बीपी-वृत्तान्त

बीपीको शोकमा अनौठो समवेदना दिएको त्यो कठोर दरबार

इकागज |
साउन ६, २०७८ बुधबार १४:११ बजे

विश्वेश्वरप्रसाद कोइराला अर्थात्, बीपी कोइराला । नेपाली राजनीति र प्रजातान्त्रिक–समाजवादी दर्शनका शिखर पुरुष । साहित्यमा बहुचर्चित लेखक । आख्यान र गैरआख्यान दुवैमा अग्रणी लेखक । बीपी कोइरालाको आज उन्नचालीसौँ स्मृति दिवस ।

नेपाली राजनीतिक फाँटमा एक ‘करिस्म्याटिक’ व्यक्तित्व कोइरालाको २०३९ साउन ६ मा काठमाडौँमा निधन भएको थियो, ६८ वर्षको उमेरमा ।


निरंकुश पञ्चायतसँग संघर्ष गर्दा आठ वर्षभन्दा बढी समय जेल र त्यसपछि प्रवासी जीवन जिउनु परेको थियो, कोइरालाले । २०३९ असारको अन्तिम साता कोइराला रोगले थिलथिलो भइसकेका थिए । उनलाई उपचार गर्न असार २७ मा बैंकक लगिएको थियो । तर, रोग निको हुन सकेन । काठमाडौँ फर्काइएको डेढ घन्टाभित्रै निधन भएको थियो, २०३९ साउन ६ मा ।

उनको निधनसँगै प्रजातन्त्रवादी आमनागरिक शोकमा पुगे । दरबार र पञ्चायती शासकले ‘राहत’को सास फेरे । कांग्रेस नेतृृत्वको अभावमा प्रजातान्त्रिक लडाइँ कमजोर हुनेछ भन्ने मूल्यांकन तिनको रह्यो ।

कोइरालाको निधनसँगै उनको निवास चाबहिलमा मानिसको भीड लाग्यो ।

कोइरालाको भोलिपल्ट मात्रै शवयात्रा सुरु भएको थियो, शवयात्रामा मानव सागर उर्लिएको थियो, बीपीको अन्तिम बिदाइ गर्न । त्यति ठूलो मानव सागर काठमाडौँबासीले त्यसअघि कहिल्यै देखेका थिएनन् । त्यो शवयात्रा चाबहिल, बत्तीसपुतली, डिल्लीबजार, रत्नपार्क, नयाँ सडक, वसन्तपुर, कमलादी, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो । घर–घरबाट अबिर–माला, फूल चढाएका थिए ।

काठमाडौँमा त्यति ठूलो जनसागर सम्झिने प्रशस्त छन् । यहाँसम्म कि कर्मचारीहरू पनि अलि नचिनिने भेषमा शवयात्रामा सामेल भएका थिए । तिनलाई बीपीप्रति श्रद्धा त थियो । तर पञ्चायती शासकले जागिर खोसिदेलान् भन्ने डर तिनमा थियो ।

शवयात्रामा ‘वीर बीपी अमर रहून्’ ध्वनि सहरमा गुन्जियो । खुला ट्रकमा चारैतिर कांग्रेसको चार–तारे झण्डा फहर्‍याउँदै पशुपति आर्यघाट लगिएको थियो । कांग्रेसका नेता÷कार्यकर्ता तातेकै अवस्थामा थिए, कतिपय हिरासतमा पुगेका थिए । कोइरालाको उपचारका निम्ति खर्च दिन सरकार चाहिरहेको थिएन । त्यसपछि नेपाल विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा चन्दा संकलन अभियान सुरु भयो । विद्यार्थीहरू उपचार माग्दै सहर डुल्न थालेका थिए । त्यसपछि चन्दा संकलनमा खटेकै विद्यार्थी नेताहरूलाई सरकारले पक्राउ अभियान तीव्र पारेको थियो । कोइरालाको मृत्यु हुनु तीन दिनअघि मात्रै प्रधानमन्त्री सूर्यबहादुर थापाले दुई लाख रुपैयाँ उपलब्ध गराउने सूचना दिए ।

नेपाली कांग्रेस प्रतिबन्धित थियो, तर शवयात्रामा कांग्रेसको झण्डा फह¥याइएको थियो । पञ्चायतकालमा कांग्रेसको झन्डा देखिनु पनि आपत्तिजनक ठानिन्थ्यो, त्यो विषय राष्ट्रिय पञ्चायतभित्रै उठ्यो । शवयात्रामा कांग्रेसको चारतारे झण्डा प्रदर्शित हुनु तिनका निम्ति आपत्तिको विषय बन्यो । राष्ट्रिय पञ्चायतमा २०३९ साउन २४ का दिन राष्ट्रिय पञ्चायतका सदस्यहरूले प्रश्न उठाए, ‘शवयात्राको सिलसिलामा पार्टीको चार तारे झण्डा कसरी फहरियो ? श्री ५ को सरकार कानमा तेल हालेर बसेको हुनाले सरकार छ कि छैन भन्ने मुलुकमा प्रश्न उठेको छ ।’ 

यद्यपि राष्ट्रिय पञ्चायतका १८ जना सदस्यले चाहिँ ‘शोक वक्तव्य’ दिए । त्यसो त कोइरालाको निधन भएकै दिन राजा वीरेन्द्रले समवेदना त दिए । तर समवेदनापत्रमा आश्चर्यजनक र अनौठा शब्द प्रयोग भयो, त्यो लामो समयसम्म टीकाटिप्पणीको विषय बन्यो । समवेदना सन्देशमा उल्लेख थियो, ‘हाम्रा देशबासी जो सुकैको निधन भए पनि हामीलाई दुःख लाग्नु स्वाभाविक हो । भूतपूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको निधनले हामीलाई चोट पु¥याएको छ ।’

समवेदनापत्रमा प्रयोग भएको भाषा यत्ति हो । अर्थात्, दरबारले प्रजातन्त्रवादी नेताप्रति समवेदना दिन पनि कञ्जुस्याइँ गर्‍यो । पूर्वप्रधानमन्त्रीको निधनमा शोक मनाउने र एक दिन बिदा दिने चलन थियो । बीपी कोइरालाको मृत्युमा बिदा दिनुपर्छ भन्ने देखेपछि त्यो नियमसमेत संशोधन भयो ।

अढाइ महिनापछि २०३९ असोज १८ मा अर्का पूर्वप्रधानमन्त्री केआई सिंहको मृत्यु भयो । उनको निधनमा चाहिँ दरबारले नौ ‘प्याराग्राफ’को लामो सन्देश दियो । त्यो शोक सन्देशमा परेको वाक्यांश थियो, ‘मानिस आउँछ र जान्छ । तर उसले गरेका असर कर्महरू बाँकी रहन्छन् ।’

बीपी जम्माजम्मी अठार महिना मात्र प्रधानमन्त्री भएका व्यक्ति हुन्, त्यो पनि एक पटक मात्रै । २०१६ जेठ १३ देखि २०१७ पुस १ सम्म । त्यति छोटो समय शासकीय कुर्सीमा रहने बीपी सबैको सम्झनामा रहे र अझै रहन्छन् पनि । बीपी स्मृतिमा बीपीका अनुयायी नेतागणको स्मरणमा पर्नैपर्छ, ‘शासकीय इतिहासमा छाप छाड्ने हो भने लामो समय होइन कि ‘सम्झनायोग्य’ काम गर्नुपर्छ ।’

कुर्सीमा को कति समय रह्यो या को कति चोटि दोहोरियो ? कुनै खास अर्थ रहन्न । जम्माजम्मी अठार महिनामात्र प्रधानमन्त्री बनेका बीपी मानिसका मनमस्तिष्कमा अटल रहनुको कारण उनका अनुयायी नेतागण पनि बुझून् । बारम्बारका कुर्सी झगडासँगै मुलुकलाई बर्बादीमा नपारून् । बीपी स्मृति दिवसमा बीपीका मन्त्र सम्झियून्, ‘ठूलो होइन असल मानिस बन्नू ।’ 

बीपीप्रति इकागज परिवारको हार्दिक श्रद्धाञ्जलि ।
 


Author

थप समाचार
x