सिनेमा

एप्पलले एक हप्तापछि सार्यो टम क्रुजको ‘टपगन’, ‘कबड्डी ४’का लागि कि आफ्ना लागि ?

इकागज |
जेठ ६, २०७९ शुक्रवार १६:१३ बजे

काठमाडौँ - विदेशी फिल्मले नेपाली फिल्मको सातो खाने गरेका छन् । त्यसैले जब बनेको फिल्म हलमा रिलिज गर्ने कुरा हुन्छ, निर्माताहरू नेपाली क्यालेन्डर हैन विदेशी फिल्मको क्यालेन्डर हेर्छन् । अर्थात् आफूले ताकेको मितिमा विदेशी फिल्म छन् कि छैनन् । छन् भने भिड्न सक्ने स्तरका छन् के भाग्नुपर्ने स्तरका ।

तर कसै गरे पनि नेपाली फिल्मले विदेशी फिल्मबाट मुक्ति पाएका छैनन् । नेपाली फिल्मको यो नियतिमा राम्रो चल्ने अपेक्षा गरिएको ‘कबड्डी ४’ भने अपवाद बनेको छ । किनकि यो फिल्म भने विदेशी फिल्मसँगको प्रतिस्पर्धाविनै रिलिज हुन लागेको छ ।


तर ‘कबड्डी ४’ले यो मौका पाएको हो, विदेशी फिल्मकै प्रतिस्पर्धाले । हिन्दी फिल्मको वितरणबाट पछि हटेको एप्पल इन्टरटेनमेन्टले अचानक हिन्दी फिल्म वितरण जिम्मा लियो । यसका लागि उसले छानेको थियो ‘भूलभूलैया २’ जुन आजबाट रिलिज भइसकेको छ । आउँदो हप्ता एप्पलले नै वितरण गर्ने अंग्रेजी फिल्म ‘टप गन माभरिक’ रिलिज हुनेवाला थियो । आउँदो शुक्रबार नै ‘कबड्डी ४’ पनि रिलिज हुँदैछ ।

यी दुई फिल्मका कारण ‘भूलभूलैया २’लाई गाह्रो पर्ने देखेपछि वितरक एप्पलले ‘टप गन माभरिक’को रिलिज पर सारेको अनुमान गर्न सकिन्छ । किनकि वितरकले हिन्दी फिल्म हाताहाती नगद तिरेर मात्र नेपाल ल्याउँछन् भने अंग्रेजी फिल्म कमिसनमा नेपाल आउने गरेका छन् । अर्थात जति चल्यो त्यसको हिस्सा मात्र । यसरी हेर्दा एप्पलले ‘कबड्डी ४’ का लागि भन्दा पनि ‘भूलभूलैया २’ का लागि अंग्रेजी फिल्म सारेका हुन् । 

एप्पल क्युएफएक्स चेनका साझेदारहरूको वितरण कम्पनी हो जुन नेपालको सबैभन्दा ठूलो सिनेमा हल चेन मानिन्छ ।  क्युएफएक्सका एक साझेदार नकिम उद्धिनले पनि एकै हप्ता धेरै फिल्म रिलिज हुन लागेकोले ‘टप गन’ अर्को हप्ता सारेको बताए । ‘नेपाली फिल्मलाई फाइदा पुगोस् भन्ने अभिप्राय पनि हो,’ नकिमले भने ।  

एप्पलले ‘टप गन’ लाई एक हप्ता पछि सार्नुअघि क्युएफएक्स चेनका वेबसाइटमा यो फिल्ममा ‘कबड्डी ४’सँगै रिलिज हुने मितिमा अपकमिङ मुभिजको रुपमा राखेको थियो । अहिले भने यो फिल्मको प्रदर्शन मिति परिवर्तन भइसकेको छ । 

हिन्दी फिल्म वितरणबाट लगभग पाखा लागिसकेको एप्पल हिन्दी फिल्मको वितरणमा आएसँगै हिन्दी फिल्म वितरणको प्रतिस्पर्धा रोचक हुने भएको छ । अहिले भने हिन्दी फिल्मको वितरणमा गोपीकृष्ण मुभिज समूहको ए एट समूहको ‘मानोपोली’ चलिरहेको छ । यसले चासो नदिएका फिल्म मात्र अरु वितरकको भागमा पर्ने गरेका छन् ।  


Author

थप समाचार
x