फिचर

एउटै सहारा म्युजिक भिडियोको !

सामीप्यराज तिमल्सेना |
कात्तिक ६, २०७७ बिहिवार १२:५५ बजे

राम्रो पैसा, एक दिनमै सकिने काम । फिल्मका कलाकारलाई म्युजिक भिडियो खेल्न प्रेरित गर्ने  मुख्य तत्व यिनै हुन् । यो प्रेरणाको लहर पछिल्लो समय म्युजिक भिडियो नखेली बसेका राजेश हमाल र  आर्यन सिग्देलमा पनि देखिएको छ । 

फिल्म नखेली बसेका राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिएका थिएनन् । महानायकको विवादपछि चर्चाको केन्द्रमा फर्किएका हमाल केही विज्ञापन र ‘जातको प्रश्न’ कार्यक्रममार्फत् टेलिभिजनमा देखिएका थिए । तर, गत हप्ता मात्र उनले तीनवटा म्युजिक भिडियोको सुटिङ सकाएका छन् । उनले खेलेका तीन गीतमध्ये एउटा गीत प्रकाश सपुतको हो । प्रकाश सपुत र हमालले अघिल्लो वर्ष सांगीतिक कार्यक्रम ‘सप्तरंग’मा सँगै सात प्रदेशको यात्रा गरेका थिए ।


मंसिरमा ‘चचहुईं’को रिलिजपछि आर्यन सिग्देल कुना पसे जस्तै थिए । न नयाँ रिलिज न नयाँ फिल्मको घोषणा । तर, दसैंको मुखमा आर्यन सिग्देलले पनि दुइटा म्युजिक भिडियोको सुटिङ सकाएको जानकारी गराएका छन् । मिलन चाम्सले निर्देशन गरेको गीत भर्खरै सार्वजनिक भएको छ जहाँ आर्यनले आँचल शर्मा र रेबिका गुरुङसँग स्क्रिन सेयर गरेका छन् । 

पल शाह र पुष्प खड्का म्युजिक भिडियामा सबैभन्दा अनुभवी खेलाडी हुन् । म्युजिक भिडियोकै पृष्ठभूमिबाट फिल्ममा हिरो भएका उनीहरू स्टारकास्ट चाहिने म्युजिक भिडियोमा पहिलो रोजाइमा पर्ने गरेका छन् । अझ यसमा पनि पल शाहविनाका म्युजिक भिडियो देख्न मुस्किल पर्छ । पल र पुष्पको म्युजिक भिडियोको एकाधिकारलाई दयाहाङ राई र बिपिन कार्कीले यदाकदा क्रमभंग गर्ने गरेका छन् । फिल्ममा झैं म्युजिक भिडियोमा पनि दया र बिपिन यथार्थपरक चरित्र र अभिनयकासाथ देखिन्छन् । 

चकलेटी हिरोमध्ये प्रदीप खड्काले पनि यही साल आफूलाई म्युजिक भिडियोमा बिटुल्याएका थिए । लकडाउनकै समयमा खिचिएका दुई राष्ट्रिय गीतमा प्रदीपले अभिनय गरेका थिए । तर, प्रदीपले पछिल्लो समय अभिनय गरेका फिल्म झैं म्युजिक भिडियोमा पनि उनको काम कसैले ‘नोटिस’ गरेनन् । 

फिल्ममा सधैं हिरोको ‘साइड किक’को रुपमा देखिने सलोन बस्नेतले म्युजिक भिडियोमा भने प्रमोसन पाएका छन् । केही म्युजिक भिडियोमा सलोन एक्लै हिरोइनसँग रोमान्स गर्दै गरेको देखिएका छन् । म्युजिक भिडियोमा बाक्लै देखिनेमा नाजिर हुसेन पनि पर्छन् । लकडाउनको समयमा नाजिर पनि बग्रेल्ती म्युजिक भिडियोमा देखिने गरेका छन् । 

आकाश श्रेष्ठले पनि लकडाउनकै समयमा म्युजिक भिडियोको संख्या राम्रै बनाएका छन् । धेरै जसो भिडियोमा पूजा शर्मासँग देखिएका आकाश यहाँ पनि पूजाको छायाँबाट बाहिर निस्कन सकेका छैनन् । पछिल्लो समय पूजाले खेल्ने गरेका फिल्ममा आकाश जोडी रहँदै आएका छन् । 

चकलेटी हिरोमध्ये अहिलेसम्म अनमोल केसी, सलिनमान बानियाँ, धिरज मगर र सुशील श्रेष्ठ मात्र म्युजिक भिडियोमा देखिएका छैनन् । दुवैले अहिलेसम्म आएका अफर नकार्दै आएका छन् । अनमोलले त सुरु सुरुमा विज्ञापनमा पनि अभिनय नगर्ने भन्दै आएका अफर टार्दै आएका थिए ।

तर, पछिल्लो समय उनले अफर सकार्ने मात्र हैन थुप्रै ब्रान्ड प्रवद्र्धन गर्ने जिम्मा पनि लिएका छन् । उनले म्युजिक भिडियो खेल्दा आफूलाई हेर्न चाहने दर्शकको तृष्णा सजिलै पूरा हुने भएकाले सकभर गर्न नचाहेको बताए । ‘ म मुख्यतया फिल्मको कलाकार भएकाले फिल्ममै फोकस हुन चाहान्छु । यही कारणले म्युजिक भिडियो गर्न नखोजेको हुँ,’ अनमोलले भने । 

सलिनमान बानिँया भने दुइटा फिल्म खेलेपछि बेपत्ता जस्तै छन् । ‘यात्रा’ असफल भएपछि कुना पसेका सलिन म्युजिक भिडियो निर्देशकको पहुँचभन्दा टाढा छन् । फिल्म क्षेत्रै छाड्ने मनसाय बनाइरहेका सलिनले यही कारण पनि म्युजिक भिडियो खेल्न रुचि देखाएका छैनन् । धिरजले पनि अहिलेसम्म म्युजिक भिडियो खेलेका छैनन् तर चाँडै उनी भारतीय गायक मिका सिंहको गीतमा देखिनेछन् । ‘आइएम ट्वान्टी वान’को सुटिङ गरिरहेका धिरजको यो गीत लुक्लामा सुटिङ हुने चर्चा छ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x