ब्लग

कोराना बन्दीको बकपत्र

दिपेश घिमिरे |
फागुन ५, २०७७ १६:१८ बजे

अमेरिका अन्ततः म कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिनँ । अमेरिकामा अघिल्लो हप्तासम्म संक्रमित करिब २ करोड ८३ लाख नम्बरमा मेरो पनि हिस्सा रह्यो । विगत एक वर्षदेखि हर तरहले सावधानी अपनाएर जोगिएको भने थिएँ । 

घरबाहिर निस्किँदा मुखमा मास्क र गोजीमा सेनिटाइजर छुट्दैनथ्यो । जहिल्यै ६ फिट दूरी कायम राखेँ । मेरो नङ टोक्ने बानी थियो । साह्रै गाह्रोसँग यो खराब बानीलाई पनि सुधार्दै लगेको थिएँ । बाहिर हिँड्दा सिधै कुनै वस्तुलाई नछुने, सकेसम्म हातका औँला प्रयोग नगर्ने, ढोका खोल्दा कुहिनोलाई प्रयोग गर्ने जस्ता सावधानी अपनाइरहेको थिएँ । बानी-व्यवहारमा ल्याएको परिवर्तनका कारण कोरोनालाई छल्दै जोगिएँ । लुकामारी एक वर्ष त चल्यो, तर कोरोनाले मलाई छक्याइहाल्यो । म कोरोनाको संक्रमणबाट जोगिन सकिनँ । 


ADVERTISEMENT

करिब दुई वर्षको अमेरिकी बसाइ बिट मार्दै नेपाल फर्किन पीसीआर टेस्ट गर्दा मेरो स्वास्थ्यमा कुनै समस्या थिएन । कुनै लक्षण थिएन । परीक्षण गरेको तेस्रो दिन राति मलाई हल्का ज्वरो आयो । मेरो आवाज हल्का बस्यो । हल्का टाउको दुख्यो । म बाहिर फुसफुस परिरहेको हिउँले ल्याएको चिसोका कारण स्वास्थ्य अवस्था बदलिएको होला भन्‍ने भ्रममा रहेँ । 

तर नेपाल फर्किने दिन बिहान मेरो मोबाइलमा आएको मेसेजले ममा कोरोना पोजेटिभ देखायो । उक्त जानकारीसँगै हेल्थ डिपार्टमेन्ट लगायतका विभिन्न निकायबाट एकपछि अर्को गर्दै टेलिफोन र मेसेज आउन सुरु भए । त्यसपछि म केही मिनेट अगाडिको म रहिनँ । अरु केही भइसकेको थियो मलाई । जे भए पनि त्यसलाई आत्मसात् गर्नु र सकेसम्म उच्च आत्मविश्वाससाथ सामना गर्नुको विकल्प थिएन ।छोटो समयमै म त्यसका लागि तयार भएँ । जीवनकै कठिन दिनहरूलाई एउटा कोठामा बसेर एक्लै अनुभव गर्न म तम्तयार भएको थिएँ । आफ्नै जीवनको लामो यात्रालाई एक्लै १० दिन लगाएर सिंहावलोकन गर्न विवश थिएँ । 

शान्तिको उच्च शिक्षा विदेशमा लिने चाहना थियो । आफ्ना केही उर्वर वर्ष उनले मेरो शिक्षा तथा करिअर र छोराको पालन-पोषणमा समर्पण गरेकी थिइन् । मेरा हरेक चाहना र लक्ष्यलाई उनले जहिल्यै सहयोग गरिरहिन् । आफ्नो करिअरलाई एउटा तहमा पुर्याएपछि उनको उच्च शिक्षाप्रति म चिन्तित थिएँ । 
हर तरहले सघाइरहेको थिएँ । धेरैतिर छरपस्ट भएको मेरो जीवनलाई एउटै मालामा शान्तिले गाँसिदिएकी हुन् । मेरा छरिएर रहेका दर्जनौँ सपनाको भिडबाट एउटा सपना टिप्न र त्यसमा निरन्तर काम गरिरहन उनले नै सुझाएकी हुन् । 

 

 

सोच्दै छु, तराजुको एकातिर संसारका सबै कुरा र अर्काेतिर स्वतन्त्रता मात्र राख्दा पनि पल्ला भारी त स्वतन्त्रताकै हुन्छ ।

मेरा अत्यन्तै अभाव र अप्ठ्यारा दिनमा उनले सम्पूर्ण रूपमा बलियो आड दिइन् । परिणामतः मैले आफ्नो करिअरलाई अलिकता भए पनि स्थापित गर्न सकेँ । अब पालो उनको करिअरमा इँटा थप्ने थियो । अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सन् २०१९ को जनवरीमा उनी स्नातकोत्तर अध्ययनका लागि अमेरिका उडिन् । म हाम्रा अन्य सबै कुराको व्यवस्था मिलाएर त्यही वर्षको मार्चको अन्त्यमा छोरा स्वर्णिमसहित अमेरिका आएँ । 

स्थान फरक भए पनि हामी दुवै नेपालको गाउँमा जन्मिएका थियौँ । असाध्यै अभावमा आफ्ना बालापन बिताएका थियौँ । अभिभावकले आफूले नखाई नखाई हामीलाई हुर्काउनु भयो । पढाउनु भयो । साह्रै संघर्ष र दुःखसाथ हामी दुवैले नेपालमा आफूलाई रहर लागेको क्षेत्रमा एक तहको हैसियत बनाएकाले पनि होला, त्यसप्रति हाम्रो अगाध माया, श्रद्धा र विश्वास छ ।

यसैले होला, हामी अमेरिकाको भौतिक सुविधा, सुख र सम्भावनामा लोभिइदैनौँ भन्‍ने मा प्रतिबद्ध थियौँ । हामी दुवैजना सरकारी सेवामा भएकाले पनि होला, जहिल्यै विदेशमा केही सिक्ने र त्यसरी सिकेको कुरालाई नेपालमै उपयोग गर्ने हाम्रो चाहना रह्यो । दुई वर्षे अमेरिकी बसाइँमा हामीले कुनै पनि दिन यही बसौँ भन्‍ने चाहना राखेनौँ । बरु कहिले अध्ययन सकिन्छ र नेपाल फर्किने भन्‍ने हुटहुटी मनमा बोकिराख्यौँ । स्वाभाविकै हो, मलाई नेपालकै बढी चासो रह्यो । अमेरिकी बसाइको करिब दुई वर्षको अवधिमा मेरा ७३ वटा लेख नेपालका विभिन्न आम सञ्चार माध्यममा प्रकाशित भए ।

चार वर्षको उमेरमा अमेरिका आएको छोरालाई नेपाल फर्केपछि नेपाली सिक्न अप्ठ्यारो हुन सक्छ भनी नेपाली किताब ल्याएका थियौँ । दुई वर्षको अवधिमा हामीले हरेक दिन छोरालाई नेपालको सकारात्मक र राम्रो कुरामात्र बताइरह्यौँ । नेपालका राम्रा पक्ष बुझाइरह्यौँ । त्यहाँका विद्यालय, आफ्नो भाषा बुझाउने प्रयास गर्यौँ । छोरालाई नेपालप्रतिको आकर्षण बढाउने सन्दर्भमा हामी बढी संवेदनशील थियौँ ।त्यसैले होला, कोही कसैले किन नेपाल जाने यतै बस्दा हुन्न भन्यो भने सानो छोराले नेपाल मेरो देश हो, अमेरिका होइन भन्दै जवाफ दिन्थ्यो । यसले हामीलाई आनन्द मिल्थ्यो ।

अन्ततः हामीले प्रतीक्षा गरिरहेको सन् २०२० को डिसेम्बर आयो । शान्तिले ए ग्रेडसहित आफ्नो स्नातकोत्तर अध्ययन पूरा गरिन् । त्यो दिन उनीभन्दा म बढी खुसी भएँ । मेरो जीवनको खुसीको क्षण थियो । हाम्रो एउटा सपना विपनामा रूपान्तरण भएको थियो । साथै नेपाल फर्किने दिन नजिकिएकामा उत्साहित थियौँ । पढाइ सकिएसँगै नेपाल फर्किने त्यो खुसीको दिन हामीले फेब्रुअरी १२ लाई रोज्यौँ र अमेरिकाबाट नेपालका लागि एकतर्फी टिकट लियौँ । हामी नेपाल फर्किंदै छौ भन्‍ने सुनेपछि हाम्रा धेरै आफन्तले के भयो र बस्न नमिलेको अमेरिका भन्‍ने प्रश्न गर्नुहुन्थ्यो । साथीहरू नेपाल किन फर्किनु यस्तो भद्रगोलमा भन्दै यतै सेटल हुन सुझाव दिनुहुन्थ्यो । तर मेरी वृद्ध आमा र शान्तिका बूढा बुबा-आमा हामी नेपाल फर्किंदै छौँ भन्दा औधि खुसी हुनुहुन्थ्यो । हामी भन्थ्यौँ, ‘नेपाल फर्किन कुनै कारण चाहिन्न तर विदेश बस्न हजारौं कारण चाहिन्छ ।’

यस्ता देशका सुख-सुविधामा भुलेर वर्षौंवर्ष बाबुआमालाई भेट्न फर्किन नसक्नेहरू तिनै बाबुआमाको अन्तिम संस्कारका लागि फर्किएको दृश्य मैले कयौँ देखेको छु । बाबुआमालाई छोराछोरीको सम्पन्नता होइन सानिध्यताको ज्यादा महत्व हुन्छ भन्‍ने मा हाम्रो अगाध विश्वास छ । त्यसैले पनि कुनै दोधारे मन नगरीकन हामीले एकतर्फी टिकट लिएका थियौँ । 

 

अमेरिकामा दुई वर्ष बसेर, एक वर्ष जोगिएर लास्टाँ घर उड्ने बेला कोभिड संक्रमित भएपछि...


 
अमेरिका आएको करिब एक वर्षपछि कोभिड-१९ महाव्याधि सुरु भयो । यसबीचमा हामीले चाहेको स्थानमा घुमफिर गर्न पाएनौँ । कोरोना अगाडि केही स्थानमा घुमे पनि हामी कोरोना महाव्याधिका कारण कतिपय स्थानमा पुग्‍न सकेका थिएनौँ । त्यसैले फर्किनुअघि आँट गरेरै भए पनि केही स्थान घुम्ने हाम्रो चाहना थियो ।

मूलतः हामी फ्लोरिडा र एरिजोना जान चाहन्थ्यौँ । एरिजोना जान अलि मिलेन । यसपछि फ्लोरिडा हाम्रो लक्ष्य थियो । यसमा एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष कृष्ण सादगीले साथ दिनुभयो । अमृता भाउजू, कृष्ण दाइ र हामी करिब एक हप्ता फ्लोरिडा घुमफिर गर्यौँ ।

पूर्णतः सावधानी अपनाउँदै हामीले घुमफिर गरेका थियौँ । यसका लागि फ्लोरिडामा रहनुभएको दाइ रेवत खनालको ठूलो सहयोग रह्यो । अमेरिकाको दक्षिणतिरको सिमाना किवेस्टसम्म पुग्यौँ । किवेस्टबाट जम्मा ९० माइल समुद्र पार गरेपछि क्युबा पुग्‍न सकिन्छ । किवेस्ट आफैँमा एउटा आइल्यान्ड हो, जहाँ पुग्‍न दर्जनौँ आइल्यान्ड र त्यसलाई जोड्ने समुद्रमाथिका लामा-लामा पुल पार गर्नुपर्छ । समुद्रमाथिका पुलमा ड्राइभिङ गर्दाको मज्जा लियौँ ।

संसारकै प्रसिद्ध मायामी बिचमा रमायौँ । यी सबै भ्रमण कोरोनासँग जोगिँदै अझ भनौँ त्यसलाई छल्दै गरेका थियौँ । हामी तोकिएकै दिन नेपाल फर्किन चाहन्थ्यौँ । कोरोना संक्रमण भएमा फर्किने दिन अनिश्चित हुन सक्छ भन्‍ने डरले हामीले सकेसम्मका सावधानीका विधि अपनाएका थियौँ । 
नेपाल फर्किन ‘लगेज’ तयार थिए । सम्पूर्ण तयारी सकिएको थियो । साथीभाइ आफन्तसँग बिदा मागिसकेका थियाैँ । बाँकी थियो त केवल पीसीआरको नेगेटिभ रिपोर्ट । भोलिपल्ट बिहानै नेगेटिभ रिपोर्ट इमेलमा आउने अपेक्षा थियो । तर रातिबाट हल्का ज्वरो देखियो । मैले सामान्य रूपमा लिएँ । तर बिहानै नोभा हेल्थ केयरका मधु पन्थीको मेसेज आयो-  दिपेशजी, आई एम सरी टु इन्फर्म यु, योर रिपोर्ट इज पोजेटिभ ।
 
मेरो विद्यालयको साथी शरदको घरमा थिएँ । घरमा शरद, भाउजू, पाँच वर्षको छोरा आरभ र तीन वर्षको छोरी आभ्या छिन् । अघिल्लो दिन बेलुकासँगै डिनर गरेका थियौँ । केही दिनअघि सँगै नेसनल एक्युरियम घुम्न गएका थियौँ । ग्रोसरी गएका थियौँ । बैठकमा बसेर घण्टौँसम्म विद्यालय जीवनका रमाइला कुरा गरेका थियौँ । देशको चिन्ता गरेका थियौँ । आफ्नै चिन्ता गरेका थियौँ । तर एकाएक कोरोना पोजेटिभ आएपछि म लल्याकलुलुक भएँ । म आफू त जसोतसो यसलाई झेल्छु, तर अरुलाई सर्‍यो भने भन्‍ने चिन्ताले मलाई झन् सताएको थियो ।

कोरोना संक्रमण नहुँदासम्म आफू बचौँ भन्‍ने हुँदो रहेछ । आफू संक्रमित भइसकेपछि आफ्नो कारणले अरुलाई केही असर पो परिहाल्छ या पर्‍यो कि भन्‍ने चिन्ता बढी हुँदो रहेछ । आफू त जसरी तसरी ठीक हुन्छु भन्‍ने आँट ममा आयो । तर अदृश्य भगवान्सँग अरु कसैलाई संक्रमण नफैलिदिओस् भन्‍ने प्रार्थना गरिरहेँ ।
मेरो रिपोर्ट पोजेटिभ आएको पाँच दिनपछि शरदको सम्पूर्ण परिवारको परीक्षण गर्दा सबैजनाको नेगेटिभ रिपोर्ट आयो । यसबीचमा मसँग भेट भएका अरु कुनै साथीको स्वास्थ्यमा पनि कुनै समस्या देखिएन । कोरोना संक्रमित भएपछिको सबैभन्दा आनन्द र खुसी दिने कुरा यही बन्यो । 
 
म हरेक दिन बिहान झ्याल खोलेर बाहिर हेर्छु । केही दिन अघि परेको तर नपग्लिएको हिउँको सेताम्मे लहर देख्छु । फाट्टफुट्ट तीव्र गतिमा दौडिने गाडीको रफ्तार घडीको सुई घुम्दै जाँदा बढ्दै जान्छन् । बेला बेलामा फाट्टफुट्ट मानिस कुकुर डोहोर्‍याउँदै हिँडेको देख्छु । बेला बेलामा चरा मेरो झ्यालैको नजिक आएर चिरबिर स्वरमा गीत गाउँछन् । अनि फुत्त अर्को हाँगो वा रुखमा उडेर जान्छन् । यसअघि मैले कहिल्यै चराको चिरबिरको गीतलाई मनैबाट मनन गर्न सकेकै रहेनछु । साह्रै आनन्द आउँछ, चिरबिर सुन्‍न पाउँदा । 

 

हामी भन्थ्यौँ, ‘नेपाल फर्किन कुनै कारण चाहिन्‍न तर विदेश बस्‍न हजारौं कारण चाहिन्छ ।’

बेला बेलामा उन्मुक्त हासो हाँस्दै युगल जोडी वाक गरिरहेको देख्छु । विगतमा यस्तो वाक-स्वतन्त्रतालाई मैले भोगि मात्र रहेको रहेछु, त्यसको मज्जा र महत्वलाई अनुभव गर्न सकेको रहेनछु । लकडाउनको लामो समय घरभित्रै यसै गरी बसेको थिएँ तर परिवारसँगै । त्यसैले होला, परिवारसँग रमाएँ । परिवारसँग छुट्टिएर बस्दाका दिन कस्ता होलान् मैले सोचेकै रहेनछु । एक्लोपनको समस्या के हुन्, नजिकबाट अनुभव गरिरहेको छु । सानो बाबु आरभ र आभ्या भर्याङमा आएर जिस्किन्छन् । म डराउँछु । नजिक पो आइहाल्छन् कि भनेर । अनि ढोका थुन्छु ।

मैले बच्चासँग त खेलेँ तर जीवनमा त्यसको महत्व बुझ्न सकेको रहेनछु । ठूला-ठूला सपना र लक्ष्यको नाममा कहीँ नपुगिने दौडमा भाग लिइरहँदा आफ्नै वरिपरिका साना-साना कुराले जीवनलाई जीवन बनाउन कति महत्वपूर्ण भूमिका खेलिरहेको रहेछ भन्‍ने बुझ्नै पाएको रहेनछु । आइसोलेसनले मलाई रुमानी सपनाबाट बिउँताइदिएको छ । नेपाल फर्किंदै गर्दा बारम्बार दिमागमा आइरहने केही गुमाउँदै पो छु कि भन्‍ने सोचबाट म थप मुक्त भएको छु ।

म प्रस्ट भएको छु । जीवनमा त्यस्तो कुनै सपना हुन्न, जुन पूरा भएपछि एकै साथ आवश्यक खुसी र सुख पाइयोस् । बरु आफ्नै वरिपरि छरिएर रहेका ससाना कुराको कलात्मक संयोजन र आत्मसात्बाट प्राप्त हुने कुरा रहेछ । यतिबेला म आइसोलेसनमा बडेमानका सपनालाई छाड्दै म आगामी दिनमा त्यही स-साना कुराको संयोजन कसरी गर्ने भन्‍ने योजना बनाउँदै छु । अनि अर्को कुरा झ्यालबाट बाहिर देखिएको स्वतन्त्रताको महत्व मैले यतिबेला आत्मैदेखि हृदयंगम गरिरहेको छु । सोच्दै छु, तराजुको एकातिर संसारका सबै कुरा र अर्काेतिर स्वतन्त्रता मात्र राख्दा पनि पल्ला भारी त स्वतन्त्रताकै हुन्छ ।

दिपेश घिमेरेका अन्य लेखहरु :-

संविधान कुल्चिनेहरूबाट जो जति बेला पनि कुल्चिइन सक्छ

कोरियामा राष्ट्रपतिद्वय २० वर्ष जेलमा स् नेपालमा चाहिँ लुट्‍न सके लुट कान्‍छा ठूलालाई हन्ड्रेड पर्सेन्ट छुट !  

- ३० लाखमा किनिएको निराशा, के ग्रिनकार्डले फिर्ता दिन सक्ला र ? 

- भ्रष्टहरू सजायको दायरामै किन तानिँदैनन् ?

- भ्रष्टाचारको तीव्र यात्रा : केन्द्रीकरणबाट विकेन्द्रीकरणतिर

संवैधानिक परिषद् दलमुक्त, आयोग निजामतीमुक्त

- भागबण्डामा भ्रष्टाचार

 - संविधान कुल्चिनेहरूबाट जो जति बेला पनि कुल्चिइन सक्छ 



Author

थप समाचार