त्यही समय थियो जतिबेला सौरभलाई कोभिड पोजेटिभ भएको थियो । 

‘कोभिडको बेला कानमा एयरफोन कोचेर एकपटक माइतीघरमा भेटन् आएकी थिई’ सौरभले मौनता तोड्दै भन्यो, ‘त्यसपछि न फोन उठाउँछ । न भेट्ने कुरा गर्छ यार । कुरा गरेपनि हुन्थ्यो नि । त्यो पनि छैन ।’

सौरभ भन्थ्यो, ‘कोभिडले सुरुमा फोक्सोमा हान्यो । त्यसपछि मृगौला । तर त्यसको यादले त अंग अंगमा हानिराछ यार । धन्न सास टिकेको छ ।’

‘सुमीको रिसमा धेरै चुरोट नखा । नत्र यसले लैजाला तेरो सास’ मैले जिस्किने स्वरमा भनेँ । 

उसले सुनेन । दुई वटै चुरोट उडाइसकेको थियो । वेटरले कफी ल्याएर राख्यो । 

सौरभले तीन वटा औला देखाएर वेटरलाई भन्यो, ‘भाइ तिनटा चुरोट ।’ 

‘निष्ठुरी केटीको कुरामा के सेन्टी भइराको ?’ चुरोट तान्न नछाडेपछि मैले सोधे ।

‘देखिनस् यत्रो टेन्सन’ झर्किएर भन्यो । 

सोचेँ केटो गम्भीर मोडमा छ । प्रेम सोचेभन्दा पनि गम्भीर हुन्छ । सोचेर गरेको प्रेम नसोचेको जस्तो भैदिन्छ । उसलाई यही भन्न खोजेको थिएँ । तर सकिन ।
मैले सुमीलाई निष्ठुरी भने पनि उसले सौरभलाई कम माया गरेकी होइन । सौरभ एमबीबीएस पढ्दै गर्दा ड्रग्स लिन थालेको थियो । तीन महिना जति रिह्याब सेन्टरमा पनि बस्यो । जतिबेला रात दिन नभनी उसलाई सुमीले सम्हालेकी थिई ।

तर उसले यसको लत छाड्न सकेको थिएन । सोही कारण सौरभको एमबीबीएस खर्च झण्डै एक करोड पुगेको थियो । यो कुरा सुमीले नै मलाई भनेकी थिई । ऊ सौरभको यो आदत छुटाउन मरेर लागेकी थिई । तर आज सुमीले नै फेरि सौरभलाई ड्रग्सको सहारामा बाच्ने अवस्थामा पुर्याएर हिडिदिई ।

प्रेमिका छाड्दाको पीडा कति भयानक हुन्छ ? शाहिद कपुरको ‘कबीर सिंह’ले यसको जवाफ दिन्छ । पेसा र पीडा दुवै मिलेका पनि थिए । म सौरभलाई डा.सौरभ बस्नेत देखिरहन चाहान्थेँ । ‘कबिर सिंह’को नेपाली भर्सन होइन ।

यही कुरा सुमीलाई भन्नु थियो, सम्झाउनु थियो । तर भेटेको भए पो ! उसले मेरो मेसेज हेरे पो ! सुमीले ‘इग्नोर’ भन्ने शब्दको पूरापुर अर्थ सम्झाइ दिएकीथी मलाई पनि । तर म सौरभप्रति पनि पूर्ण विश्वस्त थिइँन । ‘यसले पनि सुमीलाई कतै न कतै दुखाएको छ,’ मनमनै सोचेको कुरा भन्ने आँट बटुले ।

‘तैले सुमीलाई के भनिस्, जुन कारण ऊ टाढा गई ?’ मैले हिराशतको पुलिसकै स्टाइलमा केरकार पार्ने शब्द छेडे । 

‘त्यो थाहा पाएको भए खुट्टै ढोगेर माफी माग्थे नि यार ! चुपचाप टाढिएर गईदिएर पो दिमाग तातेको हो ?’ उसको विवशतपूर्ण उत्तरले मभित्रको पुलिस स्टाइल ठाउँको ठाउँ मुर्झायो । बेकारमा शंका गरेछु जस्तो जस्तो लाग्यो । 

टेबलमा कुइना टेकाएर आँखा जुधाउँदै भने, ‘नेपाली मोडलिङ क्षेत्र तैले सोचेको जस्तो छैन । अनेक हुन्छ त्यहाँ । त्यो क्षेत्रको असलियत देखिस् भने तैले सुमीलाई त्यता जानै बन्द गर्दिन्छस । अहिले उसलाई त्यस्तै केही समस्या पर्‍यो कि ?’

मेरो सम्झाइ सुनेपछि उसले एकटक हेरिरह्यो । सायद सुमीले उसलाई आफ्ना पीडा सुनाएकी थिइन । उसका आँखाले त्यही संकेत गर्दै थिए ।
सोधे, ‘सुटिङ स्पटमा छाड्न र लिन कत्तिको जान्थिस् ?’ 

‘एकपटक राति २ बजे चोभार लिन गएको थिएँ । त्यही एक पटक मात्रै हो’ सौरभले भन्यो ।

पछिल्लो समय सुमीको व्यस्तता घटेको थियो । सुरु सुरुमा हप्तामा तीन वटासम्म म्युजिक भिडियो खेल्थी । त्यसपछि दुई वटामा झर्यो । अहिले मुस्किलले एउटासम्म हुन्छ । 

सौरभका कारण सुमीलाई पैसाको अभाव थिएन । उसले पैसाका लागि मोडलिङ गरेकी पनि थिइन । मोडलिङ उसको ‘प्यासन’ थियो । यसमा जम्नैका लागि उसले कैयौँ वर्ष कोरस नाची । ठीक यही समय सौरभले भने आफूलाई डाक्टर बनाउन घुँडा धसेर पढिरहेको थियो । 

त्यसपछि उसले फाट्टफुटट् क्यामेराको फोकस पाइ । एक दुई वटा गीतमा मुख्य भूमिका पाई । बाँकी त उसको सपना सपनैमा सीमित थियो । तर सौरभलाई यी सबै कुराको मतलब थिएन । किनकि उनीहरूको मन मिलेको थियो । बाँकी कुरा खोतल्नै परेन ।

मोबाइलमा फोनको घण्टी बज्यो । फोटो सुमीकै थियो । तर नम्बर अस्पतालको क्याबिनको । अलमलमै उसले फोन उठाएर भन्यो, ‘म आउँदैछु । १५ मिनेटमा आइपुग्छु ।’

‘सरी यार । ड्युटी टाइम भयो ।’ उसले फोन राखेर भन्यो ।

‘अब निक्लिऊँ न त’ मैले पनि भने । 

अन्तिम चुरोट तीन सर्का तानेर स्ट्रेमा ठोस्दै उसले भन्यो, ‘सरी यार । के–के काम थियो होला तेरो, डिस्टर्ब गरिदिएँ ।’

उ जति नै पीडामा भएपनि आफ्नो कर्तव्य भुल्दैन थियो । काममा जति पागलपन ममा थियो, त्यो भन्दा दुईगुणा बढी उसमा थियो । यही हाम्रो मित्रताको सबैभन्दा कसिलो कारक थियो । 

हतार हतार हेल्मेट टाउकोमा छिराएर ऊ रिसेप्सनमा लाग्यो । बिल तिर्यो । त्यतिबेलासम्म मैले बाइक स्टार्ट गरिसकेको थिएँ । हल्का पानी परिरहेकै थियो ।
बिदाइको हात हल्लाएर ऊ स्टार्ट बटनबाट थर्ड गियरमा कुद्यो । हेर्दाहेर्दै मेरो लुकिङ ग्लासबाट पनि अलप भयो ।

म पनि सिमसिमे पानीमा रुझ्दै घट्टेकुलो लागेँ । तर बाटोभरि, एउटै कुरा मनमा खेलिरह्यो, ‘सुमीलाई कसरी भेट्ने र सौरभसँग प्याचअप गराउने ?’ 

 

क्रमश...


 

 

 


 


 



Author

थप समाचार