भिटेनलाई छाडा बोल्न कसले सिकायो ?
म यो ब्लगमा तपाईंहरूलाई मेरा कुरा सुनाउँछु । मेरो समाजको कुरा सुनाउँछु । म नेपालको कुरा सुनाउँछु । तर माफ गर्नुहोला, यस लेखको सुरुवात अन्तैबाट गर्दैछु । लेखक सआदत हुसैन मन्टोबाट । लेखक सआदत हुसैन मन्टोलाई मैले चिनेको धेरै भएको छैन । चानचुन दुई वर्ष मात्र भयो । त्यतिबेला म कान्तिपुर दैनिक पत्रिकामा आबध्द थिएँ । त्यहाँ कलाशैली ब्युरोमा काम गर्ने क्रममा फिल्म ‘मन्टो’बारे लेखिएको एउटा समाचार अनुवाद गर्न भन्नुभएको थियो । त्यो बेला फिल्म रिलिज भइसकेको थिएन । जे अंग्रेजीमा लेखिएको थियो, त्यो सरसर्ती नेपालीमा उतारिदिएँ । मन्टो को हुन् र उनका लेख रचना कस्ता थिए, मैले खोजिनँ ।
तर त्यतिबेला उक्त समाचारमा मैले उतारेको मन्टोको एउटा भनाइ साह्रै मन पर्यो । जुन कुनै दिन फेसबुकमा स्टाटस राख्न हुन्छ भनेर मेरो मोबाइलको नोटप्याडमा पनि सेभ गरेकी थिएँ । जसमा उनले भनेका थिए, ‘मैले कलम उठाउनु नै एउटा ठूलो घटना थियो । जसले ‘शिष्ट’ लेखकलाई पनि दुःख दियो र पाठकलाई पनि ।'
समाचार उतार्दै गर्दा भारत र पाकिस्तान विभाजनको समयमा मन्टोका कथा निकै चर्चित भएको थाहा पाएकी थिएँ । लेखेकै कारण पटकपटक अदालत धाउनुपरेको प्रसंग उतार्दै गर्दा मनमा लागेको थियो, ‘जसरी माओवादी विद्रोहको समयमा नेपालमा पक्ष-विपक्षमा बाँडिएर लेखिन्थ्यो, त्यसरी नै कुनै एकको पक्षमा रहेर मन्टोले पनि लेखे होलान्, त्यसैले अदालत पुग्नुपर्यो ।’
भारतमा बनेका राष्ट्रवादी फिल्महरूमा पाकिस्तानलाई भिलेन बनाएको देखाइन्छ । त्यस्तै मन्टोले पनि पाकिस्तान विरोधी भएर लेखे होलान्, त्यसैले उनीमाथि भारतमा फिल्म बन्न लाग्यो भन्ने सोच दिमागमा आएको थियो । त्यसैले पनि मलाई मन्टोका लेखहरूमा कुनै रुचि भएन । कस्ता थिए, कस्तो लेख्थे, किन अदालत धाए भनेर खोज्न जाँगर पनि आएन । बरू फिल्म रिलिज भएपछि ‘हेर्नुपर्ला’ भन्ने सोच थियो, किनकि त्यसमा नवाजुद्दिन सिद्दिकीको अभिनय थियो । नवाजको फ्यान भएकाले फिल्म हेर्न हुटहुटी पैदा भएको थियो, जुन मार्टिन चौतारीमा पूरा भयो ।
फिल्म हेर्न जानुअघि पनि कुनै रिसर्च गरेकी थिइनँ । म पेसाले पत्रकार । मैले नै यस्तो भन्नु शोभा दिँदैन । एक त मैले नबुझी कुनै लेखक वा सर्जकप्रति धारणा बनाउनु हुन्थेन । र म फिल्म हेर्न जानुअघि पनि कुनै ब्याकग्राउन्ड इन्फरमेसन थिएन । ‘जे पर्छ त्यही टर्छ’ भन्ने सोच हाबी थियो । जुन मेरो ठूलो गल्ती हो । अहिले भने म यसबारे ‘अवेर’ छु । त्यो गल्ती फेरि नदोहोरिओस् भनेर सोच्छु । कसैको बारेमा लेख्दै गर्दा, अध्ययन गर्ने, खोज्ने भएको छु । मार्टिन चौतारीमा फिल्म हेर्दै गर्दा, मेरो सोचाइको मन्टो र वास्तविक मन्टोबीच आकाश-जमिनको फरक पाएँ । त्यो फिल्मले मेरो सोच्ने, हेर्ने शैली फरक बनाइदिएझैँ लाग्छ । किनकि उनी देश विभाजनतिर गइरहँदा पनि समाजका कुरा उठाइरहेका थिए । अधिकारका कुरा उठाइरहेका थिए । मेरो सोचमा जस्तो उनी पक्षपाती थिएनन् । समाजमा जे देख्थे, त्यो लेख्ने मानिस रहेछन् उनी त । झन्डै दुई घण्टा मार्टिन चौतारीको हलभित्र बसेर फिल्म हेर्दै गर्दा मेरो दिमागमा भएका अनगन्ती रूढिवादी सोचमा धक्का पुगिरहेको थियो ।
अर्काकी छोरीलाई बिकिनीमा हेर्न चाहनेले आफ्नी छोरीलाई साडी र कुर्ताको सलले छोपेर राख्ने मान्छे छन् यहाँ ।
कुनै पनि रचनालाई हेर्ने तरिका, सर्जकलाई हेर्ने तरिका, समाजलाई हेर्ने तरिका, सम्बन्धहरूलाई हेर्ने तरिका, सबै सबैतिर उत्तिकै धक्का पुगेको थियो । फिल्ममा देखाइएको मन्टोका केही कथाहरू र मन्टोको जीवनले मलाई धेरै नै प्रभाव पार्यो । घर आएर मन्टोलाई खोजेँ । उनका कथाहरू जति भेटेँ, त्यति पढ्ने कोसिस गरेँ । साथीहरूलाई पनि सेयर गरें । उनको ‘शिष्ट’ शब्दवाला भनाइ मन परेर सेभ गरे पनि त्यसको अर्थ र गहिराइ बुझ्न सकेको रहेनछु भन्ने अनुभव भयो । समाजमा शिष्टताको जुन एउटा परिभाषा थियो, त्यो मभित्र पनि थियो । मेरो परिभाषाले भन्थ्यो- फिल्ममा, कथामा र गीतमा त्यस्ता शब्दहरू नलेखियोस्, नबोलिओस्, जुन म सुन्न चाहन्नँ । उनको कथाहरूले म भित्रको साहित्यमा खोजिने शिष्टताको अर्थ परिवर्तन गराइदियो ।
मन्टोले सत्य लेख्न र बोल्न प्रोत्साहन गरे । कसैको बोली व्यवहार गलत लाग्छ भने म पोलाइटली त्यसको विरोध गर्ने भएँ । यसरी विरोध गर्दा केही सम्बन्ध धरापमा पनि परे । उनी भन्थे, ‘समयसँगै साहित्य पनि परिवर्तन हुनुपर्छ । जुन चिज जस्तो छ, त्यसलाई त्यस्तै किन नदेखाउने ? म त आफ्नो कहानीलाई ऐना सोच्छु, जसमा समाजले आफूलाई देख्न सकोस् ।’ हो, मलाई पनि उनका कथा ऐना लाग्यो । उनले सात दशकअघि भारत र पाकिस्तानको समयलाई समेटेर लेखेको कथाहरूमा मैले मेरो आजको समाजलाई दुरुस्त देखेँ । भारत-पाकिस्तानको त्यो समय आजको मेरो समाजसँग ठ्याक्कै मेल खाएको भेट्छु ।
भिटेनको र्याप काण्डले झनै यो पुष्टि नै भएको छ । पोहोर सार्वजनिक भएको भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ र यस वर्ष आएको ‘पारा’ गीत पछि उनको शब्द चयनलाई लिएर जताततै बहस सुरु भयो । एकातिर उनले गीतमा प्रयोग गरेका शब्द र उनको गीतमा प्रहरीलाई जसरी देखाइयो, त्यो रुचाइएन । त्यसैको कारण उनी प्रहरी हिरासतमा समेत पुग्नुपर्यो । गीत हटाउनुपर्यो । अर्कोतिर उनलाई पक्राउ गरेर प्रहरीले गलत गरेको भन्नेहरू पनि भए । मलाई पनि व्यक्तिगत रूपमा भिटेनको शब्द चयन मन परेन । र यस्ता शब्द बोलेको पनि मन नपराउने मान्छे हुँ । तर यी शब्द बोलेकै भरमा र गीत गाएकै भरमा उनलाई समात्नु कत्ति पनि ठिक लागेन ।
मन्टोले आफ्ना रचनामा जसरी समाज देखाए, त्यस्तै भिटेनको गीतमा पनि अहिलेको समाज नै देख्छु म । सात दशकअघि मन्टोको आलोचना हुँदा मन्टोले प्रश्न गरेका थिए, ‘के त्यस्ता शब्द समाजमा बोलेको सुनिँदैन त ?' आज भिटेनको गीत सुनेर आलोचना गर्नेहरूलाई पनि म सोध्न चाहन्छु, ‘के भिटेनले गीतमा प्रयोग गरेको शब्द समाजमा सुनिँदैन ? के अहिलेका युवापुस्ताले भिटेनको गीतबाट मात्रै यस्ता शब्दहरू बोल्न सिक्छन् ?' मलाई लाग्दैन कि यसमा भिटेन मात्रै जिम्मेवार छन् । किनकि म त सानैदेखि यस्ता शब्द सुन्दै हुर्केकी हुँ । नेपालभाषा र नेपालीका यस्ता गालीवाला शब्द घरका ठूलादेखि समाजमा गन्यमान्य व्यक्तिहरू सबैको मुखबाट निस्केको सुनेको छु । मैले अहिलेसम्म त्यस्ता शब्द नसुनेको भनेको मेरो अजिको मुखबाट मात्रै हो । तर अजिमाथि नै यस्ता शब्दहरूको वर्षात् भएको पनि सुनेको छु ।
सहरमा भगवानको नाम बरु त्यति लिइन्न , जति भिटेनले गीतमा प्रयोग गरेका शब्द बोलिएको सुन्छु ।
म आफैँ पनि सानो छँदा समाजले अपाच्य भन्ने यस्ता केही शब्द बोल्ने भएकी थिएँ । सानोमा म र मेरी दिदी झगडा गर्दा एक अर्कालाई ‘कुकुर्नी, बाँदर्नी, गधिनी’ भन्थ्यौँ । नेपाल भाषाका गाली भन्न सख्त मनाही थियो, घरमा (हामी बच्चालाई मात्र) । ठूलाले बोले पनि हामी सानालाई कडाइ थियो । ‘कुकुर्नी, बाँदर्नी, गधिनी’ भन्दा कसैले केही भन्दैनथे । ७/८ वर्षको उमेरमा हुनुपर्छ, हामी झगडा गर्दै घरबाहिर आइपुगेका थियौँ । गाउँमा अर्कै समुदायकी एक आन्टीले हामी झगडा गर्दै गरेको देखेर केही शब्द बोल्नुभयो । उहाँले बोलेको शब्दको अर्थ के हुन्छ, हामीलाई थाहा थिएन । तर हामीले त्यो शब्द एक अर्कालाई भन्न थाल्यौँ । एकदिन ममीको अगाडि त्यो शब्द मेरो मुखबाट निस्कियो । त्यो सुनेर ममीले गाली गर्नुभयो । त्यसको अर्थ भन्नुभयो । त्यो सुनेर म त रन्थनिएँ । त्यो दिनदेखि आजको दिनसम्म मैले कसैलाई गाली गर्दा कुनै नराम्रो शब्द प्रयोग गरेको छैन ।
मैले ‘हजुर, तपाईं’ भनेर सम्मान गरी सम्बोधन गर्ने गरेकाहरूले हेपेर मलाई ‘तँ’ भने चाहिँ रिस उठ्छ । अनि म पनि ‘तँ’ चाहिँ भन्दिन्छु । अरू नराम्रो शब्द बोल्दिनँ । तर मेरो समाजमा धेरैले अहिले पनि त्यस्ता शब्द बोल्छन् । भिटेनको गीतमा त्यस्ता शब्दहरूको प्रयोग भएको सुन्दा पनि मलाई अचम्म लागेन । किनकि मैले हरेक दिन त्यस्ता शब्द सुन्छु । मेरो घरदेखि सहर बजारमा सुन्छु । ठूलठूला प्रतिष्ठित भनिएका मानिसहरूको मुखबाट बोलिएको सुन्छु । भिटेनको गीत र त्यसको भिडियो त नेपाली समाजको ऐना हो । म त उनको गीतमा मेरो समाज देख्छु । भिटेनले गीतमा प्रहरीलाई बदनाम गरेको आरोप छ । तर प्रश्न मनमा उब्जिन्छ कि के प्रहरीको सबै जवान, कर्तव्यनिष्ठ छन् त ? भिटेनले गीतमा देखाएजस्तो कोही छैन ? सबै इमानदार छन् ? के प्रहरी हेडक्वार्टरले प्रहरीभित्र कोही गलत छैनन्, भनेर कसम खान सक्छ ? ल, कसम नै खाए पनि पत्याउने कसले ? किनकि यहाँ प्रहरीकै मिलेमतोमा नराम्रो काम भएको भन्दै समाचार आइरहेको हुन्छ ।
म पत्रकार । आफ्नो पेसालाई आँच आउने काम गर्दिनँ भन्ने आदर्श बोकेर हिँडेको मान्छे । तर नेपालका सबै पत्रकार असल छन्, इमानदार छन् भनेर कसैले भने, म पत्याउँदिनँ । कुनै गीतमा, फिल्ममा पत्रकारलाई नराम्रो देखायो भने के मैले उजुरी हाल्न जानु, गाली गर्न जानु उनलाई ? किनकि झुटको खेती गर्ने पत्रकारको जमातमा राम्रा काम गर्ने पत्रकार पनि छन् भन्ने मलाई थाहा छ । मलाई त लाग्छ, सहरमा भगवानको नाम बरु त्यति बोलिँदैन होला, जति भिटेनले गीतमा प्रयोग गरेका शब्द बोलिएको सुन्छु । महिलालाई जुन शब्द भिटेनले प्रयोग गरेका छन्, त्यस्तो बन्न यो समाजले नै बाध्य पारिरहेको छ । पैसाले किन्न मिल्ने भएपछि महिलाहरूको शरीरलाई ‘माल’ किन नभनोस् यो समाजले ।
मलाई त मेरो समाज एकदमै ढोंगी लाग्छ । किनकि अर्काकी छोरीलाई बिकिनीमा हेर्न चाहनेले आफ्नी छोरीलाई साडी र कुर्ताको सलले छोपेर राख्ने मान्छे छन् यहाँ । यौन तृष्णा मेट्न आफ्नै छोरी, बुहारी, श्रीमती, दिदी, बहिनी, भदैनी, नातिनी, सहकर्मी मात्रै नभई आमा र हजुरआमाको शरीर निमोठ्न पछाडि नपर्ने मानिस छन्, यहीँ । कतिले त केही पैसाका लागि आफ्नै छोरी, बुहारी, श्रीमती, दिदी, बहिनी, भदैनी, नातिनी, सहकर्मी मात्रै नभई आमा र हजुरआमाको शरीर नै बेचिदिएका छन् । यति हुँदा चुँक्क नबोल्ने मानिस पनि यस्ता शब्द बोल्यो भनेर गाली गर्दै हिँड्छन् ।
केही पैसा तिरेर महिलाको शरीर किन्ने छन् यहाँ । केही पैसाका लागि शरीर बेच्नेछन् यहाँ । भिटेनले त गीतमा प्रयोग गरको शब्द, तर यो शब्द जन्माएको त यो समाजले नै हो । महिलाहरूलाई त्यो दर्जामा राखेको र त्यस्तो बन्न बाध्य पारेको त यो समाजले नै हो । भिटेनको ‘पारा’ गीतमा प्रहरीले एक्सन लिएपछि ट्वीटर युजर साक्षीले लेखिन्, ‘केटीहरूलाई अश्लील शब्द बोलेर गाली गर्ने, नराम्रोे भन्दै मेसेज गर्दा तिमीहरूको ‘पारा’ ठीक भयो । तिनै मान्छे भिटेनको पारा गीत सुनेर यस्तो उस्तो भन्दै चटक देखाइराछन् ।’
गोकुल बाँस्कोटाले भनेको ‘मु..’ उच्च आदरार्थी शब्द हो । मोदनाथ प्रश्रितले १४ वर्षकी बालिकालाई ‘र...’/ ‘बे....’ भनेको सम्मानजनक शब्द हो ।
मन्दिर नेपालका पहिचान हुन् । तर तिनै मन्दिरमा भएका आकृति नियाल्ने हो भने, त्यहाँ विभिन्न कला देखिन्छ । जसमा यौन क्रीडाका कला कुँदिएको पनि टन्नै भेटिन्छन्, जुन नेपाली समाजमा अश्लील मानिँदैन । बच्चादेखि युवा, वृद्धले त्यसलाई मज्जाले हेर्न सक्छन् । तर कसैले त्यसैबारे बोले, त्यो गलत हुन्छ यहाँ । ट्वीटर युजर सौरभ कार्कीले यस्तै कला कुँदिएका तीन टुँडालका फोटोहरूको कोलाज पोस्ट गर्दै व्यङ्ग्यको भाषामा लेखेका छन्, ‘तल जे छ त्यो कला हो । गोकुल बास्कोटाले भनेको ‘मु..’ उच्च आदरार्थी शब्द हो । मोदनाथ प्रश्रितले १४ वर्षकी बालिकालाई ‘र...’/ ‘बे...’ भनेको सम्मानजनक शब्द हो । द्वारिका चौधरीले सार्वजनिक मञ्चमा ‘र...’ जिन्दावाद भनेको राष्ट्रिय नारा हो । तर भिटेनले भनेको ‘मु...’ अश्लील हो । भिटेन मुर्दावाद ।’
ठूलाले बोले केही हुन्न, सानाले बोल्न हुन्न भन्ने नियम यो समाजमा छ । मलाई त कसैले यस्ता शब्द नबोलोस् भन्ने लाग्छ । तर गीतमा प्रयोग रोकेर मात्रै रोकिन्छ भन्नु गलत हो । किनकि गीतले नसिकाए पनि घरले सिकाउँछ, समाजले सिकाउँछ । गीतले मात्रै त्यस्ता शब्द बोल्न सिकायो भन्ने कदापि लाग्दैन मलाई ।
भोलि मैले मेरा सन्तानलाई (भए भने) उनीहरूलाई यो शब्द सिकाइनँ भने पनि यो समाजले उसलाई यी शब्द सिकाउँछ । मैले जति नै रोक्न खोजे पनि रोक्न सक्दिनँ । केवल मैले उनीहरूलाई यो किन गलत छ भनेर बुझाइदिन सक्छु । र उनीहरूले सेल्फ रियलाइजेसन गर्नुपर्छ । जबसम्म कसैको मनदेखि म यस्ता शब्दहरू बोल्दिनँ भनेर आवाज आउँदैन, त्यसलाई अरूले हतकडी लगाएर पनि रोक्न सक्छ जस्तो लाग्दैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया