ब्लग

खम्पाको छोरो

शिव उप्रेती |
चैत ९, २०७७ १६:३२ बजे

असोज-कात्तिकमा गण्डकीको भीरको घाँस काट्ने सिजन सुरु हुन्छ । क्यै गरी खुट्टा चिप्लिए, दुई-तीनसय मिटर तल बग्ने बूढीगण्डकीमा सिधै खसिने त्रास । 
सानैदेखि अभ्यास भएपछि जोखिम पनि जोखिम नलाग्ने रहेछ । चिप्लिएर गण्डकीमा खसिन्छ भन्‍ने डरले भीरमा घाँस नकाट्ने लार्केभोटमा कोही छैनन् । 
असोजमा काटेर थुपारेको घाँस माघ, फागुनमा पराल बन्छ । जताततै तीनफिट, चारफिट हिउँको पत्रा जमेपछि याक, चौँरीको खान्की यही परालबाहेक केही बाँकी रहन्‍न । पानी खुवाउनु परे त्यही हिउँको ढिक्का फुटाई तताएर दिइन्छ । 

त्यसैले मिङ्मारहरू घर बनाउँदा भुइँतलाको एउटा कवल घाँस(पराल) राख्नकै लागि बनाउँछन् ।


ADVERTISEMENT

पराल सोहोरिरहेका बेला एक्कासी ‘हिसेले बोलाएको छ’ भन्‍ने खबर सुन्दा मिङ्मारको मुटुको ढुकढुकी बढ्न थाल्यो । केही दिनयता आफूले के के बिराम गरेको रहेछु भनेर लेखाजोखा गर्न थाल्यो । 

‘कसैको मेला बोलेर धोका दिएको छु कि ?’
‘छैन । बोलेको मेलामा गएकै छु ।’
‘लोग्नेछोरा नभएका कसैको घरमा रातसाँझ गएको छु त ?’
‘त्यो पनि छैन । ५५ वर्ष कटेपछि अचेल त्यस्तो उछिल्या काम गरेको छैन ।’
‘मेरो याक, चौरीले कसैको बाली पो खाइदिएको छ कि ?’
‘त्यस्तो पनि भए झै लाग्दैन । भए त कसैले मसित पनि भन्थ्यो ।’
‘कसैलाई पैसा, ऐँचोपैँचो, सरसापट तिर्नु छ कि, साँच्चै ?’
‘थाहा पाएर नतिरेको त छैन । कतै बिर्सिएको छु कि?’
‘त्यस्तो पनि हेक्का छैन ।’
‘उसो भए किन बोलायो त मलाई हिसेले ?’
सातवर्षे नाति आप्पाले नाकको टुप्पाको पसिना पुछिदिएपछि पो उसलाई महशुस भयो, सोच्दासोच्दै धेरै नै तनाब भएछ ।
पोल्टामा एउटा खादा घुसार्‍यो र हिसेको घरतिर हिँड्यो ।
एकमान्छे अग्लो पर्खालले घेरेको आँगन । पर्खालमा ढोका, ढोकामा भोटेताल्चा । हिसेको मात्र होइन, लार्के भोटका सबैको घरमा यस्तै हुन्थ्यो ।
मिङ्मारले आवाज दियो ।
परिचित आवाज सुनेपछि हिसेको पर्खालको ढोका घर्‍याक्क खुल्यो ।
(शिर झुकाउँदै हिसेको पाउमै छोउँला झैँ गर्दै) ‘टासीदेलेक, खाम्साङ्पो ।’
(मिङ्मारको हात समाउँदै) ‘टासीदेलेक, खाम्साङ्पो ।’
पोल्टाको खाँदा झिकेर हिसेलाई लगाइदियो । हिसे मुसुक्क हाँस्यो ।
आज हिसे धेरै नै नरम देखियो । नत्र उसको बोली सधैँ अठार सय खोलाको घोडेटो जस्तै खस्रो हुन्थ्यो । बाटोमा घामले तातेर ह्वास्स आउने खच्चडको मुत्रजस्तै उसको रिस गनाउँथ्यो । झोँकमा के ठूला, के साना, हात छाड्न आइतबार चाहिँदैनथ्यो । हात फर्काउने चलन थिएन । बरु गण्डकीको गड्गडाहटले वरिपरिको पहरा थर्किए झैँ हिसेसँग गाउँले थर्कमान हुन्थे ।
‘किन बोलाउनु भएको मलाई ?
‘एउटा गोप्य सल्लाह गर्नुछ ।’
‘भन्‍नु न ।’
‘भित्र आऊ ।’

हिसे अघिअघि, मिङ्मार पछिपछि पिँडीतिर लागे । पिँढीबाट भ¥याङ चढ्दै दलिन खोपेर बनाइएको घोप्टेबाट छिरेर बार्दली चढे । बार्दलीबाट घरभित्र छिरे, जहाँ हिसेको भान्सा थियो । भान्सासँगै फलेक ओछ्याएर बनाइएको ओछ्यानमा पुगे, जहाँ सबैभन्दा कुनामा हिसेको आसन थियो । त्यसपछि सर्वसाधारण बस्न मिल्ने ठाउँ । भान्साको भित्तामा कलात्मक तखताहरू थिए । तखतामा खाता ओढाइराखेको दलाइ लामाको ठूलो तस्वीर थियो । तस्वीर अगाडि अखण्डद्वीप जलिरहेको थियो । तामे र पित्तले पालाहरू टनाटन थिए । एउटा कवल धर्मग्रन्थले भरिएको थियो ।  

१२ दिनपछि धावा गाउँ फर्कियो । कुकुर पनि लुखुरलुखुर फर्कियो, तर ग्याल्बो फर्किएन । किन फर्किएन, कहाँ छुट्यो, न उसलाई मान्छेले खोजे न कुकुरले ।

पानी राख्ने तामाकै चारवटा बडेबडे छुजाङ थिए । घ्यूचिया बनाउने लामालामा दुईवटा धोङ्मो थिए । चारवटा बिभिन्न साइजका थर्मोस, पानी तताउने इलेक्ट्रिक जगलगायतका भाँडाकुँडा थिए । हिसेको घरको साजसज्जा गाउँको सबैभन्दा राम्रो थियो । नहोस् पनि किन, ऊ गाउँको मिथेवा हो ।
फुर्बुले दुवैको अगाडि आना पोम आराक राखिदिई ।

एकएकफेर सुरुप्प पार्न नभ्याउँदै फेरि थपिदिई । ‘भो, पुग्यो’ भन्न पाइँदैन भन्‍ने थाहा थियो, तै पनि लोकाचार पार्‍यो, ‘भो, भो, भो, पुग्यो ।’
‘हिजो गाउँमा नराम्रो घटना भयो’, हिसेले आराक सुरुप्प पार्‍यो ।
कुरो भुइँमा झर्न नभ्याउँदै मिङ्मारले सोध्यो, ‘के भयो ?’

‘खम्पाले कुन्साङ ढिकीलाई समातेछ । उम्किएर भाग्‍न खोज्दा हातै भाँचिदिएछ । बेहोश भइछ । साँझतिर उसको बाउले रगतपच्छे फेला पारेछ ।’
(जिब्रो काढ्दै) ‘आम्मै नि, यी खम्पाले अतिसार गर्न थाले । अस्ति सेराङ गुम्बामा भुसुक्कै पारेर नाउर मारेछन् । रिम्पोछेले धेरै चिन्ता गरिरहनु भएको छ ।’
‘अँ, अब त अतिसार हुन थाल्यो । बस्नै नसकिने भयो । गाउँकी छोरीचेली कसरी जोगाउने ?’

‘अब केही न केही नगरी हुन्‍न ।’
‘अस्तिको घटना थाहा पाइस् ?’
‘के भएछ ? भन्‍नू न ।’

‘राति रुई गएछन् । सरकारी गोदामको चामल लुटेछन् । याक, चौँरी, झोपामा लोड गरेर चामल रातारात स्याला ल्याई पुर्‍याएछन् । फर्कन लाग्दा गोली हानाहान भएछ । तीनजना सिपाही मारेर आएछन् ।’ 

अपवित्र शव्द उच्चारण गर्नुपरेकामा हिसेले माला समातेको र ओठले मात्र ‘ओम मानेपेमे हुँ’ भनेको बुझ्‍न मिङ्मारलाई कठिन भएन । 
‘चाइना सरकारको सातो खाने भए । भन्सार लुटेको पनि धेरै भा’छैन । फेरि गोदाम लुटेछन् । पोहर बैंक लुट्दा पनि सेकुरिटी गार्डलाई छुरी धसेका थिए ।’ उसले पनि हिसेकै देखासिकी गर्‍यो । ‘ओम मानेपेमे हुँ ।’

‘नेपाल छिरेपछि उताको खतबात नलाग्ने रछ । खम्पाहरू उता उपद्रो मच्चाउने, यता आएर बस्‍ने । चाइना नेपालसँग धुन्धान रिसा’छ । किन नरिसाउने त । यही निहुँमा नेपाल र चाइनाको गिर्दी घमासान हुन बेर छैन ।’

‘खम्पालाई पालिराख्यो भने चाइनाले नेपाललाई हान्छ, हान्छ ।’ मुख अमिलो गरेर अन्तिम घुट्को निल्यो ।

‘मैले तँलाई यहाँ डाकेको चाहिँ किन भने नि, त्यहाँबाट फर्केर आएपछि खम्पाहरूले हाम्रो रिञ्जिन दोर्जेलाई समातेछन् । अनि हाम्रो पोल चाइनिज सरकारलाई किन लगाएको ? भनेर कोर्रा हानेछन् । रिञ्जिनले मैले केही भनेकै छैन भनेर रुनुसम्म रोएछ । तर उनीहरूको पत्थरको मन । जति हात जोडेपनि सुन्दै नसुनी खाल्डो खनेर खाल्डोभित्र हालिदिएछन् । अनि खाल्डोमा मट्टितेल खन्याएर सलाईको काँटी कोरेर हाल्दिएछन् । हाडखुर अहिले पनि खाल्डोभित्रै छ ।’ 

‘च्वच्वच्व, कस्ता असत्तिहरू ।’
‘त्यही भएर अब त अत्ति भयो । के गर्ने भनेर तँसित छलफल गर्न बोलाएको ।’
‘म लाटा, गँवारले त के जानेको छु र ? तपाईंलाई थाहै छ नि ग्याल्बो कसको छोरो हो । बिचरा, सोनामले कम्ति दुःख पाई र ? उपियाँ फड्क्यो, जुम्राको काल भने झैँ, खम्पा भागेर कहाँ पुग्यो, यहाँ सोनामको बिचल्ली ।’

बिहे गरेर लान्छु, हामीले चाह्यो भने यूरोप, अमेरिका क्यानडा जान पाइन्छ भनेर बिचरीलाई फस्ल्याङफुस्लुङ पार्‍यो र मोजमस्ती गर्‍यो । जब दुई जिउकी भई, सरुवा भएर दार्चुला पुग्यो । पेट बोकेकी सोनामलाई बा-आमाले घरबाट निकाले । गाउँबाट नदेखिने गरी गाउँलेले  बारीको पाटामा कटेरो बनाइदिए । त्यहीँ एक्लै बसी । गाउँलेले मेलापात, भारापर्मबाट समेत पर्गेले । त्यसैले काम खोज्‍न कहिले हिनाङ, कहिले ल्ही, ल्हो जान्थी । हिनाङमा मेला गएर कमाएको दुईचार मुठी गहुँ, जौ, फापरले साँझ बिहान छाक टार्थी । मान्छेको जिन्दगी, बाँच्नै पर्ने ।

गर्भ फाल्ने भनेर आम्जीको घरमा पनि धाएकी हो, तर ढिला भएछ । छिप्पिसकेको बच्चा घरायसी ओखतीले नजाने रहेछ । ग्याल्बोलाई जन्मनै पर्ने लेखेको ।
एकान्त कटेरोमा एउटी युवती एक्लै बसेको कल्पना गरेपछि खम्पाहरू चुप बस्नै सकेनन् । डरभर कसैको थिएन । छेकथुन कसैले गरेनन् । 
बारीमै जन्मिएको बच्चो हो ग्याल्बो ।

स्याहार सम्भार गर्ने कोही भएनन् । उसका लागि न पोसिलो खानेकुरा न वाङ्दी । मेला नगएको दिन पेट कसरी भर्ने ? ज्यान सद्दे हुञ्जेल खम्पाले दयामाया गरेर दिएको सुका, मोहरले सधँै कसरी भरथेग हुन्थ्यो ? 

सुत्केरी भएको सातौँ दिनदेखि नै उनको टहरोमा खम्पाहरू धाउन थाले । एउटी कमजोर सुत्केरी कसरी टिक्न सक्थी । जे नहुनु थियो भयो । 
एक हिसाबले ग्याल्बो नजन्मदै टुहुरो थियो, अहिले सम्पूर्ण रूपमा टुहुरो बन्यो । सात दिनको दुधे बालकलाई सोनामका भिनाजुले लगेर पाले । भिनाजुको छोरो तेह्र महिनाको थियो । बकेर्नु दूधले ग्याल्बोको सास जसोतसो धानियो । 

खुट्टा लागेपछि कपालमा तेल र जेल दलेर कम्मरमा पेटी कसेर, झोला बोकेर बाबा ममीलाई हात हल्लाउँदै स्कूल जान पाएन । गण्डकीको तिरतरै, वनमासा घारीमा, स्यालाको पट जंगलमा, भीर पखेरामा खालिखुट्टा गोठालो हिड्ने उसको  नियति थियो । चौरी, झोपाले वनवनै भागेर, दौडेर दिनुसम्मको दुःख दिन्थे । वनवनै, घारीघारी लड्दै र पड्दै रुदै साँझ-बिहानको छाकको मोल तिर्थ्यो । 

कसैले मिठो स्वरले बोलाएको सुन्ने रहर पूरा भएन । माया, ममता, स्याहार, रेखदेखको मिठास कस्तो हुन्छ चाख्न पाएन । आफूलाई अरुले जस्तो नजरले हेर्छन्, त्यस्तै नजर फर्काउन सिक्दैगयो । जस्तो व्यवहार गर्छन्, त्यस्तै पचाउन सिक्ने बानी बसाल्दै गयो । मुङ्ग्रोले थिलोथिलो पारेर हुर्काए झैँ, जसै ज्यान कठोर हुँदै गयो, कलिलो मनमा अभ्रख पस्दै गयो । 

बर्खा नजिकिँदै थियो । कालीमाली बर्खामा बजार जान सकिदैन, त्यसैले किनमेलका लागि गाउँलेहरू फाट्टफुट्ट सहर झर्न थाले । कुकुर पनि उनीहरूको पछि लागेर सहर जान्थ्यो । त्यही देखासिकी गर्दै ग्याल्बो पनि पछिलाग्यो । अघिअघि धावा, पछिपछि कुकुर, कुकुरको पछिपछि ग्याल्बो लर्कन लाएर सहर झरे । अठारसय खोलाखोलै आरुघाट पुग्न पाँच दिन हिड्नु पर्थ्यो । 

१२ दिनपछि धावा गाउँ फर्कियो । कुकुर पनि लुखुरलुखुर फर्कियो, तर ग्याल्बो फर्किएन । किन फर्किएन, कहाँ छुट्यो, न उसलाई मान्छेले खोजे न कुकुरले ।
खम्पाको छोरो बिलायो । 

धावा भोलि गाउँ फर्कदैथियो भन्‍ने ग्याल्बोले सुइँको पाएको थियो । धावाको कुकुरको पछि लागेर गाउँ फर्कन ग्याल्बोको मन मानेन । खेल्न भनेर उ बसपार्कतिर झर्‍यो । 

बसपार्कका नालीमा प्लास्टिक टिपेर खेल्ने उ जस्तै अरु दवाँलोहरू पनि थिए । देखेर उ रमायो । नचिनेको ठाउँबाट आएको, पहिलोपल्ट देखेको, त्यसैले नालीका साथीहरूलाई केहीबेर ट्वाल्ल परेर हेर्‍यो । सायद उनीहरूसँग मनमनै एकाकार गर्‍यो । फिस्स हाँस्यो र त्यहाँबाट पनि अघि बढ्यो ।

अल्लि पर एउटा बस धेरै बेरदेखि घुरघुर गरिरहेको थियो तर  हिडेको थिएन । आफूजत्रै दुईतीनजना केटाहरू त्यो बसको ढाडमा चढ्न खोजिरहेका थिए । उनीहरू जस्तै तर अल्लि ठूलो ठिटोले बसतिर ढेम्किनै दिएको थिएन । धपाइरहेको थियो । चकारमकार लगाएर गरेको गाली खम्पाको छोरोले बुझेन । त्यो ठिटोले जिस्किरहने आफूजत्रै केटाहरूलाई लखेट्दै पर पुगेको हेर्‍यो । किन लखेटालखेट भइरहेको हो त्यो पनि बुझेन । दवाँलोहरूले झैँ बसको ढाडमा चढ्न खोज्यो । उसलाई धपाउने कोही भएनन् । किन चढेको हो, थाहा छैन, तर ग्याल्बो बसको ढाडमा चढ्यो ।

स्यालाको सल्लाको रुखमाझैँ उ सजिलै बसको छतमा चढ्न सक्यो । त्यहाँ भारीहरू थिए । उ ती भारीको बीचैमा लुक्यो । केहीबेरमा गाडी गुड्यो । उसले ‘आबुई’, ‘झर्छु’, ‘भो’, ‘जान्‍न’ आवाज दिन पाएन, चाहेन, सकेन ।   

हिसे भनिरहेको थियो, :  ‘नाम्रुङकी पासाङ कति राम्री थिई, तैले देखेको थिइस् नि ।’
मिङ्मार सुनिरहेको थियो : ‘उम् ।’ 

‘अब सुन् । त्यसलाई खम्पाले मन पराउँदो रहेछ । त्यही केटीलाई लार्के भन्सारको बहिदार रामेश्वर अधिकारीले पनि मन पराउँदो रहेछ । आफूले मन पराएकी केटीलाई मन पराएको, भनेर बहिदारलाई खम्पाले चुप्पी हान्यो ।

ल्होमा जात्रा थियो । खम्पा पनि जात्रा हेर्न आएको, रामेश्‍वर बहिदार पनि आएको । जात्रा हेरिरहेका बेला पछाडिबाट चुप्पी हानेको बहिदारले चाल पाएन । ‘ऐया नि आमा हो, मार्‍यो’ भनेको सबैले सुनेका थिए । खम्पा घोँडा चढेर स्याला पुग्यो । भोलिपल्ट सरुवा भएर मुस्ताङ गयो । कसले खोज्ने, कसले कारबाही गर्ने ?’
‘हो त नि, पेमा डुण्डुपलाई खाँबामा बाँधेर आँखैअघि ‘बूढी’माथि घोँडा चडेको तपाईँले बिर्सनु भयो ?’
‘के गर्ने त अब ?’

‘खै के गर्ने, के गर्ने । म त केही भन्नै सक्दिनँ ।’ 

जंगलको बीचमा फलेकले बारेर, फलेकले छाएर र फलेकै ओछ्याएर ४० जना खम्पाको डफ्फा स्यालामा बस्थे । हिउँदका बेला नाम्रुङभन्दा पारिपट्टि जंगलमा बस्थे । स्यारभोटको नीले, ङाक्युपारि र छेकम गरी तीन ठाउँमा त्यति नै संख्याका गुरिल्लाको सेल्टर थियो । उनीहरूलाई हतियार, रासन र फौजी तालिम अमेरिकाबाट आउँथे । 

आगोताप्दै गफ गर्नेहरू नेपालमा दुइटा सरकार छ भन्थे । भोटखोलामा खम्पाको, बजारतिर श्री ५ को । खम्पा शासनले गाउँलेले कष्टकर जीवन भोगिरहनु परेकोबारे राजा महेन्द्रसम्म जानकारी थियो । 

तिब्बतमा सधैँ बितण्डा मच्चाइरहने खम्पा विद्रोहीलाई संरक्षण नदिन चिनियाँ सरकारले बारम्बार दबाबपूर्ण अनुरोध र आग्रह गरिरहेको थियो, चेतावनी दिइरहेको थियो ।खम्पाहरू घोडा चढेर एउटा गाउँबाट अर्को, अर्कोबाट गाउँ चहारिरहन्थे । जीउडाल पनि बडेबडेमानको हुन्थ्यो । हेर्दै डरलाग्दा । पेस्तोल भिर्थे । मान्छे पनि एकदम रिसाहा जस्ता । बेला बेला चुप्पी हानेर मान्छे मार्थे । त्यसैले खम्पाका अगाडि गाउँले थुरुरुरु । 

खैरो रङको ‘युनिफर्म’ हुन्थ्यो । उनीहरूलाई रासनपानी, पकेट खर्च र हतियार रातिराति आएको गाउँले देख्थे । रातीराती हुने भेटमा कसले के भन्थ्यो, गाउँलेलाई चासो पनि हुन्थेन, जानकारी पनि हुन्थेन । आफ्ना कुनै पनि गतिविधिबारे स्थानीयवासीलाई सूचना दिन्‍नथे । गाउँलेले सोध्दा यता जाने हो भन्थे तर उनीहरू उता जान्थे । सोझो बोल्दैनथे । 

खम्पाका कारण गाउँलेले महँगीको मार खेप्नु परेको थियो । उनीहरूसँग मनग्गे पैसा हुन्थ्यो । मुखभरिको भाउमा फापर, गहुँ, जौ, करु किनिदिन्थे । त्यसको मारमा गाउँले थिए । गाउँको रीतिथिति, गाउँको चलनचल्ती उनीहरू मतलबै गर्दैनथे ।

धर्मशालामा बसेका दलाई लामाले उनीहरूको संरक्षण गर्थे, उनीहरूले दलाई लामाको । दलाई लामालाई देउतासरह मान्थे । चोरी हान्‍नु बारम्बार तिब्बत जान्थे । बाख्रा, च्याङ्ग्राको हुलका हुल लुटेर ल्याउँथे । अन्नहरू पनि लुटेर ल्याउँथे र भण्डार भर्थे । जनमुक्ति सेना चढेको गाडीलाई खम्पाले गोली हानेर ध्वस्तै पारेको घटना गाउँलेको कानमा बारम्बार पर्थ्यो ।

सयौँ वर्षदेखि अहिंसा क्षेत्र भनेर चिनिने चुम उपत्यकाको नीतिनियम उल्लंघन गरी काटमार गर्थे । राजेन गुम्बाका आनीहरू भगाउँथे । 
डुक्पा रिम्पोछेले काटमार नगर, आनी, छोरीबुहारी नबिगार भनेर धेरैपटक हात जोडे । लामाले हात जोडेपछि गुम्बाभित्र बस्ने आनीहरू तानेर लान छोडे, तर गाउँका छोरीचेलीमाथि दुव्र्यवहार गरिरहे । काटमार गर्न पनि छाडेनन् ।  

रिम्पोछे काठमाडौँ गए र ‘थिति जोगाइदिनु पर्‍यो’ भनी श्री ५ लाई गुहारे । 

खम्पाको एक समूह छेकमको झ्याङ्जुको घरमा बसेका थिए । गाउँ छाड्ने बेला ङादार नोर्बुलाई दुईवटा बन्दुक कोशेली दिएर गए । जग्गाको विषयमा विवाद हुँदा ङादारले छेइङलाई सोही बन्दुक हानेर मारेको सबैले देखेका थिए । 

गाउँलेलाई जबर्जस्ती रूख काट्न लगाउँथे । तिब्बतमा बेचेर पैसा र खाद्यान्‍न किनेर ल्याउन लगाउँथे । जङ्गल ठूलो भए पनि काठ हुने खालका रुख वनमा कम, त्यसमाथि नि खम्पाले तस्करी गर्न थालेपछि वन सखाप हुने डर सबैमा थियो । तर कसरी बिरोध गर्ने ? 

कतिपयले गाउँकै अन्न पनि किन्थे । अन्न किन्दा सफेद अन्याय गर्थे । तीन घ्वाक गहुँ भर्थे, पैसा तिर्ने बेला दुई घ्वाकको मात्र तिर्थे । त्यसैले गाउँमा कसैले धेरै अन्न लगेर थोरै पैसा दियो भने अहिलेसम्म पनि ‘खम्पाको घ्वाक’ भन्‍ने चलन छ ।

मुस्किलले बिरामी बचाएपछिको थकाइले लखतरान हुँदै ग्याल्बो घरमा पुग्यो । आँखा चिम्म गरेर सोफामा लम्पसार प¥यो । औलो टिभीको रिमोट छोएको थियो । अनयासै रिमोट थिचेर टिभी अन गर्‍यो । समाचार बजिरहेको थियो, नेपालमा भुइँचालो गएको, गाउँका सबै घर भत्किएको, कैयौँ मरेको, कैयौँ अंगभंग भएको इत्यादि । उसको थकाइ एक्कासी बिलिन भयो । नेपाल र आफ्नो जन्मथलोको बिदृश्य देखेपछि उ टोलायो । 

जुरुक्क उठ्यो । पोसाक बदल्यो । 

रातारात नेपाल उत्रियो । सबै सहर तहसनहस थिए । राहत सामग्री किन्ने स्थिति नदेखेपछि फेरि नयाँ दिल्ली हान्नियो । क्यानडा बस्दा गाउँको बारेमा समाचार अपडेट भइरहन्थ्यो । तर सम्पर्कमा गाउँका कोही थिएनन् ।

उसले गाउँका सबै घरधुरीका लागि पुग्ने जस्तापाता खरिद गर्‍यो । ती सबैलाई पुग्ने ग्याँस सिलिण्डर, ग्याँस चुल्हो, प्रत्येक घरका कम्तिमा पाँचजनालाई पुग्नेगरी ओढ्ने, ओछ्याउने, प्रत्येक घरलाई तीन महिना खान पुग्नेगरी चामल, नून, तेल, दाल, मसला, चियापत्ति, चिनी, खुर्सानी खरिद गर्‍यो ।

गाउँका प्रत्येक घरलाई केही महिना खर्च गर्न पुग्नेगरी २०, २० हजार रुपैयाँका दरले नगद मुठा बाँध्यो ।

भूकम्पपछि गएको पहिरोले गाउँ जाने बाटो क्षतिग्रस्त थियो । त्यसैले हेलिकोप्टर चार्टर गरी धमाधम गाउँमा सामान उतार्न थाल्यो । हेलिप्याडमा झरेको सामान भण्डारण गर्न स्वयंसेवकका रूपमा खटिएका युवाहरूलाई जिम्मा दियो । 

कसैससँग नचिनिने अठोट मनमा थियो । त्यसैले मास्क खोलेन । बीसौँ वर्ष क्यानडामा बसेकाले छालाको रङ क्यानडेली भन्दा फरक थिएन । गेटअप र लवज सकेसम्म क्यानडेलीभन्दा फरक हुन नदिन सचेत थियो ।

दुई दिनको चार्टरपछि सबै सामान गाउँमा उत्रियो । घर छाउनका लागि जस्तापाता, तीन महिना पुग्नेगरी खाद्यान्‍न, लत्ताकपडा र नगद वितरण गरेपछि उ कुनै सूचना चुहिन नदिई काठमाडौँ फर्कियो ।

बीसौँ वर्षको मनग्य कमाइ थियो । खम्पाको वंशलाई निरन्तरता दिने चाहना थिएन, त्यसैले बिहे गरेको थिएन । सानु छँदा सुनेको आमाको कथाले ग्याल्बो यौन सम्पर्कलाई अपराध देख्थ्यो ।

राजस्व तिर्दै राखेको धन सदुपयोग गर्ने रहर जाग्यो । सानुँ छँदा आफूले टेक्न नपाएको विद्यालय भूकम्पले भत्काएको थियो । देख्‍न नपाएको पुस्तकहरू पुरिएका थिए । आफूजस्तै खम्पाका वारिसे सन्तान पनि त्यहाँ पढ्थे । दुःखमा परेकी आफ्नी आमालाई सहारा नदिने गाउँलेका सन्तान पनि त्यहीँ पढ्थे । 

दुःखमा परेकी एकल महिलालाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ भनेर जानेका भए आमाको अबस्था त्यस्तो हुँदैनथ्यो भन्‍ने सम्झँदा आँखा पोलेर आँसु झर्‍यो । नैतिक शिक्षा पढाउने मनसुवा लिएर उसले विद्यालय बनाउने तानाबाना बुन्यो । अर्को दिन हेलिकोप्टर चढेर खम्पाको छोरो फेरि गाउँमा झर्यो । 



Author

थप समाचार