सिनेमा

माग्ने बूढाको निर्देशनमा बुधबारदेखि ‘कमेडी हब’, नखोलिने टेलिभिजन खोल्ने अपेक्षा

इकागज |
जेठ १०, २०७९ मंगलबार ७:५२ बजे

काठमाडौँ​- हास्यकलाकार केदारप्रसाद घिमिरे माग्ने बूढाको  निर्देशन रहेको  हाँस्यव्यङ्ग्य  टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबारदेखि हरेक हप्ता प्रसारण हुने भएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोमा प्रसारण हुने भागका केही झलकहरु देखाउँदो सोका बारेमा जानकारी दिइएको थियो । हास्य व्यङ्ग्य कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपी वान टेलिभिजन बाट हरेक बुधबार बेलुका ८ बजे पछि आउने छ ।  कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले कार्यक्रमको सफलताको कामना गरेका थिए । 


कार्यक्रमलाई शुभकामना दिँदै मदनकृष्ण श्रेष्ठले आफू सुरुमा कलाकारितामा आउँदा गायकको रुपमा आएको तर गायन प्रतियोगितामा प्रथम हुँदै सान्त्वना पुरस्कारतिर झर्न थालेपछि आधा गीत आधा कमेडी गर्दा गर्दै कमेडीतिर ज्यादा सफलता प्राप्त गर्न थालेको स्मरण गरेका थिए ।

 ‘हिजोको दिनमा हामीले कार्यक्रम गर्दा पैसा आउँछ भन्ने आस पनि हुन्थेन । कहिलेकाहीँ कुनै आयोजकले ५ रुपैयाँ दिँदा हरिवंश र म अढाइ अढाइ रुपैयाँ बाँढ्थ्यौँ । त्यही पनि उत्पात कमाए जस्तो लाग्थ्यो । तर आज हामी कमेडी सोको प्रेसमिट मात्र पाँचतारे होटलमा गर्न थालेका छौँ । यहाँभन्दा खुसी हुने ठाउँ छैन,’ मदनकृष्णको भनाइ थियो । 

कार्यक्रममा हरिवंश आचार्य, मनोज गजुरेल, दीपकराज गिरी, जितु नेपाल आदिले शुभकामना दिएका थिए । अभिनेता जितु नेपाल मुन्द्रेले पछिल्लो समय टेलिभिजन हेर्ने बानी कम भएको भन्दै  अहिले दर्शकले टीभी नभएर टीभीले दर्शक हेर्ने परिस्थिति आएको भन्दै ठट्टा गरेका थिए ।

‘यो क्षेत्रमा लाग्ने हामी सबैका उपनाम छन् । ती उपनाम हामीलाई टेलिभिजनकै दर्शकले दिनुभएको हो । तर अहिले यस्तो समय आयो, टेलिभिजनले हामीलाई मानिसले कतिबेला खोल्लान् भनेर कुरेर बस्नु परेको छ । यस्ता कार्यक्रमले टेलिभिजनको यो पट्यार मेटाउने काम गर्छन्,’उनले भने । 

कर्यक्रममा बोल्दै निर्देशक केदार घिमिरेले फिल्मतिर व्यस्त हुँदा टेलिभिजन छुटेको जस्तो महसुस भएकाले कमेडी कार्यक्रम लिएर आउन लागेको बताएका थिए । यसै गरी कार्यक्रमका प्राविधिक निर्देशक जनकदीप पराजुलीले सोमा १२ वटा क्यामरा प्रयोग भएको र ४० जना बढी प्राविधिक खटिएर कार्यक्रम बनेकोले प्राविधिक रुपमा पनि सो उत्कृष्ट रहने दाबी गरेका थिए । 

एक दर्जनभन्दा बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको कार्यक्रममा माग्ने बूढा, राजा राजेन्द्र पोखरेल र हिमेश पन्त, सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन् । सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्यान्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिने जनाइएको छ ।


Author

थप समाचार
x