आमचुनाव २०७९

उम्मेदवार उवाच

मैले जितेमा जनता र जनप्रतिनिधिबीच दूरी हुनेछैन

स्वतन्त्रहरू पनि मेरो उम्मेदवारीले खुसी हुनुहुन्छ

विमल आचार्य |
मंसिर १, २०७९ बिहीबार १७:४१ बजे

आज रातिदेखि ‘उम्मेदवार उवाच’ हालका लागि बन्द हुनेछ । भोट हाल्ने दिन आउन अब तीन दिन मात्र बाँकी छ । यो चार गते, पाँच बजेसम्म आगामी पाँच वर्षको शासनको फैसला मतपेटिकामा खसिसक्नेछ । यसै सिलसिलामा काठमाडौं–७ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा पुग्ने तयारी गरिरहेकी वाम–लोकतान्त्रिक गठबन्धन उम्मेदवार मानुषी यमि भट्टराई इकागज संवादमा हाजिर भएकी छन् । अहिलेको निर्वाचनमा दुई ठूला समूहका अतिरिक्त तेस्रो पक्षतिर पनि मतदाताको चासो देखिएको चर्चा छ । मानुषी तेस्रो अर्थात् युवा र स्वतन्त्रको चासो पनि आफूले समेटेको बताउँछिन् । त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिव निर्वाचित भएकी मानुषी राजनीतिशास्त्री हु्न् । उनी अध्यापन गर्छिन् । सामाजिक न्यायका मुद्दामा मुखर छिन् । उनै मानुषी पहिलो पल्ट आम निर्वाचनरूपी परीक्षा दिँदै छिन् । प्रस्तुत छ, जाँचको पूर्वसन्ध्यामा उनीसँग विमल आचार्यको कुराकानी :

घरदैलोमा हुनुहुन्छ, आज अन्तिम दिन । जितको सम्भावना कस्तो देख्नुभएको छ ? 


मैले जितको सम्भावना राम्रै देखेको छु । आमरूपमा यस क्षेत्रमा युवाहरूमा नयाँपनको खोजी भइरहेको छ । नयाँ उम्मेदवार गठबन्धनबाटै आएको छ भनेर जनमानसबाट सुनिएको छ । यी युवाहरूले आफ्नै दलमा पनि परिवर्तन ल्याउँछन्, एजेन्डामा मात्रै सीमित हुने होइनन्, काम पनि गर्छन्, हलचल ल्याउँछन् भन्ने सुनिएको छ, मतदाताहरूबाट । हामीलाई निर्वाचन अनुकूल नै छ । हामी गठबन्धनमा छौं, एकढिक्का छौँ । हाम्रो प्रमुख प्रतिद्वन्द्वी एमाले, बागी उम्मेदवार हुनुहुन्छ, निवर्तमान सांसद । उहाँहरू विभाजित भएको हुनाले पनि हामीलाई सहज छ । र, सबैभन्दा सहज मेरो योजना, अठोट र इमानदारी हो ।

जनताको विश्वास जित्ने, मन जित्ने, अनुमोदित हुने परीक्षणमा सफलतापूर्वक उत्रिन्छु ।

तपाईंको क्षेत्रका मतदाताहरूको गुनासो, समस्या के छ ?

समग्रमा खानेपानी, ढल, बाटो, खुला सार्वजनिक स्थलको अभाव, स्वच्छ वातावरणको अभाव । युवाहरूमा विशेषगरी आफ्नै देशमा रोजगारी पाउनुपर्यो भन्ने चासो छ । मेरो क्षेत्रमा बूढापाकाहरू धेरै हुनुहुन्छ । उहाँहरू घरमा एक्लै हुनुहुन्छ, सन्तान देशबाहिर छन् । उहाँहरूको स्वास्थ्य उपचार, संरक्षण आदिमा परिवार साथमा नहुने अवस्था छ । त्यसकारण बलियो अर्थतन्त्र बनाउनुपर्यो, हाम्रा बच्चाहरू यहाँ बस्ने वातावरण बनाउनुपर्यो भन्नुहुन्छ । 

तपाईं दशक पहिले त्रिविमा स्वयवियु चुनाव लड्नुभयो, जित्नु पनि भयो । आम मतदाताहरूसँग पुगेर, आम निर्वाचनमा पहिलोपटक भाग लिइरहनुभएको छ । डर वा आत्मविश्वास कस्तो छ ?

मैले सोचेभन्दा धेरै व्यक्तिहरूले मलाई चिन्नुहुने रहेछ । घरदैलोमा हिँड्दा आफ्नै परिवारसँग पुनर्मिलन भएको आभास भएको छ । घरदैलो, भेटघाट गर्दा म खुसी छु । उहाँहरू पनि मलाई आफ्नो ठानेर कुरा साट्नुहुन्छ । यो क्षेत्र म जन्मेको, हुर्केको ठाउँ हो । म सानैमा भूमिगत हुन बाध्य भएँ । आमा, बा मात्रै नभएर मेरा सारा परिवारजनसँग म ‘कटअफ’ भएको थिएँ ।

म जनता र जनप्रतिनिधिबीचको बढ्दो दूरीलाई कम गराउन लागिपर्छु ।

२०६२/६३ पछि विद्यार्थी आन्दोलनमा सरिक भएकाले म कीर्तिपुरमा बढी केन्द्रित भएकी थिएँ । मेरो जीवन चुनाव मात्रै होइन । सम्बन्ध, आत्मीयता, दीर्घकालीन सम्बन्ध विस्तार गर्ने पाटो मलाई निकै मन परेको छ । 

तपाईं गोरखाबाट चुनावमा उठ्न सक्नुहुन्थ्यो, जित्ने चान्स पनि बढी नै हुन्थ्यो होला । तर, त्यता उठेको भए बुवाले बनाएको क्षेत्र भन्ने हुन्थ्यो होला । तपाईं काठमाडौं–७ बाट उठ्नुको कारण ? 

म गोरखा नजानु मेरो स्वविचारित कुरा पनि हो । मेरो कार्यक्षेत्र नै बाग्मती प्रदेश हो । म पार्टीको बागमती प्रदेशको मुख्य सचिव हुँ । म चुनाव जित्नकै निम्ति, संसद्‍मा पुग्नकै निम्ति हुन्थ्यो भने पक्कै पनि सहज ठाउँ रोज्थेँ होला । त्यो परिवारवाद हुन्थ्यो । मेरो उम्मेदवारीलाई परिवारवाद भन्न मिल्दैन । मैले अगाडिदेखि नै आफू मतदाता रहेको क्षेत्र, आफू जन्मेको, हुर्केको क्षेत्र भनेर स्वाभाविक हिसाबले यहाँकै लागि तयारी गरिराखेको थिएँ । सल्लाह पनि लिइरहेको थिएँ । आफूलाई युवा, नयाँ पुस्ता भनिरहँदा मैले जोखिम पनि त मोल्नुपर्यो नि । मेरो लागि यो निर्वाचन, यो क्षेत्र अवसर हो र चुनौती पनि हो । आफ्नो क्षमता देखाएर जनताको विश्वास जित्ने, मन जित्ने, अनुमोदित हुने परीक्षणमा सफलतापूर्वक उत्रिन्छु भन्ने पूरा आत्मविश्वास छ ममा ।

अहिलेको माहौल हेर्दा दलभन्दा स्वतन्त्र हुनुपर्छ भन्छन् । जो निर्दलीयतातिर, स्वतन्त्रतिर आस्था राखिरहेका छन्, उनीहरूलाई के भन्नुहुन्छ ?

यो भन्दा अगाडि संविधानमा के लेख्ने/नलेख्ने भन्ने काम धेरै भए । हामी भन्दा पहिलेको नेतृत्वलाई शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने कार्यभार थियो । त्यो बेला दलहरूमा विवाद हुनु स्वाभाविक थियो होला । अहिले काममा, परिणाममा, संविधानमा उल्लेख गरिएका मौलिक हकहरू घरघर पुर्‍याउनु छ । अबको चरण भनेको हामी मिलेर काम गर्नुपर्ने चरण हो । गलतलाई गलत भन्न सक्ने नयाँ खालको राजनीतिक संस्कारयुक्त, नयाँ पुस्ताका साथीहरू एकजुट हुनुपर्ने अपिल छ । गठबन्धनमा नै फरक पार्टीका छौँ । हाम्रो ‘वेभलेन्थ’ मिलिरहेको छ । स्वतन्त्रहरू पनि मेरो उम्मेदवारीले खुसी हुनुहुन्छ । 

कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट रोक्ने कानुन बनाउनुपर्ने छ ।

एउटा महिला, युवाले उम्मेदवारी दिँदा हामी खुसी छौँ भन्नुभएको छ । अध्ययन मेरो राजनीतिशास्त्र हो, विचार गरेर छानेको विषय हो मैले । मेरो अध्ययन, मेरो रूचिको क्षेत्र, १५ वर्षदेखि यताको अभ्यासमा रहेको हुनाले त्यो ज्ञान र अनुभवको सम्मिश्रण लिएर मैले यो क्षेत्र र समग्र संसद्‍मा केही न केही परिणाम ल्याउन सक्छु भन्ने यहाँका जनताहरूको अपेक्षा छ । 

तर, युवा पुस्ता पुराना दल, तिनीहरूको गठबन्धनप्रति त्यति सकारात्मक सुनिँदैनन्, यो सब मिलेर खाने चाल हो भन्छन् नि ? 

हाम्रो राजनीतिक प्रणाली बुझ्दा दलीय व्यवस्थाकै अभ्यास छ, स्वतन्त्र उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विकास त गर्नुहोला । मिश्रित निर्वाचन प्रणालीले गठबन्धन नै माग्छ, चाहे त्यो चुनाव अगाडि होस् वा पछि । एउटा दललाई आफ्नै बलबुतामा बहुमत ल्याउन लगभग असम्भव बनाएको छ, त्यसैले गठबन्धनको आवश्यकता छ । परिवर्तन गर्न, कानुन बनाएर पारित गर्न बहुमत चाहिन्छ नै । सरकार बनाउन पनि ‘सिम्पल मेजोरिटी’ नभई सरकार बन्दैन । राजनीतिक दृष्टिकोण बुझ्ने हो भने दलको समस्या दलभित्रै रहेर समाधान गर्नुपर्ने हुन्छ । यति बुझ्दा दल, स्वतन्त्र भनेर दोधार हुँदैन । 

तपाईंले निर्वाचन जित्नुभयो भने व्यवस्थापिकामा पुग्नुभयो । र, कार्यपालिकाको पनि जिम्मेवारी लिनैपर्ने अवस्थामा कुन मन्त्रालय छान्नुहुन्छ ?

(हाँस्दै) त्यस्तो त सोचेकै छैन । पहिलो त संसद्‍मा पुगौँ भन्ने छ । म पहिलेदेखि नै शैक्षिक आन्दोलनमा लागेको हुनाले शिक्षाका मुद्दाहरूमा समर्पित छु । शिक्षासँग सम्बन्धित मन्त्रालयमा नै काम गर्न पाए हुन्थ्यो भन्ने छ । तर, यो मेरो प्रारम्भिक प्रतिक्रिया मात्र हो ।

संसद्‍मा तपाईंको प्राथमिकताका पाँच मुद्दा के–के छन् ?

बनाउनैपर्ने तर नबनेका कानुनलाई पूर्णता दिलाउनुपर्ने छ । तिनमा पर्याप्त खुला छलफल र बहस चलाउनुपर्ने छ । जस्तै, स्वार्थको द्वन्द्वलाई रोक्ने कानुन बनाउनुपर्ने छ । भ्रष्टाचार नियन्त्रण एवं उन्मूलनका लागि भएका निकाय पनि निकम्मा छन् । बलियो र स्वायत्त निकाय ‘जनलोकपाल’को अवधारणाबारे छलफल चलाउनुपर्ने छ । सार्वजनिक संस्थाहरूलाई सबल बनाउनुपर्ने छ । यसका लागि तिनलाई दलीयकरणबाट मुक्त गराउनुपर्छ । यसमा कानुन–नीति बनाउन मेरो अहँ भूमिका रहनेछ । म युवाको प्रतिनिधि पात्र भएको हुनाले हाम्रा युवाहरूलाई नेपालमै रोजगारी सिर्जना गर्ने काम कसरी गर्न सकिन्छ, म यता ध्यान दिनेछु । क्षमता, दक्षता, सीपलाई उचित मूल्य प्राप्त हुने गरी अर्थतन्त्रका विभिन्न आयाममा म सोच्नेछु ।

सार्वजनिक संस्थाहरूलाई दलीयकरणबाट मुक्त राख्ने कानुन बनाउन लाग्नेछु 

म महिला पनि भएका नाताले सामाजिक न्यायको मुद्दामा, उत्पीडित, सीमान्तीकृत जनताका विषयमा उठाउनुपर्ने आवाजमा म पहल गर्नेछु । मेरो निर्वाचन क्षेत्र ७ नं निर्वाचन क्षेत्रको समग्र विकासका लागि यहाँका स्थानीय र सबै निकायसँग समन्वय गरेर अत्यावश्यक परियोजना र बजेट भित्र्याउनका लागि पहल गर्छु । म जनता र जनप्रतिनिधिबीचको बढ्दो दूरीलाई कम गराउन लागिपर्छु । जनता जनप्रतिनिधि खोज्दै आउने प्रचलनको अन्त गर्दै म आफैं जनतामाझ जाने प्रतिबद्धता गर्छु । युवासँग सांसद, महिलासँग सांसद, जनसमुदायसँय सांसद सबैलाई सहज पहुँचमा, समान व्यवहार हुने गरी काम गर्ने मेरो प्रतिबद्धता हो । 

हरेक व्यक्तिसँग आफ्ना बुवाआमाको पहिचान त जोडिइहाल्छ । तपाईं पनि बुवाआमा जताजता त्यतैत्यतै हुनुहुन्छ । धेरै पार्टी फेरिइसक्नुभो । निर्वाचन क्षेत्रबाट मुक्त भएर जसरी नै बाबुआमाको पार्टीबाट पनि कुनै दिन तपाईं मुक्त हुन सक्नुहोला ? 

हाम्रो एजेन्डा मिलेसम्म हामी एउटै पथमा हुन्छौं । गन्तव्य एक भएसम्म हामी एकै ठाउँमा हुन्छौँ । एजेन्डा फरक हुनेबित्तिकै हामी फरक पथमा हुन्छौँ । मलाई गलत लागेमा बाआमाको पार्टी र विचार भनेर पछि लाग्दिनँ । म स्वविवेकमा निर्णय गर्न सक्छु र गर्छु ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x