बालबालिका

कसरी हटाउने बालबालिकामा कार्टुनको लत ?

इकागज |
असोज १, २०७८ शुक्रबार ८:७ बजे

काठमाडौँ- बालबालिकाको कार्टुन लत प्रायः अभिभावकको साझा समस्या हो । कामकाजी अभिभावकले आफ्ना छोराछोरीलाई फकाउन÷भुलाउन कार्टुन देखाउने गर्छन् । तर, त्यही कार्टुनको लतमा आफ्ना बालबालिकामा कतिबेला पर्छन् पत्तै पाउँदैनन् । 

कार्टुनको लत हटाउन सजिलो छैन । यो बालबालिकाको प्रयत्नले मात्रै सफल हुँदैन । यसमा अभिभावकको भूमिका पनि उत्तिकै हुन्छ । बालकालिकामा कार्टुनको लत लाग्नुमा बालबालिकासँगै अभिभावक पनि उत्तिकै जिम्मेवार छन् । अभिभावकले थोरै समय मात्रै आफ्ना छोराछोरीको लागि छुट्याउने हो भने उनीहरूलाई यो लतबाट बाहिर निकाल्न सकिन्छ । कार्टुनको लतबाट बालबालिकालाई बाहिर निकाल्ने केही उपाय :


उनीहरूलाई समय दिने
कतिपय अभिभावक आफू मोबाइलमा व्यस्त हुन्छन् । अनि छोराछोरीलाई यो नगर, त्यो नगर भनेर आदेश दिन्छन् । बालबालिकाले धेरैजसो कुरा आफ्नै अभिभावकबाट सिक्ने भएकाले उनीहरूले छोराछारीलाई बढीभन्दा बढी समय दिनुपर्छ । उनीहरूसँग कुराकानी गर्नुपर्छ । उनीहरूका कुरा सुन्नुपर्छ । उनीहरूको कुरा सुन्न अभिभावकले कहिल्यै झर्को मान्नु हुँदैन । 

कार्टुनबाहेक अन्य च्यानल देखाउने 
टेलिभिजन हेर्न बानी परेका बालबालिकालाई एकैचोटी टेलिभिजनबाट बाहिर लैजानुभन्दा उनीहरूलाई कार्टुनबाहेक अन्य च्यानल हेर्न प्रेरित गर्नुपर्छ । टेलिभिजनमा थुप्रै मनोरञ्जनात्मक र जानकारीमूलक कार्यक्रम पनि छन् । बिस्तारै उनीहरूलाई त्यस्ता च्यानल हेराउने बानी बसाल्नुपर्छ । त्यस्तै, बालबालिकाले टेलिभिजनमा हेर्ने कार्यक्रममा अभिभावकले निगरानी राख्नुपर्छ । कार्टुन हेर्दाका फाइदा-बेफाइदाबारे जानकारी दिनुपर्छ ।

बेला-बेलामा घुमाउन लैजाने 
घरमा टिभी हेराएर राख्नुभन्दा बालबालिकालाई बाहिरफेर घुमाउन लैजानुपर्छ । बाहिर घुमाउन लैजादा पहिलो त उनीहरूमा कार्टुनको लत हटाउन सहयोग हुन्छ । दोस्रो, बाहिरी वातावरणसँग घुलमिल हुने अवसर पनि मिल्छ । तेस्रो, आमाबाबु र छोराछोरीबीच संवाद हुन्छ । उनीहरूबीचको बन्धन बलियो हुन्छ । एकैपटक मोबाइल खोस्दा, टेलिभिजन हेर्न बन्द गरिदिँदा मात्रै समस्याको समाधान हुँदैन । 

विकल्प दिने
धेरै अभिभावक कार्टुन नहेर्नू भन्दै बालबालिकालाई गाली गर्छन् । तर, कार्टुन नहेरेर के गर्ने छनोटको सुविधा दिँदैनन् । कार्टुनको विकल्पमा के गर्ने ? के खेल्ने ? कहाँ जाने ? जस्ता कुरामा बालकालिकालाई विकल्प दिनुपर्छ । बालबालिकामा केही न केही प्रतिभा हुन्छ । कार्टुन हेर्ने समय उनीहरूभित्र भएको प्रतिभा प्रष्फुटन गर्न सहयोग गर्नुपर्छ । चित्र बनाउन मन लाग्नेलाई चित्र बनाउन उत्प्रेरित गर्ने, नाच्न-गाउन लगाउने, अतिरिक्त किताब पढ्न लगाउने आदि गर्न सकिन्छ ।

तालिका बनाइदिने 
बालबालिकालाई टेलिभिजन हेर्ने, पढ्ने, खेल्ने आदि क्रियाकलापको तालिका बनाइदिनुपर्छ । त्यसको छुट्टाछुट्टै समय तोकिदिनुपर्छ । यसो गर्नाले उनीहरू टेलिभिजन र कार्टुनमा मात्र झुण्डिएर बस्दैनन् । तालिका बनाइदिँदा उनीहरू अनुशासित हुन्छन् । कार्टुनबाहेक अरु क्रियाकलापमा उनीहरूको संलग्नता बढ्छ र बिस्तारै कार्टुनबाट लत छुट्छ । कार्टुनको लतमा परेका बालबालिकालाई एकै पटक लत छुटाउन खोज्नु हुँदैन । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन बिस्तारै कार्टुनको समय घटाउँदै लैजानुपर्छ । 


Author

थप समाचार
x