आमचुनाव २०७९

आमचुनाव २०७९

प्रदेशसभामा राप्रपाको ‘कमब्याक’

बाबुराम भण्डारी |
मंसिर १०, २०७९ शनिबार ९:१५ बजे

विराटनगर- प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकालमा समानुपातिकबाट एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच वर्षपछि आफ्नो हैसियत बढाउँदै प्रत्यक्षतर्फ नै दुई सिट जितेको छ । मतगणना जारी रहँदा राप्रपाले प्रदेश १ मा समानुपातिकतर्फ पनि तेस्रो स्थान बनाएको छ ।

नेकपा एमालेसँग भएको तालमेलले राप्रपालाई प्रत्यक्षतर्फ फाइदा पुगेको हो । प्रत्यक्षतर्फ राप्रपाले झापामा दुई सिट जितेको हो । झापाको प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट सविना बजगाँईले एकीकृत समाजवादीका श्यामविर लिम्बु र झापा ४ (२) बाट भक्तिप्रसाद सिटौलाले नेपाली कांग्रेसका एकराज उप्रेतीलाई पराजित गरेका हुन् ।


२०७४ को आम निर्वाचनमा प्रदेश १ बाट समानुपातिकतर्फ ५७ हजार ३४२ मत राप्रपाले त्यसवापत एक सिट पाएको थियो । यस पटक राप्रपाले प्रदेश १ मा ९४ हजार मत कटाइसकेको छ । मतगणना जारी रहेका कारण समानुपातिकतर्फको मत अझै बढ्ने भएकोले राप्रपाले यसपटक समानुपातिकबाट कम्तिमा तीन सिट प्राप्त गर्ने अनुमान गरिएको छ । यसको परिणाम प्रदेशसभामा राप्रपाले कुल ५ सिटसहित बलियो शक्ति आर्जन गर्ने निश्चित भएको हो ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट प्रत्यक्ष जितेर ५६ जना प्रदेश सांसद आउने छन् । समानुपातिकबाट थप ३७ जना सांसद निर्वाचित हुनेछन् । राप्रपाले अहिले समानुपातिकतर्फ बढाएको मत विगतमा नेपाली कांग्रेस र नेकपा एमालेलगायत प्रमुख दलमै मतदान गरेका मतदाताहरूको हो । 

राप्रपाप्रति बढेको मतसंख्याले प्रदेश १ को सरकार निर्माणमा समेत राप्रपा निर्णायक बन्नसक्ने देखाएको छ । प्रदेशसभातर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ सिट सुरक्षित गर्दै सवैभन्दा ठुलो पार्टी बन्ने सम्भावना देखिएको छ ।

त्यस्तै नेपाली कांग्रेसले १७, नेकपा माओवादी केन्द्रले ९ सिट, नेकपा (एकीकृत समाजवादी) ले ३ सिट जित्ने आँकलन छ । केहि क्षेत्रको मतगणना जारी रहेकोले यो संख्यामा केहि तलमाथि पनि हुनसक्ने छ । 
समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २ लाख ९७ हजार १२४, नेपाली कांग्रेसले २ लाख ६३ हजार ६८४, माओवादी केन्द्रले ८४ हजार ११७, जसपाले ३८ हजार २४० र नेकपा (एकीकृत समाजवादी) ले २३४५२ मत पाइसकेका छन् । उनीहरू सबैले प्राप्त अन्तिम परिणाम अनुसार प्रदेश १ को प्रदेशसभामा समानुपातिकतर्फ सिटको हिस्सेदार हुनेछन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x