बालबालिका

सुर्खेत आउँदा टीका र मलाई भेटनुस् है !

इकागज |
चैत ८, २०७७ आइतवार ७:२७ बजे

नमस्कार !
मेरो नाम सुवास बादी हो । म १३ वर्षको भएँ  । कक्षा ६ मा पढ्छु । मेरो घर सुर्खेतको वीरेन्द्रनगर, चौखेढुङ्गामा पर्छ । हाम्रो घरमा एउटा घोडा छ । त्यसको नाम  टीका हो । 
उसको निधारमा सेतो रङको टीका छ । त्यसैले, उसको नाम हामीले टीका राखिदिएका हौँ । 

मेरो उमेरका धेरै साथीहरूले घोडा चित्रमा मात्रै देख्नु भएको होला । देखे पनि कमैले मात्र घोडा चढ्नु भएको होला । कतिलाई त घोडा देखेपछि डर पनि लाग्छ होला । तर, मलाई मेरो घोडादेखि डर लाग्दैन बरु माया लाग्छ । किनभने, यही घोडाबाट कमाएको पैसाले हाम्रो घर खर्च चल्दै आएको छ ।
 
सुर्खेत आएको बेलामा धेरैजना काँक्रेबिहार घुम्‍न आउँछन् । काँक्रेबिहारमा ठूलो बुट्टैबुट्टाले भरिएको मन्दिर छ । त्यही मन्दिरको गेटबाहिर म घोडा लिएर बस्छु । धेरैजसो मेरो बुवा बस्‍नुहुन्छ । तर, शनिबारको दिन भने तपाईंहरूले मलाई भेट्नुहुन्छ । 


शनिबार मेरो स्कुल छुट्टी हुन्छ । बुवालाई आराम दिन शनिबार उहाँको सट्टा म घोडा लिएर आउँछु । शुक्रबार पनि कहिलेकाहिँ स्कुल छुट्टी भएपछि आउने गरेको छु । म घरदेखि घोडा चढेरै काँक्रेबिहारसम्म आउँछु । मेरो घरबाट यहाँसम्म आइपुग्‍न १५ मिनेट लाग्छ ।
 
यो हाम्रो घोडा बुवाले दैलेखबाट किनेर ल्याउनु भएको हो । बुवा मादल बनाउने काम पनि गर्नुहुन्छ । मादल बनाएर धेरै कमाइ नहुने भएपछि उहाँले यो काम गर्न थाल्नु भएको हो । मेरो दुईजना दाइ र एकजना दिदी हुनुहुन्छ । उहाँहरू कोही इँटा भट्टामा काम गर्नुहुन्छ । कोही अर्काको घरमा ।
 
काँक्रेबिहार आउँदा हाम्रो टीका (घोडा) चढेर जानुहोला । हामीले यो घोडा चढेर फोटो खिचेको ५० रुपैयाँ लिन्छौँ । वरिपरि घुम्ने हो भने चाहिँ सय रुपैयाँ लाग्छ । शनिबारको दिन धेरै जना आउनुहुन्छ र टीकालाई लिएर घुम्नुहुन्छ । त्यो दिन टीकाले दुईतीन हजारसम्म कमाइ गर्छ । 

अरु दिनमा भने हजार रुपैयाँ जति हुन्छ । हामीले यो घोडा यसरी ल्याएर कमाइ गर्न थालेको चार महिना भयो । बुवाले भन्‍नुभएको पहिला यहाँ हामीजस्तै अर्को एक परिवार घोडा ल्याएर कमाइ गर्थ्यो रे । उनीहरूले घोडा ल्याउन छाडेपछि हाम्रो बुवाले ल्याउन थाल्नुभएको हो । हामी घोडालाई बिहान ९ बजे ल्याउँछौ र बेलुका ५ बजे घर लैजान्छौं । घोडा कुदाउन मलाई एकदमै रमाइलो लाग्छ । सुर्खेत आउँदा काँक्रेबिहार आएर मलाई र टीकालाई  भेटेर जानुस् है । 


 


Author

थप समाचार
x