ब्लग

रिपोर्टरको डायरी

चितवनमा पाँच दिन : म १९ वर्षीय पत्रकारले ओलीलाई यसरी चिनेँ...

अनिष भट्टराई |
मंसिर १७, २०७८ शुक्रबार १३:२५ बजे

नेकपा एमालेको दशौँ महाधिवेशनको रिपोर्टिङको मौका पाएपछि चितवनतर्फ लागेँ, ९ मंसिरमा । १९ वर्षकै सानो उमेरमा देशकै ठूलो राजनीतिक दलको रिपोर्टिङ गर्ने मौका मिलेको थियो । म त्यहाँ गएर केवल भाषण उतार्नु थिएन, जे देखेँ, त्यसलाई बाहिर ल्याउनु थियो । 

महाधिवेशनमा एमालेले गर्ने राम्रा-नराम्रा अभ्यासलाई बाहिर ल्याउनु थियो । मैले त्यहाँ गएर १० मंसिरमा एउटा भिडियो बनाएँ, स्याङ्जाबाट आएका वृद्ध भेषबहादुर कार्कीको । उनले आफूलाई मेला भनेर ल्याइएको र महाधिवेशनबारे थाहा नभएको प्रतिक्रिया दिएका थिए । सो भिडियो इकागजको पेजमा मात्र चार लाख बढीले हेरेका छन् । 


यसमा केही त्यस्ता प्रतिक्रिया आए, जसलाई म यहाँ उल्लेख गर्न सक्दिनँ । मलाई बस् यति थाहा थियो, कि मैले यस्ता प्रतिक्रियालाई सहज रूपमा लिनुपर्छ । यो लेखमा पनि केही त्यस्ता प्रतिक्रिया आउन सक्छन्, तर यो नितान्त मेरो व्यक्तिगत अनुभव भएकाले मलाई ती प्रतिक्रियाले असर गर्नेछैनन् भन्‍नेमा ढुक्क छु । एक रिपोर्टरले एमाले महाधिवेशनबाट जे बुझ्यो, त्यही यस लेखमा उतारिएको छ । 

०००
नेकपा एमालेको दशौँ महाधिवेशनपछि एमाले अब ‘प्राइभेट कम्पनी’ जस्तो बनेको छ । ओलीको हैकमविरुद्ध बोल्ने नेताहरू किनारा लगाइएका छन् । भलै ओलीको सर्वसम्मत अध्यक्ष बन्‍ने चाहना पूरा नभए पनि उनले चाहेबमोजिम पदाधिकारी र केन्द्रीय कमिटी बनाएका छन् । अब ओलीलाई पार्टीमा समस्या निम्त्याउन सक्ने नेता देखिँदैनन् । 

नवौँ महाधिवेशनबाट पनि ओली नै निर्वाचित भएका थिए । त्यतिबेला र अहिलेको स्थितिमा निकै ठूलो अन्तर छ । नवौँ महाधिवेशनपछि ओलीका काम सच्याउन आग्रह गर्न सक्ने वरिष्ठ नेताहरूको चाङ थियो । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेता निस्किएपछि अब भने त्यसो हुनेछैन । जसो ओली चाहनेछन्, उसै एमाले अघि बढ्नेछ । 

पार्टीभित्र ‘आलोचनात्मक चेत’ भएका भनिएका रावल, भुसाल लगायतका नेता अब पाखा लागेका छन् । उनीहरूको बोली त महाधिवेशन हलले नै बन्द गरिदिइसक्यो । भलै उनीहरू सही थिए, लोकतान्त्रिक विधि, मान्यता टिकाउने मनसायमा थिए । तर त्यो भीडले यी विधि, मान्यता चिनेन । भीडमा उत्साह थियो, उत्तेजना थियो तर चेत थिएन । ओलीले महाधिवेशनमा आएका प्रतिनिधिको जमेर खातेरदारी गरे । महाधिवेशन  प्रतिनिधिलाई पेलेर, गलाएर अघि बढ्ने नीति नेतृत्वले लिएको थियो ।

निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भइसकेपछि ओलीले सामान्य राजनीतिक शिष्टाचार पनि देखाएनन् । खाना पकाउने भान्छेदेखि होटलमा राख्ने व्यवसायीलाई धन्यवादका पात्र बताए पनि आफूसँग प्रतिस्पर्धा गरेका रावललाई एक पटक पनि धन्यवाद भन्‍न सकेनन् । यसले ओलीले जिते पनि हारेको संकेत गर्छ । हार यसअर्थमा कि उनको सर्वसहमतिको अध्यक्ष बन्‍ने चाहनामा रावलले भाँजो हालेका थिए । रावलले लोकतान्त्रिक विधि, मान्यता जोगाएर जित महसुस गरे । 

०००
महाधिवेशनको तेस्रो दिन १२ मंसिरमा बिहान १० बजेका लागि बन्द सत्र आह्वान गरिएको थियो । तर अध्यक्ष केपी ओलीलाई चुनौती दिएका भीम रावललाई सहमतिमा ल्याउने नभए ‘गलाएर’, ‘पेलेर’, बढिने चर्चा महाधिवेशन स्थलमा थियो । 

यो हल्लालाई साँचो भएको हुन सक्ने आधार सो दिन बन्द सत्र सुरु भएको समयले नै दियो । बिहान १० बजे महाधिवेशन प्रतिनिधिलाई बोलाएर १२ घन्टा कुराइयो । बन्द सत्र राति १० बजेपछि मात्र सुरु भयो । बन्द सत्रस्थलमा प्रतिनिधिहरू दिनभरि कुर्न बाध्य भए । उता अध्यक्ष ओली भने आफ्ना विश्वास पात्रहरूसँग छलफलमा दिन कटाए । ओलीका विश्वास पात्रहरू प्रदीप ज्ञवाली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलले केन्द्रीय कमिटीका सदस्यको नामावली टुङ्ग्याउन दिनभर छलफल गरे । 

यसअघि ११ मंसिरमा महाधिवेशन हलले सम्पूर्ण केन्द्रीय सदस्य र पदाधिकारी छान्‍ने जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो । सोही ‘म्यान्डेट’अनुसार ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्‍नुपर्ने थियो । तर दिनभरमा पनि केन्द्रीय सदस्य र पदाधिकारीको नामावली नटुङ्गिएपछि राति १० बजेमात्र बन्द सत्रमा ओली प्रवेश गरे । 

महाधिवेशन प्रतिनिधिहरू सबै अलमलमा थिए । एक हिसाबले सबैलाई ‘गुमराह’मा राखिएको थियो । यसबाहेक पार्टीको निर्वाचन आयोगले पनि पदाधिकारीहरूलाई झुलाइरह्यो । राति ११ बजेदेखि सुरु हुने निर्वाचनका प्रक्रिया थालिने भन्दै आयोगले कार्यतालिका सार्वजनिक गर्यो, राति साढे ११ बजे । केन्द्रीय सदस्य, पदाधिकारीका आकांक्षीले फारम भरिरहेका थिए । सोही बेला आयोगले बिहान ८ बजेसम्मका लागि सम्पूर्ण प्रक्रिया स्थगित भएको सूचना टाँस गर्‍यो । 

अलमलिएका प्रतिनिधिहरू कोही होटल फर्किए । वीरगञ्जबाट आएका महाधिवेशन प्रतिनिधि अर्बिन सिंहले आफूहरू सुत्न गएपछि नाम अनुमोदन भयो भनेर समाचार आउँछ कि भनेर ठट्टा गरे । ‘अब सुत्न जाने होला । फेरि सुतेपछि थाहा नहोस् कि नाम अनुमोदन भइसक्यो,’ उनको ठट्टा थियो । 

सिंहको यो ठट्टा वास्तविकतामा परिणत भयो । एकाएक ओलीले पदाधिकारी तथा केन्द्रीय सदस्यको नामावली पढ्न थालेको हल्ला चल्यो । बन्द सत्रमा ओलीले प्रस्ताव गरेका नामावली पढ्न सुरु भइसकेको थियो । पौने १ मा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सबैलाई फोन मेसेजमार्फत जानकारी पठाए । नेताहरू त्यतै लागे । प्रतिनिधिहरू त्यतै लागे । जाँदाजाँदै काभ्रेकी शन्तकुमारी लामाले सुनाइन्, ‘बिजोगै छ । भात खान आए जस्तै भयो, तीन दिनदेखि सुकाएर राकेका छन् ।’ आफूहरूलाई नेतृत्वले गुमराहमा राखेको अरु प्रतिनिधिले प्रतिक्रिया दिए । 

ओलीले बन्द सत्रमा केन्द्रीय कमिटीका नामावली पढ्न थाले । उनले केही नाम लिँदा बन्द सत्रमा विरोध पनि भएको थियो । तर पनि बहुमतको आडमा ओलीले ती नाम अनुमोदन गराए । विरोध गर्ने कम हुँदा उनीहरूको बोली दबाइयो । 

ओलीका गलत कदमलाई पनि सदाझैँ सही भनेर हौस्याउने नेताहरू उनको टिममा छन् । उनलाई सही-गलतबारे कसैले झक्झक्याउने छैनन् । एमालेमा अब लोकतन्त्र निमिट्यान्‍न पारिएको छ । एमाले अब त्यही दिशामा अघि बढ्नेछ, जुनमा ओलीको इच्छा हुनेछ ।

ओलीले केन्द्रीय कमिटीको नाम सकाएपछि आयोगका पदाधिकारीको नामावली सुनाए । अन्त्यमा ओलीले आफूले नाम पढेका सबैलाई निर्वाचन आयोगमा गएर मनोनयन भर्न लगाए । अरुलाई नाम भरेर समस्या ननिम्त्याउन उनले निर्देशनात्मक अनुरोध गरे । 

ओलीको सूचीमा नपरेका घनश्याम भुसालले पनि मनोनयन भरे । उनले आफ्ना कार्यकर्ताहरूसँग कुराकानी गर्दा ओलीले नियोजित रूपमै मतदान नचाहेको र केही नेता चुनावबाट आउन नसक्ने डर ओलीमा भएको सुनाए । ‘२०/२५ प्रतिशत आफ्ना नेता जोगाउनलाई यसो गरियो । उनीहरू निर्वाचना जाँदा हार्ने निश्चित भएकाले डराएर खेल खेलियो । खासमा नारायगढको भिडको प्रतिनिधित्व सौराहाले गर्न सकेन । त्यहाँ सिस्टम, डेमोक्रेसी, लका लागि जनता आए । तर यहाँ ती केही पनि छैनन्,’ भुसालले भनेका थिए । 

केन्द्रीय कमिटीमा नाम आएका प्रतिनिधिहरूले मनोनयन भरे । सबै बन्द सत्रमा जम्मा भएपछि ओलीले पदाधिकारीको नामावली सुनाए । पदाधिकारीको नाम सुनाउनुअघि उनले अध्यक्षका प्रत्यासी भीम रावललाई उपाध्यक्ष भएर काम गर्न निर्देशन दिए । तर रावलले आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नसक्ने बताए । रावलविरुद्ध नाराबाजी चल्यो । रावल टसकामस भएनन् । 

ओलीले १९ जना पदाधिकारीको नामावली पढेर सकाए । त्यसमा भीम आचार्य, घनश्याम भुसाल लगायतको पनि नाम आएन । ओलीले पदाधिकारीमा पनि नाम नअटाएकालाई मनोनयन नभर्न निर्देशन दिए । उनको तर्क भने सुन्दा हाँसउठ्दो थियो । ‘फाइनल टुङ्गो पारित भइसकेको छ । कसैले चुनाव लड्छु भनेर भन्यो भने भोलिबाट नै हामीलाई बस्ने ठाउँ हुनेछैन । समस्या  नगरौँ, मैले भनेअनुसार फारम भरौँ,’ ओलीको तर्क थियो । रावलले भने सम्पूर्ण प्रक्रियामा आफ्नो असन्तुष्टि रहेको भन्दै निर्वाचनमा जाने घोषणा गरे । उनीविरुद्ध बन्दसत्रमा पुन: नाराबाजी घन्कियो । 

१३ गते पनि निर्धारित समयमा निर्वाचन प्रक्रिया अघि बढ्न सकेन । पटकपटक गर्दै निर्वाचन बिहान दुई बजेसम्मका लागि सर्यो । यसबीच उम्मेदवारी दिएका ‘बागी’ नेताहरूलाई उम्मेदवारी फिर्ता गर्न पार्टी नेतृत्वले दबाब दियो । उम्मेदवारी फिर्ता लिनुपरेका एक नेता हुन्, डडेल्धुराका पदम जोशी । ‘फिर्ता लेऊ भनेपछि फिर्ता लिनै पर्यो, पार्टीबाट मलाई पटकपटक धोका भएको छ,’ यो भन्दा उनको आँखा रसाइसकेका थिए । 

निर्वाचन आयोगले बिहान २ बजे मतदान सुरु हुने बताएपछि त्यही अनुसार आफ्नो काम गर्न सक्नुपथ्र्यो । तर त्यसो हुन सकेन, २ घन्टा ढिला गरी बिहान ४ बजे निर्वाचन सुरु भयो । निर्धारित समयमै निर्वाचन सुरु हुने आशामा प्रतिनिधिहरू महाधिवेशन स्थल पुगेर लामबद्ध भए ।

मत चाहिएका ओली लगायतका नेता भने बिहान ४ बजेमात्र महाधिवेशन स्थलमा पुगे । प्रतिनिधिहरू बिहानको ठण्डीमा ठिहिरिँदै उभिएका थिए । उनीहरू एकआपसमा दु:ख पाएको, बिनाकाम दु:ख दिइएको भन्दै भलाकुसारी गर्थे । तर मिडिया उनीहरूसँग पुगेर ती प्रतिक्रियाबारे सोध्दा उनीहरू पार्टीका लागि ज्यानै दिन सक्ने भन्दै बिहान २ बजे भेला हुनु आफूहरूका लागि असहज नभएको बताउँथे । एक हिसाबले उनीहरूमा डर थियो, पार्टी अध्यक्ष ओलीको । 

केन्द्रीय कमिटीमा नपरेकी मन्जु मलासीलाई भने केही डर थिएन । उनी खुलेरै बोलिन् । ‘दुई दिनमै सकिन्छ भनेर बोलाए पनि चौथो दिनसम्म पनि सकिएको छैन । यो अव्यवस्थित भयो के सबै प्रक्रिया । मेन टाउकेका कारण हामीलाई दु:ख दिइएको छ,’ मलासीले भनिन् । 

उनकै छेउमा निराश मुद्रामा थिइन्, डोटीकी सीता विश्वकर्माले आफूहरूको मर्म नेताले नबुझेको दुखेसो पोखिन् । आफूहरूलाई धेरै दिन बाहिर डुलेर घरमा खान नपुग्ने उनको तर्क थियो । ‘खाएर बसेर डुल्न सबैलाई सम्भव छैन । नेताहरू नेतागिरी गरेर खानुहुन्छ, हामी सोझा कार्यकर्तालाई पार्टीले दु:ख दिएको छ,’ विश्वकर्माले बताइन् । 

मतदान सुरु भएपछि महाधिवेशन स्थलमा केही नेतालाई मत नदिन भन्दै प्रचा बाँडियो । ओलीले रोजेका बाहेक अरु नेतालाई मत नदिन भन्दै बाँडिएको सो पर्चा लिएर प्रतिनिधिहरूले भोटिङ गरे । प्रचालाई ‘चिट’ बनाएर उनीहरूले गरेको भोटिङमा पनि निर्वाचन आयोग मौन देखियो । देखे नदेखे जस्तो गरियो । 

०००
‘मदन भण्डारीलाई नारायणी किनारमा लगेर कसले सिध्यायो थाह भएन तर भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई सिध्याउन ओलीले नारायणी नदीकै किनार रोजे । भौतिक शरीर र विचार दुवैको हत्या एउटै नदी किनारमा हुनु कस्तो भयानक संयोग । इतिहासले यी संयोगको ख्याल राख्नेछ ।’

यो लेखोट लेखक गनेस पौडेलको हो । उनले आफ्नो यस लेखोटमा ओलीले मदन भण्डारीको विचार जबज (जनताको बहुदलीय जनवाद)लाई भण्डारीको मृत्युस्थलमा लगेर सिध्याएको बताएका छन् । कुनै बेला ओलीसँगै सहकार्य गरेका नेता सीपी मैनाली ओलीले जबजको रटान लगाए पनि व्यवहारमा कहिल्यै नउतारेको बताउँछन् ।

भलै मैनाली जबजको आलोचक हुन्, तर पनि ओलीले जबजको अपव्याख्या गरेको उनलाई चित्त परेको छैन । ‘जबजलाई हुन त हामीले पुँजीवादी सिद्धान्त भन्‍ने गरेका छौँ । हामी यसलाई मान्दैनौँ तर जुन पार्टीले यसलाई सिद्धान्त भनेर बढेको छ, उसले पनि जबजको व्याख्या राम्रो गर्न सकेको छैन । ओलीले यसलाई व्यवहारमा उतारेकै छैनन्,’ मैनालीले भने । 

०००
ओलीले आफूलाई यस महाधिवेशनमार्फत पार्टीमा देवत्वकरण गरेका छन् । पार्टीमा आफूबाहेक अरुको नचल्ने सन्देश दिएका छन् । तल्ला तहका नेता-कार्यकर्ता उनका लागि केवल मोहरा भएको पुष्टि गरेका छन् । ओलीले जनवादलाई शक्तिका आडमा निमिट्यान्‍न पारेका छन् । पार्टीभित्रको लोकतन्त्र अब रहनेछैन । पार्टीमा ओलीतन्त्र चल्नेछ । 

पार्टी लाखौँ मानिस संगठित समूह हो । तर ओलीले यसलाई व्यक्तिवादी चरित्रले अघि बढाएका छन् । पार्टीमा असन्तुष्ट नेताहरूसँगै आलोचकलाई ओलीले कुनै स्थान दिएका छैनन् । नेता बिग्रने नै अतिवादले हो, देवत्वकरणले हो । अब ओलीका गलत कदमलाई पनि सदाझैँ सही भनेर हौस्याउने नेताहरू उनको टिममा छन् । उनलाई सही-गलतबारे कसैले झक्झक्याउने छैनन् । एमालेमा अब लोकतन्त्र निमिट्यान्‍न पारिएको छ । एमाले अब त्यही दिशामा अघि बढ्नेछ, जुनमा ओलीको इच्छा हुनेछ । आउँदो निर्वाचनपछि सत्तामा आउने दाबी गरिरहेको एमालेलाई ओलीले कुन दिशामा हिँडाउँछन्, हेर्न रोचक हुनेछ ।

र, यो पनि


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x