सिनेमा

के ‘कर छुट’ नीतिको फाइदा उठाउने लोभमा हुँदैछन् लन्डनमा सुटिङ ?

सामीप्यराज तिमल्सेना |
जेठ २९, २०७९ आइतवार ९:५८ बजे

एबी इन्टरनेसनलले महामारीअघि नै निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पालो कुरेर बसेको छ । बारम्बार रोकिएर बल्ल बल्ल सुटिङ सम्पन्‍न भएको फिल्म कहिले प्रदर्शन हुन्छ टुंगो छैन । तर एबी इन्टरनेसनलले ‘सम्हालिन्छ कहिले मन’ रिलिज नगर्दै थप दुई फिल्मको लन्डनमा सुटिङ गर्ने घोषणा गरेको छ ।

एबीले घोषणा गरेमध्ये ‘हनी बनी’को सुटिङ लन्डनमा भइरहेको छ भने यो फिल्मको सुटिङ सकिएलगत्तै यही कम्पनीले ‘लन्डन टु पेरिस’ शीर्षकमा फिल्म बनाउने घोषणा गरेको छ । यसका लागि कलाकार फाइनल गरेर निर्माण टिमले धमाधम कार्यशाला गरिरहेको छ । 


नेपालमा ९५ प्रतिशत फिल्मले हल रिलिजबाट पैसा उठाउँदैनन् । अझ लन्डनमै सुटिङ गरेका फिल्मको त एक चौथाइ रकम पनि नउठेको वितरकहरू बताउँछन् । जस्तो कि यही एबी इन्टरनेसनलले बनाएको फिल्म ‘पासवर्ड’ले सन्‍नी लियोनीका लागि मात्र डेढ करोड रकम खर्च गरेको चर्चा थियो ।

नृत्यका लागि मात्र सन्‍नीले १ करोड रकम लिएकी थिइन् भने फिल्म रिलिजको समयमा पनि सन्‍नी आफ्नो टिमसहित नेपाल आएकी थिइन् । तर यो फिल्म बक्स अफिसमा दुई दिन पनि टिक्न सकेको थिएन । तर यसका मुख्य अभिनेता विक्रम जोशीले उही गति प्राप्त ‘हेल्लो जिन्दगी’ बनाएर, उसैगरि डुबेर पनि  नयाँ फिल्म बनाउने तयारी गरिरहेको समाचार छ । सिमोस सुनुवारले निर्देशन गर्ने गरी नयाँ फिल्मको काम भइरहेको जनाइएको छ ।

यसभन्दा अघि पनि उनले मिलन चाम्सलाई निर्देशक लिएर ‘ह्याप्पी डेज’ बनाएका थिए । दयाहाङ राईसमेतले अभिनय गरेको यो फिल्मको बक्स अफिस रिपोर्टले कसैलाई पनि खुसी बनाएको थिएन । यसरी नेपालको बक्स अफिसबाट सुको पैसा फिर्ता नआउँदा पनि फिल्म बनाइरहने लन्डनवासी निर्माताको हिम्मतले आशंका जन्माएको छ । 

लन्डनमा सुटिङ भएका फिल्मका भुक्तभोगी कलाकार तथा प्राविधिकका अनुसार यसरी लन्डनमा सुटिङ हुने फिल्म हलमा चलाएरभन्दा पनि लन्डनमा सुटिङ गरेर मात्र पैसा कमाउने उद्देश्यले बनाइने गरेका छन् । यसका लागि निर्माताले लन्डनको ‘कर छुट’ नीतिको फाइदा उठाएका हुन् । 

बेलायत सरकारले देशको पर्यटन प्रवद्र्धनसहित अन्य फाइदाको लक्ष्य लिएर  ब्रिटिश फिल्म कमिसनमार्फत सन् २००७ देखि बेलायतमा सुटिङ हुने फिल्मलाई कर छुटको व्यवस्था गरेको छ । लन्डनमा दर्ता भएका फिल्म कम्पनीमार्फत लन्डनमा नै सुटिङ गरेर १० प्रतिशतभन्दा बढी रकम खर्च गरेपछि यस्ता फिल्म कर छुटका लागि योग्य हुन्छन् ।

योबाहेक सुटिङ गरेका फिल्म हलमा वा टेलिभिजनमा प्रदर्शन गर्नुपर्ने र बेलायतको कल्चर टेस्ट पार गर्नुपर्नेलगायतका प्रावधान पूरा गर्ने हो भने कुल खर्च गरेको रकमको २५ प्रतिशत रकम कर छुटको रुपमा पाउँछन् ।

बेलायतमा सुटिङ गरिएका फिल्मले बेलायतमा महंगो रकम खर्चेर सुटिङ गरेको बिल बनाइ यही २५ प्रतिशत लिएर नेपाली भाषाका फिल्म बनाइरहेको धेरैको आशंका छ । यसका लागि बेलायतमा फिल्म निर्माण कम्पनी दर्ता गरेका नेपाली निर्माताले कलाकार र प्राविधिकलाई महंगो रकममा सम्झौता गर्न लगाउने तर दिने बेलामा भने त्यसको एक चौथाइ मात्र पारिश्रमिक दिने गरेको भुक्तभोगी बताउँछन् । बेलायतमा यसरी नै सुटिङ गरेका कलाकारले आफूले २५ लाख लिएको सम्झौतापत्रमा हस्ताक्षर गरेको तर पैसा लिने बेलामा भने ५ लाख पनि नपाएको बताएका थिए ।

‘मलाई सम्झौता गर्ने बेलामा त ठूलै रकममा गराएका थिए । तर पाउने बेलामा त्यसको आधाको आधा पनि पाएको हैन । ठिकै छ लन्डन घुम्न पाइन्छ भनेर खासै इस्यु बनाइएन,’ती कलाकारले नाम नबताउने शर्तमा इकागजसँग भने । 

सर्वप्रथम बेलायतमा सुटिङ गरेको नेपाली फिल्म ‘कस्तुरी’ हो । गायक किरण प्रधानले निर्देशन गरेको यो फिल्म २०४८ सालमा प्रदर्शनमा आएको थियो । बेलायतमा सुटिङ गरेको हल्लाका बीच पनि यो फिल्म बक्स अफिसमा असफल भएको थियो । 

यसपछि बेलाबखतमा ‘ह्याप्पी डेज’, ‘लिली बिली’ ‘कृ’ (एउटा गीत) ‘इन्टुमिन्टु लन्डनमा’, ‘हेल्लो जिन्दगी’ जस्ता आधा दर्जन बढी फिल्म सुटिङ भएका छन् । यिनमा ‘लिली बिली’ र ‘इन्टु मिन्टु लन्डन’माले औसत व्यापार गरेका भए पनि बाँकी फिल्मले बक्स अफिसमा माया लाग्दो व्यापार गरेका छन् । लन्डनमा फिल्म सुटिङ गरेका एक निर्देशक निर्माताको उद्देश्यको बारेमा आफूलाई जानकारी नभए पनि आफूहरूले सोचे जस्तो सिनेमा बनाउन नसकेको भने स्वीकार गर्छन् ।

‘अब उहाँले पैसा कसरी उठाउनुहुन्छ त्यो हाम्रो चासोको कुरा भएन । मैले चासो पनि राख्दिन । तर सुटिङ गर्दै जाँदा जसरी हुन्छ चाँडो सुटिङ सकाउने ध्याउन्‍न र नेपालको हलबाट पैसा नउठ्दा पनि धमाधम सुटिङ गर्न तम्सनुले पर्दा पछाडि केही न केही फाइदा होला भन्‍ने चाहिँ लागेको छ,’ उनले इकागजसँग भने । 

अहिलेसम्म बेलायतमा सुटिङ भएका यी फिल्म नेपालबाहेक अरुतिर रिलिज भएको पनि देखिएको छैन । न त कुनै ओटीटीमा यी फिल्म बिक्री भएका छन् । कहिँ कतैबाट पैसा फिर्ता नआउँदा पनि फिल्म बनाइरहने निर्माताको हिम्मतले शंकाको सुविधा दिएको छ । 

लन्डनमा सुटिङ गरेर कर छुट लिनु कुनै अपराध होइन । फिल्म सुटिङ हुँदासम्म पनि नेपाली कलाकार र प्राविधिकले रोजगारी पाउँछन्, यसमा आपत्ति हुनुपर्ने कुनै कारण छैन । तर पैसा कमाउने उद्देश्यले मात्र लन्डनमा सुटिङ गर्ने हो भने यसले नेपाली फिल्मलाई फाइदा गर्दैन । बेलायतमा सुटिङ गर्नाले दर्शकको अपेक्षा त बढाएको छ तर लन्डनमा सुटिङ गरेर पनि ‘पासवर्ड’ र ‘हेलो जिन्दगी’ जस्ता कमजोर फिल्म मात्र बनाउने हो भने नेपाली कलाकार र प्राविधिक लन्डन घुमियो मात्र भनेर कतिन्जेल रमाइरहलान् ?


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x