सिनेमा

‘कबड्डी ४’ क्रेज : रिलिज अगावै निर्माताको हातमा ५ करोड, बक्स अफिसमा ‘छक्का पञ्जा’ को रेकर्डमा आँखा

सामीप्यराज तिमल्सेना |
जेठ १२, २०७९ बिहिवार १२:४९ बजे

काठमाडौँ - महामारीले पर्यटनपछि सबैभन्दा धेरै प्रभावित रहेको चलचित्र क्षेत्र महामारीपछि सोही गतिमा ‘बाउन्स ब्याक’ गर्दैछ । महामारीले नेपाली सिनेमाघरमा दीर्घकालीन संकट निम्तने अनुमान चलिरहँदा दक्षिण भारतीय चलचित्रले अपत्यारिलो व्यापार गरेर यो अनुमान गलत सावित गरेका छन् ।

महामारीपछि रिलिज भएका ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’ले मध्यरातमा पनि लोभलाग्दो व्यापार गरेपछि चलचित्र घरले राहतको सास फेरेका छन् । दर्शक हलमा बोलाउने लयमा अब ‘कबड्डी ४’ पनि सामेल भएको छ । भोलि शुक्रबारबाट यो फिल्मले प्रदर्शन थाल्दैछ तर सोमबारै सुरु भएको बुकिङले यो फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गर्ने अनुमान सघन भएको छ ।


देशभरका एक सय ९० हलमा एकसाथ रिलिज हुन लागेको फिल्मको देशभरि नै बुकिङ उच्च छ । तर ‘कबड्डी ४’ क्रेज बक्स अफिसमा आउनुअघि नै भित्रभित्रै चलिरहेको थियो । निर्माणको घोषणासँगै यो फिल्मले बक्स अफिसबाहिरबाटै आफ्नो लगानी उठाएर मुनाफा आर्जन गरिसकेको स्रोत बताउँछ । डिजिटल अधिकारको बिक्री, ब्रान्डिङ तथा डायस्पोरामा फिल्म बेचेवापत निर्माताले ५ करोड हाराहारी कमाइ गरिसकेको स्रोतले इकागजलाई जानकारी गराएको छ । 

स्रोतका अनुसार फिल्मले गाडी कम्पनी टाटा, वेभरेज पार्टनर रोयल स्टाग र गोल्डस्टार जस्ता ब्रान्डबाट १ करोड हाराहारी रकम पाएको छ ।  इकागजलाई प्राप्त सूचनाअनुसार फिल्मले टाटाबाट मात्र ४५ लाख रकम पाएको छ भने रोयल स्टागले २५ लाख रकम ब्रान्ड प्रदर्शन गरेवापत् दिएको छ । यसै गरी, गोल्डस्टार, फोन पे जस्ता ब्रान्डले पनि २५ लाख हाराहारीमा रकम दिएको स्रोत बताउँछ । 

यो कुराको पुष्टि हुन्छ निर्माण टिमले ब्रान्डलाई दिएको महत्वले । टिजर सार्वजनिक हुँदा त फिल्मको टिजर हैन ब्रान्डको प्रमोसनका लागि टिजर बनाएको टिप्पणी खेपेको थियो फिल्मले । ट्रेलरको भन्दा लामो लम्बाइ भएको टिजरमा टाटाको गाडी रोयल स्टाग, फोन पे आदि राम्रै गरी फोकस भएका छन् । डिजिटल राइट्स सुषमा प्रडक्सनलाई बेचेको निर्माण टिमले भारतमा पनि प्रदर्शनको प्रदर्शन अधिकार उही कम्पनीलाई दिएर खुद १ करोड ३० लाख बुझेको चर्चा छ ।

यसै गरी फिल्मले डायस्पोरा बजारबाट पनि आकर्षक कमाइ गरेको छ । यो फिल्म साइप्रसदेखि युरोप ३० देशमा बिक्री भइसकेको छ भने निर्माण टिमले अष्ट्रेलिया र जापानबाट कीर्तिमानी रकम पाएको छ । अष्ट्रेलियाभर यो फिल्म ३७ लाखमा बिक्री भएको थियो भने अपेक्षाकृत ५–७ लाखको बजार मानिने जापानबाट यो फिल्मले १५ लाख प्राप्त गरेको छ । ‘ डायस्पोराबाट मात्र यो फिल्मले २ करोड हाराहारी कमाइ गरेको छ । यो सबै रकम जोड्दा सालाखाला ५ करोड हुन आउँछ’ स्रोतको भनाइ छ । 
‘छक्का पञ्जा’को रेकर्डमा आँखा
अहिलेसम्म नेपालको बक्स अफिसबाट सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’को नाममा छ । यो नामका तीन सिरिजले १६ करोड हाराहारी ग्रस गरेको निर्माताको दाबी रहने गरेको छ । यो सिरिज प्रदर्शनपछि मल्टिप्लेक्स शैलीका धेरै फिल्म थपिएका छन् भने यहाँ टिकटदर पनि पहिलेको भन्दो बढेको छ । यस हिसाबले बिहीबारसम्मको बुकिङको चाप हेर्दा फिल्मले सुरुका तीन दिन डेढ करोडका दरले व्यापार गर्ने र दीर्घकालसम्म ‘छक्का पञ्जा’को रेकर्ड ब्रेक गर्ने वितरकको अनुमान छ । 

यो फिल्मले देशको ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स सिनेमा’मा ८७ सो पाएको छ जुन ‘केजीएफ २’ले पाएको भन्दा पनि धेरै हो । बिहीबार यो समाचार तयार पार्दासम्म मोफसलका केही सोबाहेक बाँकी सबै सो ‘फिलिङ फास्ट’ मोडमा छन् । यसले फिल्मले पहिलो दिन नै आक्रामक व्यापार गर्ने अनुमान गर्न सकिन्छ । यही टिमले निर्माण गरेको ‘पुरानो ढुंगा’ले झैं दर्शक निराश नबनाउने हो भने यो लहर हप्तादिनसम्म चल्दा फिल्मले पहिलो हप्ता नै १० करोड व्यापार गर्ने र बाँकी दिनमा ‘छक्का पञ्जा’को रेकर्डलाई उछिन्ने अनुमान गर्न सकिन्छ ।

यो सम्भावना किन पनि छ भने यसको अघिल्लो शृंखलाले नै १३ करोड हाराहारी व्यापार गरेको निर्माताको दाबी थियो । हलसंख्या थपिएको र टिकटदर महंगिएको अवस्थामा यो फिल्मलाई नयाँ आँकडा खडा गर्न कुनै गाह्रो छैन । चलचित्रका वितरक पनि फिल्मले तीन दिनमा ६ करोडको व्यापार गर्ने कुरामा ढुक्छ छन् । उपत्यकामा यो फिल्म वितरण गरिरहेका प्रचण्डमान श्रेष्ठले भने , ‘बुकिङको रेसियो हेर्दा तीन दिनमा दिनको २ करोडको हिसाबले फिल्मले ६ करोडको व्यापार गर्छ भन्ने हाम्रो अनुमान छ । बाँकीका दिनमा कति व्यापार गर्छ त्यो चाहिँ फिल्मको माउथ पब्लिसिटीमा भर पर्छ ।’

विदेशी फिल्म जति धेरै चलेको हल्ला चले पनि पछिल्लो समय रिलिज भएका कुनै पनि विदेशी फिल्मले १५ करोडको आँकडा पार गरेका छैनन् । पछिल्लो समय सबैभन्दा धेरै चलेको ‘केजीएफ २’ १४ करोड हाराहारी व्यापार गरेको चर्चा छ भने ‘आरआरआर’ले ११ करोड कमाएको स्रोत बताउँछ । यसैगरी अल्लु अर्जुनको ‘पुष्पा’ले ९ करोड हाराहारी ग्रस गरेको वितरकको तथ्यांक छ । 

तेस्रो महामारी झेलेर खुलेका हलले नेपाली फिल्मले अपेक्षित दर्शक जुटाउन सकिइरहेका थिएनन् । बीचमा रिलिज भएका केही फिल्मले कन्ट्रोभर्सीको सहारामा केही दिन व्यापार गरे पनि लामो समयसम्म दर्शक टिकाउन सकेका थिएनन् । यीमध्ये केहीलाई सरकारी विदा र चाडपर्वको पनि फाइदा थियो । तर ‘कबड्डी ४’ले विनाविदा नै रिलिजका लागि आँट गरेको थियो र त्यसका बावजुद पनि दर्शकको चापले फिल्मको हाइप बनाउन सकियो भने एउटै विदामा झिना झपटी गर्न पर्दैन भन्ने सन्देश पनि दिएको छ । यो फिल्मले राम्रो व्यापार गर्दा निगरमुन्टी लगाएको समग्र फिल्म क्षेत्रले नै आत्मविश्वासको अक्सिजन प्राप्त गर्नेमा पनि शंका रहन्न ।  
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x