ब्लग

उत्सवलाई महोत्सव बनाइदिने स्वयंसेवीहरू

लक्ष्मीप्रसाद पौडेल |
चैत ८, २०७७ आइतवार १७:१ बजे

स्वयंसेवक हुन नपाउँदाको मेरो एउटा अविस्मरणीय अनुभूति छ । आफूलाई स्वयंसेवक हुन चलेको हुटहुटी सम्झँदा आज आफैँलाई अनौठो लाग्छ । हाल वर्षाैंपछि विभिन्न कार्यक्रम र अभियानहरूमा स्वयंसेवक हुन पाए पनि स्वयंसेवक हुन नपाएको वर्षाैँ पहिलेदेखिको अनुभूति छ । 

गाउँमा हुने कार्यक्रम, मेला, महोत्सव वा धार्मिक महोत्सव, ती कार्यक्रममा स्वयंसेवक राखिएको हुन्थ्यो । स्वयंसेवक भएपछि पाइने भनेको त्यही प्रमाणपत्र वा परिचयपत्र मात्रै हो । आयोजक र कार्यक्रमको प्रकृति हेरेर कतै खाजा खर्च पाइन सक्थ्यो । जति पनि कार्यक्रम गाउँमा हुन्थे, ती कार्यक्रममा मैले चिनेका केही साथी आफूलाई स्वयंसेवकका रूपमा परिचय गराउँथे । 


मलाई पनि कार्यक्रममा स्वयंसेवक हुने खुब रहर लाग्थ्यो । तर मैले कहिल्यै अवसर पाइनँ । चाहे विद्यालयको कार्यक्रम होस् या त मेला महोत्सव नै किन नहोस् । होहल्ला व्यवस्थापन गर्न सक्ने मोटाघाटाहरूलाई स्वयंसेवक बनाइन्थ्यो । म जस्ता लुरेहरू त हेरेको हेर्यै । करिब १२ वर्ष गाउँमा अध्ययन गरियो । त्यो अवधिमा धेरै कार्यक्रम भए तर म कुनै कार्यक्रममा स्वयंसेवक हुन पाइनँ । 

स्वयंसेवक शब्द आफैँमा परिभाषित छ । नि:स्वार्थ रूपमा सेवा गर्नु भनेर बुझौँ । अर्थात् निर्देशनभन्दा स्वविवेकले गर्ने सेवालाई स्वयंसेवा बुझौँ । स्वयंसेवक बन्न चाहेकाहरूलाई उक्त कार्यको जिम्मेवारी दिएमा कार्य प्रभावकारी बन्थ्यो । 

कर्णाली उत्सव, ... कुडा कर्णालीकाको दोस्रो संस्करण भर्खरै सम्पन्न भयो । फागुन २६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा कर्णाली उत्सव सञ्चालन गरिएको थियो । कर्णालीका सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक, ऐतिहासिक तथा नीतिगत विषयमाथि गन्थन, मन्थन र चिन्तन गरिएको उत्सवको दोस्रो संस्करणको आयोजक ऋति फाउन्डेसन रहेको थियो भने उत्सवका धेरै शुभचिन्तक र साथीहरू हुनुहुन्थ्यो । उहाँहरूकै महत्वपूर्ण योगदानका कारण उत्सव भव्य सफलतासहित सम्पन्न भयो ।

त्यसैले त हामीले कर्णाली उत्सवमा स्वयंसेवक बन्न चाहेका सक्रिय युवा पंक्तिहरूलाई खुला आह्वान गरेका थियौँ । हृदयदेखि नै स्वयंसेवा भावना जागृत भएर नि:स्वार्थ रूपमा स्वयंसेवा गर्न तत्पर तिनै युवाहरूकै कारण कर्णाली उत्सव भव्य सफल कहलियो । कर्णाली उत्सवका साथीहरू महत्वपूर्ण खम्बा स्वयंसेवक साथीहरूलाई धेरै धन्यवाद । 

पहिलो संस्करणको सिकाइबाट प्राप्त ज्ञान एवं अनुभवलाई प्रयोग गर्दै सञ्चालित भएकाले पनि यो उत्सव अघिल्लो संस्करणभन्दा हरेक कुरामा गज्जब भयो । झण्डै आधा वर्ष अर्थात् पाँच महिनाभन्दा बढी समयको आयोजक तथा उत्सवका शुभचिन्तकहरूको तयारीलाई केवल चार दिन फिल्डमा उतार्नु थियो । मानौँ, समय लगाएर लेखेको कुनै कथालाई फिल्डमा फिल्मका रूपमा सुटिङ गर्नु थियो । उत्सवको समय चलिरहँदा आयोजकहरू फिल्डमा दौडधुप गरिरहन सम्भव थिएन । त्यसैले त अघिल्लो वर्षको सिकाइबाट हामीले उत्सवका लागि स्वयंसेवकहरूका लागि करिब दुई महिनाअघि नै खुला आवेदन आह्वान गरेका थियौँ । 

उत्सवमा स्वयंसेवा गर्न इच्छुक करिब एक सय जनाले आवेदन दिनुभएको थियो । केही साथी उत्सवको समयमा सुर्खेतबाहिर हुने भएकाले र केही साथी विभिन्न कारणले उत्सवको समयमा समय दिन नसक्ने भएकाले करिब ४० जना साथी उत्सवको समयमा स्वयंसेवक भएर काम गर्न तयार हुनुभएको थियो । उत्सवभन्दा अगाडि धेरै जना साथीहरूले सहयोग गर्नुभयो । उत्सवभन्दा केही दिनअघि देखि करिब १० जना साथी उत्सवको तयारीका लागि विभिन्न काममा सहयोग गरिरहनुभएको थियो । 

आयोजक, उत्सवका साथी र शुभचिन्तकहरूको महिनौँ लामो समय लगाएर गरेको तयारीलाई फिल्डमा उतार्न नि:स्वार्थ सक्रिय सहयोग अर्थात् स्वयंसेवा करिब ४० जना युवाहरूले गरिरहनुभएको थियो । उत्सवको महत्वपूर्ण खम्बा स्वयंसेवक साथीहरू हुनुभयो । 

सार्वजानिक बहसको कार्यक्रम हरेक सत्रहरूमा करिब ५ सय दर्शकहरू हुनुहुन्थ्यो । उहाँहरूलाई पानी व्यवस्थापन, हरेक सत्रहरूमा दर्शक जिज्ञासाका लागि माइक हात उठाउने दर्शकसामु दौडिएर पुर्याउनुपर्न, स्टेजमा वक्ता तथा सञ्चालकको संख्याको आधारमा माइक, कुर्सी र पानीको गिलास व्यवस्थापनदेखि सत्रहरूका ब्यानर परिवर्तनसम्मका कामहरूमा उहाँहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुभयो । 

दर्शक दर्ता तथा हाजिरी, अतिथिहरूको परिचयपत्र प्रदानदेखि प्राथमिक उपचार स्वास्थ्य जाँच कक्षासम्म उहाँहरूले यसरी खटिएर स्वयंसेवा गर्नुभयो, त्यो प्रशंसा जति धेरै गर्दा पनि पुग्दैन । 

म धेरै भूमिका नबाँधी यो लेख्दै छु, आयोजकले गरेको कर्णाली उत्सवको तयारीलाई व्यवस्थित तरिकाले प्रस्तुत गर्न महत्वपूर्ण कार्यसम्पादन गर्ने स्वयंसेवक साथीहरूकै कारण उत्सवको दोस्रो संस्करण भव्य रूपमा सफल कहलियो । 

अघिल्लो संस्करणको सिकाइबाट स्वयंसेवक व्यवस्थापनमा केही फरक व्यवस्थापन गर्नुपर्ने आयोजकको सोचअनुरूप आत्मैदेखि स्वयंसेवाको भावना जागृत भएका सक्रिय युवा पंक्तिहरूले हामीले आह्वान गरेको आवेदन फारम भर्नुभएको थियो । खाना, सामान्य यातायात खर्च, परिचयपत्र, खाजा र सम्मानपत्रबाहेक आयोजकले उहाँहरूलाई दिने कुनै ठूलो फाइदा थिएन । तर पनि उहाँहरूको कर्णाली उत्सवप्रतिको मायाले चार दिनका लागि जागिर, व्यवसाय र पढाइबाट बिदा लिएर उत्सवमा स्वयंसेवा गर्न तयार हुनुभयो । 

उत्सवमा समावेश हुने विषयवस्तु र सत्रहरू उहाँहरूले कार्यक्रम स्थलमा अग्रपंक्तिमा खटिनुपर्ने भएकाले सुन्न नपाए पनि आयोजकले प्रदान गरेको मुख्य जिम्मेवारी पूरा गर्नबाट पछि हट्नुभएन । म फेरि भन्छु, कर्णाली उत्सवको फ्रन्टलाइनर्स करिब ४० जना स्वयंसेवक साथी हुनुहुन्छ । 

हामीले स्वयंसेवक साथीहरूका लागि आचारसंहितासमेत निर्माण गरी उहाँहरूलाई हस्ताक्षर गराएका थियौँ । म यो मानेमा धेरै खुसी छु कि उहाँहरूले आचारसंहिता विपरीत कुनै काम गर्नुभएन । आयोजकको तर्फबाट सुम्पिएको मुख्य जिम्मेवारीबाहेकका कार्यक्रम स्थलमा आइपर्ने सबै जिम्मेवारी सम्हाल्नुभयो र उत्सवलाई भव्य सफल बनाउन सहयोग गर्नुभयो । 

कर्णालीलाई चिन्ने र चिनाउने साथै कर्णाली प्रदेशकै नीतिगत बहस कार्यक्रम कर्णाली उत्सवमा फिल्डमा खटिने स्वयंसेवक बाहेक विभिन्न माध्यममार्फत धेरै जनाले आफूले सक्दो र नि:स्वार्थ सहयोग गर्नुभयो । उहाँहरू पनि उत्सवको स्वयंसेवक नै हो । कर्णाली उत्सवलाई माया गर्ने उत्सवलाई विभिन्न रूपबाट प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबै स्वयंसेवी उत्सवका प्रिय साथीहरूलाई फेरि पनि धेरै धन्यवाद ।

जय कर्णाली । जय कर्णाली उत्सव । 


Author

थप समाचार
x