सिनेमा

वैदेशिक रोजगार र यौन मनोविज्ञानको रमरमीमा ‘चिसो मान्छे’ ट्रेलर

इकागज |
जेठ १०, २०७९ मगलवार ८:६ बजे

नायिका स्वस्तिमा खड्काले फेरि एकपटक मेकओभर गरेको चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा स्वस्तिमालाई सुदरपश्चिमेली पहिरन र लवजमा देख्न सकिन्छ । स्वस्तिमाले यसअघि ‘बुलबुल’ टेम्पो चालकको भूमिका निर्वाह गरेकी थिइन् ।

असारको ३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा उनकै लेखन तथा छायांकन पनि छ । शर्मिला पाण्डेको लगानीमा तयार भएको यो चलचित्रलाई डी.एस डिजिटल प्रा.लिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन वीसी, पुष्पा अवस्ती, श्रृष्टि आचार्य, विकास खनाल लगायतका कलाकारको अभिनय छ ।


दीर्घ खड्काको सम्पादन रहेको चलचित्रमा सुभाष भुषालको संगीत छ । यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह पनि पुगेका थिए । उनले, चलचित्रको ट्रेलर उत्कृष्ट लागेको भन्दै प्रशंसा गरे । यस्तै, उनले आफू नायक अर्पण थापा र नायिका स्वस्तिमा खड्काको फ्यान भएको समेत बताए ।

नायिका स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ आफ्नो करिअरमा आजसम्म काम गरेका चलचित्रमध्ये एउटा उत्कृष्ट अनुभव बोकेको चलचित्र रहेको बताइन् । निर्देशक दीपेन्द्र के खनालले चलचित्रले चिसो मान्छेहरुको कथा भन्ने बताए । निर्मात्री शर्मिला पाण्डेले ‘आमा’पछि दर्शकको मन छुने कथामा अर्को चलचित्र बनाएको बताइन् ।
यो चलचित्रमा नायिका स्वस्तिमा खड्का बाजुरेली महिलाको भूमिकामा देखिएकी छिन् ।

चलचित्रमा उनको संवाद पनि बाजुराकै छ । यसका लागि उनले भाषाको प्रशिक्षण समेत लिएकी थिइन् । काठमाडौंदेखि बाजुरासम्म बाकसमा आफ्नो श्रीमान्को लास राखेर यात्रा गरिरहेकी एक महिला र उनीसँग जोडिएका २ पात्रको वरिपरि यो चलचित्र घुमेको छ । 


 


Author

थप समाचार
x