आमचुनाव २०७९

काठमाडौँ उपत्यकामा माओवादी पत्तासाफ

इकागज |
मंसिर ७, २०७९ बुधवार १४:३९ बजे

काठमाडौँ- सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र काठमाडौँ उपत्यकामा पत्तासाफ भएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि उपत्यकामा माओवादी केन्द्रले उपत्यकाका १५ मध्ये ७ क्षेत्रमा उम्मेदवार उठाएको थियो । तीमध्ये पाँच क्षेत्रमा माओवादी केन्द्र पराजित भइसकेको छ । बाँकी दुई क्षेत्रमा पनि हार्ने निश्चित छ । 


काठमाडौँ–२ मा माओवादीकी ओनसरी घर्ती मगर चौथो भइन् । मगर यस क्षेत्रबाट सांसदमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमसँग ६ हजार बढी मतले पछाडि परिन् ।

उनले ९ हजार ४ सय ४९ मत ल्याउँदा गौतमले १५ हजार २ सय २९ मत ल्याइन् । मगर यसअघि दुईपल्ट समानुपातिक र एकपल्ट प्रत्यक्ष गरी ३ पटक संघीय सांसद भइसकेकी थिइन् । उनी मलुकको पहिलो महिला सभामुखसमेत हुन् । 

काठमाडौँ क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईं तेस्रो भए । बजगाईंले यस क्षेत्रमा १ हजार मत पनि कटाउन सकेनन् । यहाँबाट सांसदमा निर्वाचित भएका नेपाली कांग्रेसका सन्तोष चालिसेले १५ हजार १ सय ५८ मत ल्याउँदा बजगाईंले ५ सय १८ मत मात्रै पाए ।  

यता काठमाडौँ–७ बाट माओवादी केन्द्रबाट उठेकी मानुषी यमी भट्टराई पनि तेस्रो भइन् । उनले ६ हजार ६३ मत ल्याइन् । यो क्षेत्रबाट रास्वपाका गणेश पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याए । 

त्यस्तै, माओवादी केन्द्रबाट काठमाडौँ–९ मा उठेकी कल्पना धमला पनि भारी मतान्तरले पराजित भइन् । धमला नेकपा एमालेबाट उम्मेदवार बनेर सांसद चुनिएका कृष्णगोपाल क्षेष्ठसँग झन्डै दोब्बर मतान्तरले पराजित भएकी छिन् । उनले ६ हजार ४ सय २ मत ल्याउँदा श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याए । 

काठमाडौँ–१० मा पनि माओवादी कमजोर सावित भयो । माओवादीकी उम्मेदवार अन्जना विशंखे चौथो भइन् । उनले ५ हजार २ सय ६२ मत ल्याउँदा नवनिर्वाचित सांसद नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले १४ हजार ४ सय ५८ मत ल्याए । 

भक्तपुर–१ को अन्तिम परिणाम आइसकेको छैन । तर, माओवादीका उम्मेदवार सुनिल गोठे पराजित हुने निश्चित देखिन्छ । गोठे २ हजार ९ सय ६८ मतसहित चौथो स्थानमा छन् । यहाँ नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल १५ हजार ६ सय ५२ मतसहित पहिलो स्थानमा छन् । 

ललितपुर–३ मा पम्फा भुसालले ‘पक्का’ जित्ने अनुमान माओवादीको थियो । तर, यो निर्वाचनमा भुसाल हार्ने निश्चित छ । उनले यसअघिका दुई निर्वाचनमा विजयी प्राप्त गरिसकेकी थिइन् । 

उनी ५ हजार ९ सय ३९ मतसहित तेस्रो स्थानमा छिन् । रास्वपाकी डा. तोसिमा कार्की उनीभन्दा तेब्बर मतले अगाडि छिन् । डा. कार्कीले १५ हजार ८ सय ५१ मत ल्याएकी छन् । 


Author

थप समाचार
x